अस्पतालमा छटपटाइरहेका बिरामीमाथि लगाइएको कर, बिजुलीको भ्याट र साना किसानको अनुदान कटौतिलाई समर्थन गर्न सकिएनः शाही

21
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले सरकारका पछिल्ला कतिपय निर्णय र कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै संसदमा प्रश्न गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैकमा बोल्दै शाहीले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा जनतालाई सास्ती दिने र नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेको आरोप लगाए ।

सम्बोधनका क्रममा उनले विद्युतीय सवारी साधनमा भएको कर छली र बजेटको सूचना चुहावट जस्ता गम्भीर प्रकरणमा सरकारले महालेखा परीक्षकको प्रतिवेदनलाई बेवास्ता गर्दै दोषीलाई चोख्याउने काम गरेको बताए ।

‘विद्युतीय सवारीमा कर छली र बजेटको सूचना चुहावट जस्ता काण्डमा महालेखाको प्रतिवेदनलाई लत्त्याउँदै चोख्याउने काम गरियो, हामीले त्यसको विरोध गर्‍यौं,’ उनले भने ।

प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर नेपालले भारतको सिमाना मिचेको भनी दिएको अभिव्यक्तिप्रति पनि शाहले कडा आलोचना गरे । राष्ट्रको सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाटै यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद भएको र त्यस्तो कुरामा आफूहरूले समर्थन जनाउन नसकेको उनको तर्क थियो ।

‘गरिब नागरिकले पाउँदै आएको स्वास्थ्य बिमा सरकारले कटौती गर्दा हामीले स्वास्थ्य बिमा उपलब्ध गराऊ भन्यौं, के हामीले गल्ती गर्‍यौं? २ करोडसम्म लगानी गर्ने ठूला किसानलाई मात्र अनुदान दिने सरकारी नीतिको विरोध गर्दै गरिब किसानलाई अनुदान दे भन्दा के हामीले गलत गर्‍यौं?,’ शाहीले भने, ‘अस्पतालमा छटपटाइरहेका बिरामीमाथि कर लगाउने र बिजुलीमा भ्याटथपेर नागरिकलाई सास्ती दिने कदमको विरोध गर्दा के हामीले अपराध गर्‍यौं?’

उनले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा बोल्दै सरकारले विना कुनै उचित नीति र विधि नागरिकलाई विस्थापित गर्न खोजेकोमा आपत्ति जनाए ।

Skip This