‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्ति ‘देशद्रोही’ हो: गगन थापा

133
Shares

प्रधानमन्त्रीले यो कुरा धेरै नबुझिकन बोल्नुभएको छ भने यो चिन्ताजनक छ। धेरै बुझेर बोल्नुभएको छ भने यो खतरनाक छ।

केही समयअगाडि लुम्बिनीमै, दाङमा हामीले यस्तै एउटा कार्यक्रमको आयोजना गरेका थियौँ, जहाँ हामीले फागुन २१ गतेको निर्वाचनको बारेमा समीक्षा गर्यौं। मैले त्यो कार्यक्रमको दौरानमा भनेको थिएँ, समीक्षाको बेलामा हामीसँग दुइटा विकल्प छन्ः एउटा चिन्ता गर्ने, अर्को चिन्तन गर्ने ।

चिन्ता नकारात्मक कुरा हो; यसले हामीलाई थप गलाउँछ, थप तलतिर लगेर धसाउँछ । र यसले हामीलाई बाटो देखाउँदैन । तर चिन्तनले हामीलाई अझ गहिराइमा र फराकिलो वृत्तमा लिएर जान्छ । चिन्तनले हामीलाई समस्याभन्दा पनि समाधानतर्फ लिएर जान्छ । फागुन २१ गतेको निर्वाचनको परिणाम हाम्रा निम्ति अनपेक्षित थियो, अप्रिय थियो । यस्तो किन भयो भन्ने कुराको चिन्तामा डुब्ने होइन, निरन्तर चिन्तन गरिरहौँ भन्ने एउटा आह्वान मैले गरेको थिएँ ।

२०७४ सालसम्म नेपाली कांग्रेसको बारेमा एउटा सकारात्मक धारणा रहेको पाइन्छ। हामीले संविधानसभाको निर्वाचन गरायौँ, शान्ति प्रक्रिया टुङ्ग्यायौँ, संविधान निर्माण गर्यौं, र शान्तिको स्थापनाको नेतृत्व गर्यौं ।

तर, २०७४ सालपछिको समयमा आम नागरिकहरूमा एउटा अपेक्षा रहेको देखिन्छ। ५५/५६ सालबाट द्वन्द्व बेहोरेको, ६४ साल पछाडि राजनीतिक संक्रमणको लामो यात्राले थकाएको नेपालीहरूलाई ७४ सालपछि भने एउटा आशा लागेको थियो। अब सबै कुरा सकियो, अब भने मेरा विषयहरूमा नेपालको राजनीतिले प्रवेश गर्छ होला भनेर आशा गरेको देखिन्छ। तर, हामीले यसो टाइमलाइन हेर्यौं भने ठ्याक्कै ७४ पछाडि चाहिँ हामी पूरै बिग्रिएका छौँ, हामी पूरै भत्किएका छौँ।

सत्ताको एउटा यस्तो यात्रा सुरु भयो, जसमा को कतिखेर सरकारमा पुग्ने, को कतिखेर बाहिर जाने, त्यसका नियम के हुन्, त्यसका परिधि के हुन्, त्यसका सीमा के हुन्, केही पनि कुरा कसैले पनि खुट्याउन सकेन। हामी एउटासँग सरकारमा बस्यौँ, अर्कोसँग मिलेर चुनाव लड्यौँ। एउटासँग चुनाव लड्यौँ, अर्कोसँग सरकार बनायौँ। आज सरकारमा बस्यौँ, भोलि बाहिर आयौँ। आज बाहिर आयौँ, भोलि फेरि सरकारमा आयौँ। यी सबै कुराहरूलाई नागरिकको पंक्तिले कसरी लिएको पाएँ मैले भने, हामीमाथिको ठूलो धोका भयो, हामीमाथिको ठूलो विश्वासघात भयो। एक प्रकारले यो हामीलाई हेपेको हो।

नेपाली कांग्रेस पार्टीले हामीलाई हेप्यो। हामीले यत्रो भरोसा गर्यौं। त्यसैले एउटा मौकाको प्रतीक्षामा नेपालको नागरिक र मतदाताहरू रहनुभयो। एउटा यस्तो मौका, जहाँ आफूले अत्यन्त माया गरेको पार्टीलाई, आफूले साथ दिएको पार्टीसँग ‘रिभेन्ज’ लिने, त्योसँग बदला लिने। यो निर्वाचनमा तपाईंसँग जोडिएको विषय होइन यो। यो तपाईंको सीमानाभित्र, तपाईंको भूगोलभित्र, तपाईंसँग जोडिएको विषय होइन। यो सिंगो नेपालभित्र नेपाली कांग्रेस पार्टीसँग जोडिएको विषय हो।

