
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो समय सेयर बजारमा देखिएको निरन्तर गिरावट र उतारचढावबारे प्रष्टिकरण दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजार घट्नुको पछाडि लगानीकर्तामा देखिएको मनोवैज्ञानिक डर र ठूला अनियमिततामाथि सुरु भएको कानुनी प्रक्रिया मुख्य जिम्मेवार रहेको उल्लेख गरे ।
अर्थमन्त्रीका अनुसार पुँजी बजार र बिमा क्षेत्रमा देखिएका ठूला विचलनहरूलाई सरकारले गम्भीरताका साथ हेरिरहेको छ । उनले हालै मात्र १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू अगाडि बढेको र ती मुद्दाहरूको केन्द्रमा पुँजी बजार र बिमा क्षेत्र नै रहेको उल्लेख गरे ।
सम्बोधनका क्रममा उनले भने, ‘अहिले १ खर्ब हाराहारीको बिगोमा मुद्दा चलेको छ, जसमा क्यापिटल मार्केट र बिमा क्षेत्रको संलग्नता देखिएको छ । अनुसन्धान र कारबाहीको यो प्रक्रिया तीव्र पारिँदा कतै ‘म पनि कारबाहीमा पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको देखिन्छ । यही मनोवैज्ञानिक प्रभावका कारण बजारमा उतारचढाव आएको हो ।’
अर्थमन्त्रीले ठूला अनियमिततामा संलग्नहरूमाथि कानुनी डण्डा चलाउन सुरु गर्दा बजारमा केही समयका लागि अन्यौलता देखिनु स्वाभाविक भएको सङ्केत गरे ।
‘हामी एक घन्टामा स्टक मार्केट कति अंकले घट्यो वा बढ्यो भनेर हेर्दैनौं,’ उनले भने, ‘सरकारको मुख्य ध्यान बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा छ । हाम्रो प्राथमिकता बजारलाई पारदर्शी, मर्यादित र विश्वसनीय बनाउनु हो ।’
यसअघि राप्रपा सांसद खुस्बु ओलीले बजार घटेकोप्रति अर्थमन्त्रीलाई प्रश्न गरेकी थिइन् ।








प्रतिक्रिया