शनिश्चरेस्थित भूटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा जोखिम बढेको भन्दै स्थानीय चिन्तित

0
Shares

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको ‘भूटानी शरणार्थी सुरक्षा बेस क्याम्प’ लामो समयदेखि बन्द हुँदा स्थानीय र शरणार्थी समुदायमा सुरक्षा चिन्ता बढेको छ ।

देशभरका विभिन्न स्थानमा आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सुरक्षा निकायका कार्यालयहरू पुनःस्थापना भई सेवा सुचारु भइसकेका छन् । तर, संवेदनशील क्षेत्र मानिने पथरीशनिश्चरेको यस क्याम्पको हकमा भने सम्बन्धित निकायले चासो नदेखाएको भन्दै स्थानीय र भूटानी शरणार्थी समुदायले गुनासो गरेका छन् ।

पटक–पटकको आग्रह र ध्यानाकर्षणका बाबजुद राज्यले यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गरेको उनीहरूको ठहर छ ।

२०६४ मा स्थापना भएको उक्त क्याम्पमा १५ जना सशस्त्र प्रहरीको दरबन्दी रहेको थियो । क्याम्प सञ्चालनमा रहँदा यस क्षेत्रको शान्ति–सुरक्षा मजबुत हुनुका साथै चोरी, सामाजिक झै–झगडा र लागुऔषध जस्ता गतिविधि नियन्त्रणमा थिए । तर, हाल सुरक्षा निकायको अनुपस्थितिका कारण ती समस्याहरू पुनः बल्झिन थालेका छन् । विशेषगरी लागुऔषधको ओसारपसार र प्रयोगले विकराल रूप लिँदै गएको स्थानीयको दाबी छ ।

भौगोलिक रूपमा खुला बस्ती र सीमावर्ती प्रभावका कारण यो क्षेत्र सुरक्षाका दृष्टिले चुनौतीपूर्ण मानिन्छ । नियमित सुरक्षा निगरानी नहुँदा शरणार्थी शिविर र आसपासका बासिन्दा असुरक्षाको त्रासमा बस्न बाध्य छन् । क्याम्प पुनःस्थापनाका लागि जिल्ला प्रशासन कार्यालयदेखि सशस्त्र प्रहरी मुख्यालयसम्म धाएका स्थानीयवासी अहिले निराश देखिन्छन् ।

भूटानी शरणार्थी सुरक्षा बेस क्याम्पका सचिव करन राईका अनुसार सशस्त्र प्रहरी फर्किने सुनिश्चितता भएमा क्याम्पको पुनर्निर्माण र मर्मतका लागि लाग्ने सम्पूर्ण खर्च समुदाय आफैँले बेहोर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

हाल सो क्षेत्रमा देखिएको ‘सुरक्षा शून्यत’लाई अन्त्य गर्न र बढ्दो अपराध न्यूनीकरण गर्न अविलम्ब सुरक्षा निकायको उपस्थिति आवश्यक रहेको भन्दै स्थानीयले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । ढिलाइ हुँदै जाँदा सामाजिक सुरक्षा अवस्था अझ भयावह हुन सक्ने भन्दै उनीहरूले तत्काल स्थायी सुरक्षा प्रबन्ध मिलाउन माग गरेका छन् ।