
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको दुई महिना पुरा भएको छ । गत फागुन २१ मा झन्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले सरकारको नेतृत्व गरिरहेको छ ।
यहि सरकारले शुक्रबार (जेठ १५ गते) आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।
बजेट भाषणको एक दिन बाँकी रहँदा क्लिकमान्डुले आम सर्वसाधरणमा बजेटप्रति कत्तिको चासो छ ? अपेक्षा के छन् ? भन्ने विषयमा स्थलगत रिर्पोटीङ गरेको छ ।
झण्डै १ दर्जन साना–व्यवसायी र सर्वसाधरणसँग गरिएको सो कुराकानीमा अधिकांश नयाँ सरकारप्रती आशावादी रहेको बताएका छन् । क्लिकमान्डुले कुराकानी गरेकामध्ये ७० प्रतिशत साना व्यवसायीले सरकारको कामप्रती सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
बालेन नेतृत्वको सरकारले ल्याउने पहिलो बजेट भएकाले पनि यसप्रति आम जनता, व्यवसायी र युवापुस्ताले निकै चासोका साथ हेरेका छन् ।
बालेन सरकारको दुई महिनाको कामले आम जनतामा आशा जगाउने काम गरेको तर्क अधिकांशले दिएका छन् । सार्वजनिक सेवामा सुधार, प्रशासनमा हुने ढिलासुस्तीको अन्त्य र वर्षौंदेखि अपूरा रहेका विकास आयोजनाले अब गति लिने अपेक्षा धेरैले गरेका छन् ।
यस पटकको बजेट परम्परागत किसिमको नभई देशको आर्थिक संकट सुधार्ने र रोजगारीका अवसर सिर्जना गर्ने खालको होस् भन्ने उनीहरुको अपेक्षा छ । अब आम नागरिकका यी अपेक्षा पूरा गर्ने किसिमको बजेट आउँछ वा आउँदैन भन्ने विषय पनि प्रमुख हुनेछ ।
बलियो एकल सरकारसँग व्यापक जनअपेक्षाहलाई समेटेर परिवर्तन ल्याउन सकेमा मात्रै हाल सरकारप्रति रहेको सकारात्मक दृष्टिकोण कायम रहनेछ । अन्यथा, नागरिकको सकारात्मक दृष्टिकोण नकारात्मकतर्फ बदलिन भने लामो समय लाग्दैन जुन विषय सरकारले मनन गर्न समय लगाउन हुँदैन ।
खासगरी, सरकारले शिक्षा, स्वास्थ्य र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता गर्दै आएकाले अब बजेटमा त्यसलाई कसरी समेट्छ भन्ने विषय पनि सबैको चासोमा छ ।
महँगी नियन्त्रण, युवा पलायन रोक्ने ठोस आर्थिक नीति र रोजगारी सिर्जनाका ठूला चुनौतिहरु बालेन सरकारमा छन् ।





प्रतिक्रिया