
काठमाडौं । सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्ग पर्ने भू–भाग नेपालकै भएको विषयमा आफ्नो अडान यथावत् रहेको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सीमाविवाद रहेको क्षेत्र नेपालकै भूभाग भएकोमा सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
भारतले केही दिनअघि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने घोषणा गरेको थियो । भारतीय पक्षका अनुसार सन् २०२६ को जुनदेखि अगस्टसम्म उक्त यात्रा सञ्चालन हुनेछ ।
यसअघि नै नेपालको परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदै विवादित क्षेत्रमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीन लाई आग्रह गरेको थियो । त्यसको प्रत्युत्तरमा भारतले मानसरोवर जाने उक्त मार्ग पुरानै विषय भएको दाबी गरेको छ ।
प्रवक्ता पोखरेलका अनुसार सीमासम्बन्धी विषय द्विपक्षीय तथा त्रिपक्षीय सहकार्यमार्फत समाधानतर्फ अघि बढाइनेछ । ‘नेपाल सरकार आफ्नो भूमिको विषयमा स्पष्ट र प्रतिबद्ध छ। परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाइसकेको छ र भारतले पनि सहकार्यबाट समाधान खोज्नुपर्ने धारणा राखेको छ,’ उनले भने ।
भारतीय विदेश मन्त्रालयले अप्रिल ३० मा जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष यात्राका लागि २० वटा समूह गठन गरिनेछन्। तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र बाँकी १० समूह सिक्किम हुँदै नाथु ला पास बाट यात्रा गर्नेछन्। प्रत्येक समूहमा ५० जना यात्रु सहभागी हुनेछन्।









प्रतिक्रिया