हाम्रो करिब २७-२८ लाख मतदाता रहनुभएकोमा ५-६ लाख मतदाता तपाईं-हामी जस्तो छौँ, जसले जस्तोसुकै अवस्थामा पनि हामी रुख चिह्नमा उभिन्छौँ। करिब-करिब १० लाख मतदातालाई हामीले जोगाउन सक्यौँ, तर १० लाख मतदातालाई विश्वास दिलाउन सकेनौँ। उहाँहरूले यो पटक नेपाली कांग्रेस पार्टीलाई त्यो ‘रिभेन्ज’- ‘मलाई बारम्बार चोट पुर्यायो, म एकपटक चोट पुर्याउँछु’- भन्ने ठाउँमा उहाँहरू उभिनुभयो। अब हाम्रो अगाडिको च्यालेन्ज के हो भने, यो जुन ‘लस’ छ, यो ‘लस’लाई ‘टेम्पोररी लस’ (अस्थायी क्षति) का रूपमा रहन दिने वा यसलाई ‘परमानेन्ट लस’ (स्थायी क्षति) मा पुग्न दिने?

अनुहारको दाग र ऐनाको भ्रम

मैले पटक-पटक भन्दै आएको छु, अनुहारमा दाग लागेको बेलामा ऐना पुछेर हुँदैन, अनुहारै पुछ्नुपर्छ। ‘तिमीहरू फोहोर देखियौ’ भनेर हामीलाई भनिसकेपछि, ‘मेरो पिताजी सफा हुनुहुन्थ्यो’ भनेर हुँदैन। हामीलाई उनीहरूले फोहोर देखेका छन् भने, त्यो फोहोर हामीले सफा गर्नुपर्छ। ‘तिमीहरूमा तेज देखिएन’ भन्दै गर्दा त्यो तेज हामीले निकाल्नुपर्नेछ।

म अहिले पनि सम्झन्छु, म त २०४६ सालको आन्दोलनको बेलामा कक्षा नौको विद्यार्थी थिएँ। त्यो उमेरमा मैले धेरै कुरा बुझेर होइन, तर परिवारको प्रभाव र आन्दोलनमा लागेका साथीहरूको संगतले म पनि लागें। ४६ सालको आन्दोलन सकिएपछि, काठमाडौँको मेरो वडामा नेपाली कांग्रेसको कार्यालय खुल्न थाल्यो।

मैले नेपाल विद्यार्थी संघमा बसेर काम गर्न चाहें। तर नेविसंघमा मान्छे धेरै भयो भनेर कतै नभएको एउटा नयाँ संगठन हाम्रा नेताहरूले बनाउनुभयो-त्यसको नाम राख्नुभयो ‘बाल कांग्रेस’। र मैले बाल कांग्रेसको सदस्यता लिएको हुँ।

त्यो झन्डा बोक्दै गर्दा मलाई यति गौरव लाग्थ्यो कि नेपाली कांग्रेसले मेरो भविष्य सुनिश्चित गर्छ भन्ने एउटा भरोसा थियो। त्यो भरोसा त्यो बेलाका हजारौँ-हजार, लाखौँ तन्नेरीहरूलाई गराएको थियो, जसको कारणले गर्दा आज हामी लाखौँ मान्छे नेपाली कांग्रेसमा छौँ। यो नेपाली कांग्रेसलाई त्यही ठाउँमा हामीले फेरि फर्काउनुपर्नेछ।

प्रतिपक्षको धर्म र सरकारमाथि कडा प्रहारः राष्ट्रियतादेखि जनजीविकासम्म

एउटा निर्वाचन हार्यौं। निर्वाचन कहिले जित्छौँ, कहिले हार्छौं । हामी त्यो पार्टीको कार्यकर्ता हौँ, जुन पार्टीका नेताहरूले नेपालमा निर्वाचन हुने व्यवस्था सुरु गराए।

निर्वाचनले कांग्रेस बनाएको होइन, कांग्रेसले नेपालमा निर्वाचन ल्याएको हो। ३० वर्ष पञ्चायतमा कांग्रेस निर्वाचन लडेन। जब–जब नेपाली कांग्रेसले निर्वाचन-केन्द्रित भएर सोच्यो, कांग्रेसले गुमाएको छ। जब–जब कांग्रेसले आफ्नो ‘ड्युटी’ (कर्तव्य) को बारेमा सोच्यो, कांग्रेस फर्केर आएको छ।

