विशेष क्षमता भएका रोल्पाका सन्देशलाई शिवम् सिमेन्टको शैक्षिक सहयोग

56
Shares

काठमाडौं । शिवम् सिमेन्ट्सले लिमिटेडले रोल्पाको रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि शैक्षिक सहयोग गर्ने भएको छ ।

शारीरिक रूपमा अशक्त भई दुबै हात नचल्ने सन्देशलाई शिवम् सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने भएको हो।

सन्देशले परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आएका छन्। उनले हाल रोल्पामै रहेको विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका छन्।

तर, रोल्पामा विशेष क्षमता भएका विद्यार्थीहरूका लागि उपयुक्त अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययनमा समस्या देखिएको पारिवारले जनाएको छ।

शिवम् सिमेन्टले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिनका लागि काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ।

साथै, उनको रेखदेख तथा आवासीय व्यवस्थाका लागि अपाङ्ग नवजीवन केन्द्रसँग सहकार्य गरेको छ।

उक्त व्यवस्था अन्तर्गत, अपाङ्ग नवजीवन केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययनको समन्वय गर्नेछ भने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिनेछ।

सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि लाग्ने खर्च शिवम् सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रलाई सहयोग स्वरुप अर्धवार्षिक रूपमा उपलब्ध गराउनेछ।

सन्देशको संघर्ष र आत्मविश्वासबाट प्रेरित भई गरिएको यस सहयोगले उनको शैक्षिक यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।