
एजेन्सी । विद्युतीय सवारीसाधन (ईभी) उत्पादनको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी बीवाईडीले अब फर्मुला वान मोटर रेसिङमा सहभागी हुने इच्छा देखाएको छ ।
आफ्नो घरेलु बजार चीनमा बलियो पकड जमाइसकेको यस कम्पनीले विश्वव्यापी रूपमा आफ्नो ब्रान्डको पहिचान अझ विस्तार गर्ने उद्देश्यले यो कदम चाल्न खोजेको हो । तर, एफ–वानमा पहिलो चिनियाँ टोलीको रूपमा स्थापित हुनु निकै खर्चिलो हुनुका साथै हालका टोलीहरूसँग सहकार्य गर्नु पनि चुनौतीपूर्ण देखिन्छ । त्यसैले, कम्पनीका लागि प्रायोजन मार्फत यस खेलमा प्रवेश गर्नु एउटा सहज विकल्प हुन सक्छ ।
बर्नस्टाइनका अनुसन्धान विश्लेषक इयान मूरका अनुसार, सवारी उत्पादक कम्पनीहरूका लागि एफ–वान सबैभन्दा ठूलो र प्रभावकारी मार्केटिङ प्लेटफर्म भएकाले सबै यसमा जोडिन चाहन्छन् । हाल लिबर्टी मिडियाको स्वामित्वमा रहेको एफ–वानमा फरारी, मर्सिडीज–बेन्ज, फोर्ड र जनरल मोटर्सको क्याडिलाक जस्ता युरोपेली र अमेरिकी हस्तीहरूले पहिलेदेखि नै इन्जिन वा गाडीको बडी निर्माणमा प्रतिस्पर्धा गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघका अध्यक्ष मोहम्मद बिन सुलायम र एफ–वान व्यवस्थापन दुवै चिनियाँ टोलीलाई स्वागत गर्न सकारात्मक छन् । तर, यसले व्यावसायिक र खेलकुद दुवै पक्षलाई फाइदा पुर्याएमा मात्र स्वागत हुनेछ ।
बीवाईडीले आफ्नो योजनाबारे आधिकारिक टिप्पणी नगरे पनि एफ–वानमा १२औं प्रतिस्पर्धीको रूपमा सहभागी हुनका लागि कम्पनीसँग बलियो आधार छ । चीनमा २२ करोडभन्दा बढी एफ–वान प्रशंसक हुनु र कम्पनीको सन् २०२८ सम्म युरोपमा बिक्री हुने सबै कार स्थानीय रूपमै उत्पादन गर्ने लक्ष्यले यसलाई थप बल पुर्याउँछ ।
तर, यस क्षेत्रमा अनुभव नभएको कम्पनीका लागि पूर्वाधार र विन्ड टनेल निर्माणमा करोडौं डलर खर्च गर्नु जोखिमपूर्ण हुन सक्छ । उदाहरणका लागि, एस्टन मार्टिनको अत्याधुनिक कारखाना निर्माणमा मात्रै करिब १५ देखि २० करोड पाउन्ड खर्च भएको छ तर नतिजा अझै अपेक्षित छैन ।
नयाँ टोलीका रूपमा प्रवेश गर्न एन्टी–डाइलुसन शुल्कको रूपमा मात्रै ४५ करोड डलरभन्दा बढी तिर्नुपर्ने हुन सक्छ किनकि नयाँ टोली थपिँदा हालका टोलीहरूको आम्दानीमा बाँडफाँट घट्छ । अर्को विकल्प भनेको कुनै टोलीको सेयर खरिद गर्नु हो ।
अल्पाइन एफ–वान टोलीको २४ प्रतिशत हिस्सा बिक्रीमा भए पनि यसको मुख्य मालिक रेनोले नियन्त्रण गुमाउन नचाहेका कारण सम्झौता कठिन छ । त्यस्तै, रेड बुलका पूर्व प्रमुख क्रिस्टियन हर्नर पनि खेलमा फर्कन खोजिरहेका छन् र उनले बीवाईडीसँग सम्पर्क गरिरहेको बताइएको छ ।
प्राविधिक र व्यवस्थापकीय झन्झटबाट बच्नका लागि बीवाईडीले प्रायोजनको बाटो रोज्न सक्छ । ब्ल्याकस्टोन चेम्बर्सका खेलकुद कानुनविज्ञ निक डी मार्कोका अनुसार, केवल प्रायोजकका रूपमा प्रवेश गर्दा जोखिम कम हुन्छ ।
बीवाईडीले रेड बुल वा विलियम्स जस्ता टोलीहरूलाई प्रायोजन गर्न सक्छ जहाँ वार्षिक ४ देखि ६ करोड डलरसम्म खर्च गरेर आफ्नो ब्रान्ड प्रदर्शन गर्न सकिन्छ । तर, बीवाईडी आफैंमा एक ठूलो सवारी उत्पादक भएकाले एफ–वानमा रहेका अन्य अटो कम्पनीहरूसँग स्वार्थको द्वन्द्व हुन सक्ने सम्भावना पनि रहन्छ ।
अर्कोतर्फ, प्रायोजनमा मात्र सीमित हुँदा कम्पनीले आफ्नो इन्जिनियरिङ र निर्माण क्षमता देखाउन नपाउने भएकाले बीवाईडीले कुन बाटो रोज्ला भन्ने कुरा चासोको विषय बनेको छ ।








प्रतिक्रिया