आज हाम्रो ड्युटी के हो ? आज हामी अपोजिसनमा छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व जनमत प्राप्त गरेको छ, त्यसलाई हामी सम्मान गर्छौं। पाँच वर्षका निम्ति नेपालमा सरकार चलाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ। तर लोकतन्त्रमा पाँच वर्षका निम्ति शासन गर्न पाउने जिम्मेवारी जति ठूलो हो, त्यो शासन गर्नेमाथि निगरानी राख्ने जिम्मेवारी पनि त्यति नै ठूलो हो। शासन गर्नेमाथि निगरानी गर्ने शक्ति कमजोर भयो भने लोकतन्त्र चल्दैन।

संसदको नियमावली र शक्तिको चरम दुरुपयोग

हिँजो संसदमा संसदको इतिहासमा एउटा कालो दिन रह्यो, जहाँ जसरी जबर्जस्ती सत्ता पक्षले पेलेर संसदको नियमावली पास गरायो। त्यो नियमावलीमा के भनिएको छ ?

संविधानमा जे लेखिएको भए पनि, कानुनमा जे लेखिएको भए पनि, यो संसदभित्र आउने व्यक्तिसँग नेपालमा कोहीसँग पनि नभएको विशेष अधिकार हुन्छ है । र, त्यो विशेष अधिकार के हो भन्ने कुराको व्याख्या गर्ने अन्तिम व्याख्याता चाहिँ सभामुख हुनुहुन्छ है भनेर अमुक व्यक्तिका लागि, अमुक पात्रका लागि हिजो संसदको शक्तिको चरम दुरुपयोग भयो। नेपाली कांग्रेस कडिरह्यो, प्रतिरोध गर्यो, विरोध गर्यो, तर जबर्जस्ती पारित गरियो। यो विषय अब सम्मानित अदालतको विषय बन्छ, बन्नुपर्छ।

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमानमाथि प्रहार र देशद्रोही प्रवृत्ति

हिजो सम्मानित प्रधानमन्त्रीले ‘हामीले पनि भारतको सिमाना मिचेका रहेछौँ, मैले पहिलो पटक थाहा पाएँ’ भनेर बोल्नुभयो। यो विषय निन्दनीय छ, घोर आपत्तिजनक छ ।

नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा विरोध गर्छ। प्रधानमन्त्रीको अभिव्यक्तिले छिमेकीसँग कूटनीतिक माध्यमबाट हल गर्न सकिने सम्भावनालाई क्षीण बनाएको छ। प्रधानमन्त्रीजीले भन्न खोज्नुभएको हो कि आजसम्म नेपालले जुन अडान राख्यो, त्यो अडान राख्दै गर्दा हामीसँग तथ्य थिएन, प्रमाण थिएन ? सुशील कोइराला प्रधानमन्त्री हुनुभएको बेलामा हामीले तथ्य र प्रमाणका आधारमा नेपाल र भारत दुवैलाई नोट पठाएको होइन ?

हिँजो प्रधानमन्त्री बालेनले नेपालले पनि सिमाना मिचेको छ भनेर राष्ट्रिय सभाका सांसदहरूले टेबल ठोक्दै गर्दा, मलाई त्यो बेलाको नेपाल कम्युनिष्ट पार्टीको सांसदहरूको झलझल्ती याद आयो। कहिलेकाहीँ संख्याले उन्माद चढ्छ। सरकार बरालिन्छ। सरकार आफ्नो जिम्मेवारी बिर्सन्छ। संख्याको अहंकार हुन्छ। त्यही बेलामा अपोजिसनको ड्युटी हो।

प्रधानमन्त्रीले यो कुरा धेरै नबुझिकन बोल्नुभएको छ भने यो चिन्ताजनक छ। धेरै बुझेर बोल्नुभएको छ भने यो खतरनाक छ। दुबै अवस्थामा नेपाली कांग्रेसले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। प्रधानमन्त्रीजीले नेपाल र भारतको सीमानाको बारेमा सामान्य राजनीतिक सुझबुझ पनि राख्नुहुन्न रहेछ भन्ने कुराको प्रमाण हिँजो आफैंले दिनुभएको छ। सीमाना अतिक्रमणको विषय र क्रस बोर्डर अकुपेसनको विषय आधारभूत रूपमा तुलना गर्नै नमिल्ने विषय हुन् भन्ने कुराको सामान्य राजनीतिक चेत पनि प्रधानमन्त्रीसँग रहेनछ भन्ने कुरा हिँजो देश र दुनियाँले थाहा पायो।

