सर्वसाधारणका लागि याम्बालिङ हाइड्रोपावरको आईपीओ खुल्यो, कतिसम्म भर्न पाइन्छ ?

259
Shares

काठमाडौं । याम्बालिङ हाइड्रोपावरले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले दोस्रो चरणमा १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन आजबाट निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा वैशाख २२ गते हुनेछ भने ढिलोमा वैशाख ३० गते हुनेछ ।

आईपीओ निष्कासनका लागि कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएकोमा कम्पनीले ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र २ लाख १० हजार कित्ता साधारण सेयर श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ रहेको र प्रतिमेगावाट लागत २५ करोड ७३ लाख ८० हजार ५११ रुपैयाँ रहेको छ ।

सो जलविद्युत आयोजनाको विद्युत् अनुमतिपत्र २५ वर्ष ६ महिना बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको सञ्चिति नाफा ७६ लाख ३४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ८२ पैसा रहेको छ ।