सरकारको डोजर आतंकले नागरिकलाई आत्महत्या गर्न बाध्य बनायोः नेकपा

49
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मानव बस्तीमा डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक युवराज दुलालले नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भएपनि सरकार मानव सिर्जित विपत्ति निम्त्याउन उद्दत भएको आरोप लगाए ।

उनले सुकुम्बासी बस्तीमा सुरक्षाफौज परिचालन गरेर नागरिकमाथि आतंक सिर्जना गरिएको दाबी गर्दै ईन्द्रबहादुर राईजस्ता नागरिक आत्महत्या गर्न बाध्य हुँदा सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने ? भन्दै प्रश्न गरे ।

‘संविधानमा नागरिकको मौलिक हकको रुपमा आवासको हको ग्यारेन्टी गरिएको छ । यस्तो अवस्थामा आज राज्य प्राकृतिक विपत्ति आउनुपूर्व मानव सृजित विपत्ति ल्याउन उद्दत छ । मानवहरु बसिरहेको बस्तीमा २४ घण्टे अल्टिमेटम दिएर मानिसकहरुलाई राज्यको सम्पूर्ण सुरक्षा फौजको आतंक देखाएर मानिसहरुलाई आत्महत्या गर्नको लागि बाध्य बनाइरहेको छ । ईन्द्रबहादुर राईहरुले आत्महत्या गर्दाखेरी सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? विधिको शासनको नारा दिएर आएको सरकारले आज अध्यादेशबाट देश चलाउने सपना देखिरहेको त छैन ?,’ उनले भने ।