हिँजै सम्मानित प्रधानमन्त्रीले के भन्नुभएको छ ? हामीले यो विषयमा इंग्ल्याण्डसँग पनि कुरा गरिरहेका छौँ। यो झन् आपत्तिजनक छ। यो प्रवृत्ति देशद्रोही प्रवृत्ति हो। यो चिन्ताजनक छ, यो खतरनाक छ। प्रधानमन्त्रीको हिँजोको अभिव्यक्ति, नेपालका निम्ति एउटा राष्ट्रिय लज्जाको विषय बनेको छ। प्रधानमन्त्रीको भनाइले सिंगो नेपालीहरूको शिर निहुरिएको छ, जनताको मतको अपमान गरेको छ।


पार्टीको भविष्यः १५औँ महाधिवेशन र नयाँ नेतृत्वको खोजी

अब कांग्रेस एउटा नयाँ ट्रयाकमा गइसक्यो। अब हिजोको जस्तो, म फलानो दाइको मान्छे, म फलानोको मान्छे भनेर न कसैले पालिकाको टिकट पाउनेवाला हुनुहुन्छ, न कसैले कुनै नगरपालिका, पालिका सबै गयो। यो अध्याय सकियो। पार्टीमा अहिले हामीले इलेक्सन ब्युरो बनाएका छौँ। पुष्पा भुसालजी इलेक्सन ब्युरोको अध्यक्ष हुनुहुन्छ।

तपाईंको प्रत्येक पालिकाभित्र नागरिकले तपाईंले गर्नुभएको कामको मूल्यांकन कसरी गरिरहेको छ भन्ने कुराको बारेमा, अब त्यो पार्टी कमिटीमा को साथी हुनुहुन्छ, उहाँले तपाईंको सिफारिस गरेर पठाएको कुराको आधार गयो। हामीले बनाएको एप्लिकेसनबाट एक मिनेटभित्रमा तपाईंको पालिकाको सबै क्रियाशील सदस्यको मत म बुझ्न सक्छु, मन म बुझ्न सक्छु। त्यो क्षमता नेपाली कांग्रेसले राख्छ।

स्थानीय सरकार र पार्टीको समन्वय

स्थानीय सरकारका साथीहरू यहाँ हुनुहुन्छ। तपाईंहरू पार्टीको तर्फबाट उम्मेदवार बन्नुभयो। तर निर्वाचित भएपछि हामीले के ठान्न थालेका छौँ भने, हामीलाई पार्टीले बनाएको होइन, सबै म एक्लैले गरेको हुँ। मेरो कुनै जवाफदेहिता छैन।


हामीले निर्वाचन गराएर जनप्रतिनिधि बनाएका छौँ। त्यो जनप्रतिनिधिसँग लाखमा पैसा छ, तर जनताको माग अरबको छ। कसरी पुर्याउने ? कसरी गर्ने ? पार्टी र जितेर गएको प्रदेशको सांसदको बिचमा कति कुराकानी भएको छ ? जितेर जानुभएको मेयरसा’ब र पार्टीको बिचमा कति कुराकानी भएको छ ? हामी कति संवाद गरिरहेका छौँ ? एकदमै कम। जसको सिंगो मूल्य पार्टीले चुकाउनुपर्ने अवस्था आएको छ।

यो तपाईंको पार्टी सभापतिको रूपमा काम गरिरहँदै गर्दा, मेरो आचरणले, मेरो चरित्रले, मेरो निर्णयले, मेरो संगतले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दूरदराजमा बस्नुभएको एउटा पार्टीको सदस्यले पनि ‘मेरो पार्टी सभापतिको यो कामको कारणले गर्दा मेरो शिर निहुरियो’ भन्ने अवस्था आउन नदिने मेरो प्रण हो।

तल तपाईंहरूले काम गर्ने, माथि हामीले काम गर्ने। आफ्नो काम गर्दै जाऔँ। मलाई यति विश्वास छ, यो एक वर्ष ठीक ढङ्गले पार्टीले आफ्नो काम तल-माथि सबैतिर गर्दै जाऔँ। हामीलाई छोडेर जानुभएको साथीहरू पनि चुपचाप होइन, हल्ला गरेर पार्टी फर्केर आउनुहुन्छ। हल्ला गरेर आउनुहुन्छ, नारा लगाएर आउनुहुन्छ। त्यो अवस्था बनाउने हो हामीले।

त्यसैले, सबैलाई मिलाएर, सबैलाई सम्हालेर लिएर जाने जिम्मामा नचुकीकन हामीहरू काम गर्छौं। तपाईंहरूले यो भरोसा राख्नुपर्छ।

(नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत रुपन्देहीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले व्यक्त गरेको विचार)