
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएको भन्दै विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशका विभिन्न जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएकाले विशेष सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो ।
आज साँझ ५:४५ बजेदेखि सुरु हुने हावाहुरी भोलि बिहान ७:४५ बजेसम्म रहने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कोशी प्रदेशको मोरङ, मधेश प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी लगायतका आसपासका जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ।
हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने प्रणाली पश्चिमबाट क्रमशः पूर्वतर्फ सर्दै जाने मौसमविद्हरूले बताएका छन् ।
तीव्र हावाहुरीका कारण रूखहरू ढल्ने, कमजोर संरचना भत्किने, घरको छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहने भएकाले यस्तो अवस्थामा सम्भावित क्षतिबाट बच्ने पूर्वतयारी गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले हावाहुरी चलेको बेला सकभर घरबाहिर ननिस्कन, घरका झ्यालढोका राम्ररी बन्द गर्न र जस्तापाताले बनेको कमजोर छाना भए त्यसलाई बलियो गरी बाँध्न आग्रह गरेको छ।
यसैगरी, बाहिर खुला ठाउँमा आगो नबाल्न, अग्ला रूख, बिजुलीका पोल वा तारमुनि नबस्न र चुँडिएका बिजुलीका तारहरू नछुन पनि प्राधिकरणले सचेत गराएको छ।
उडेर आउने वस्तुले चोट लाग्न सक्ने भएकाले सतर्क रहन र मौसम सम्बन्धी नियमित जानकारी लिन समेत सबैमा अनुरोध गरिएको छ।





प्रतिक्रिया