
विराटनगर । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा औद्योगिक नगर विराटनगरमा शुक्रबार तीन जना श्रमिक सम्मानित भएका छन् ।
सुनसरी–मोरङ औद्योगिक क्षेत्रका विभिन्न उद्योग तथा कलकारखानामा दीर्घ सेवा पुर्याएको योगदानका आधारमा उनीहरूलाई उद्योग संगठन मोरङले सम्मान गरेको हो ।
विश्वभरका श्रमिकहरूका लागि विशेष मानिने यस दिनको अवसरमा श्रमिक र रोजगारदाता बीचको सहकार्यलाई प्रोत्साहन गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरूमा कार्यरत तीन जना श्रमिकलाई दीर्घ सेवाको कदरस्वरूप सम्मान गरिएको हो ।
सम्मानित श्रमिकहरूमा नेपाल लिकर्स प्रा.लि.मा २५ वर्षदेखि कार्यरत मायावती थारु, स्वस्तिक जुट मिल इन्डस्ट्रीज प्रा.लि.मा २५ वर्षदेखि कार्यरत मोहम्मद इद्रिस मियाँ, तथा जयश्री पोलिमर्स प्रा.लि.मा २० वर्षदेखि कार्यरत सीता देवी लामिछाने छन् ।
उनीहरूलाई संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष विपिन कावरा, सुवोध कोइराला तथा ट्रेड युनियनका पदाधिकारीहरूले संयुक्त रूपमा सम्मानपत्रसहित नगद प्रदान गरेका थिए।
सो अवसरमा संगठनका अध्यक्ष राठीले श्रमिक दिवस संघर्ष, एकता, अधिकार र सामाजिक न्यायको प्रतीकका रूपमा स्थापित ऐतिहासिक दिन भएको बताउँदै सम्पूर्ण श्रमिकहरूप्रति सम्मान व्यक्त गरे । उनले उद्योग संगठनले श्रमिकहरूको सम्मान, हकहितको संरक्षण तथा उद्योग र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम गर्ने दिशामा सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।
त्यसैगरी, संगठनका उपाध्यक्ष सुवोध कोइरालाले वर्तमान विश्व परिवेशमा प्रविधिको विकास, श्रम बजारको परिवर्तन तथा आर्थिक चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न श्रमिक र व्यवस्थापनबीच अझ घनिष्ठ सहकार्य आवश्यक रहेको औंल्याए । उनले आपसी सहकार्यले उत्पादनशीलता मात्र नभई श्रमिकहरूको मनोबल पनि उच्च बनाउने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले श्रमिकहरूको अधिकार सुनिश्चित गर्दै उद्योगको विकास गर्न सकिने वातावरण सिर्जना गर्नु आजको आवश्यकता भएको बताउँदै त्यसका लागि संवाद, पारदर्शिता र सहकार्य प्रमुख आधार भएको धारणा राखे ।









प्रतिक्रिया