एफएनसीसीआई चुनाव आज: चन्द्र ढकाल र अञ्जन श्रेष्ठ प्यानलै बनाएर मैदानमा

2.3k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ पदाधिकारीका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ । सोमबारदेखि सुरू भएको साधारण सभाले आज नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

साधारणसभाबाट विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । बाँकी पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदैछ ।

रमाइलो त के छ भने आउटगोइङ अध्यक्ष चन्द्र ढकाल र बरिष्ठ उपाध्यक्ष एवं वेटिङ अध्यक्ष अञ्जन श्रेष्ठ प्यानलै बनाएर मैदानमा उत्रिएका छन् ।

चन्द्र ढकालले अहिलेका वस्तुगत उपाध्यक्ष हेमराज ढकाललाई बरिष्ठ उपाध्यक्षमा अघि सारेका छन् भने अञ्जन श्रेष्ठले अहिलेका जिल्लानगर उपाध्यक्ष सुरकृष्ण बैद्यलाई बरिष्ठ उपाध्यक्षको उम्मेद्वार बनाएका छन् ।

वस्तुगत, जिल्लानगर, एसोसिएट गरी चारवटै उपाध्यक्ष र कार्यकारीणी सदस्यमा दुबै पक्षले प्यानल बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार मंगलबार महासंघको ७३ पदका लागि निर्वाचन हुनेछ । कुल ७३ पदका लागि १ सय ३७ जनाले उम्मेदवारी दिएका छन् ।

चार उपाध्यक्ष र बाँकी सदस्य पदमा निर्वाचन हुनेछ । जसमध्ये जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष हुनेछन् भने बाँकी सदस्यमा निर्वाचन हुनेछ । यो निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने बताइएको छ।

निर्वाचनको समय मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अहिले धमाधम निर्वाचन भइरहेको छ ।एसोसिएसटतर्फ १ हजार ८ सय ५०, जिल्ला नगरतर्फ १ सय २९, वस्तुगत संघमा १ सय ७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेको महासंघले जनाएको छ । निर्वाचनको नतिजा भने बुधबार मात्रै घोषणा हुनेछ ।