
विराटनगर । हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको निर्माण कार्य रोकिएको छ ।
विगत दुई वर्षदेखि निर्माण भइरहेको केबलकारको हाल तल्लो बटम, टप निर्माण र टावर बाँध्ने काम भइरहेको थियो ।
गत वर्ष भदौ २३ र २४ मा भएको ‘जेनजी’आन्दोलनपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी करिब दुई तिहाइ सीटसहित निर्वाचित भएर वालेन शाह(बालेन) नेतृत्वमा सरकार गठन भएलगत्तै पाथीभरामा निर्माणाधीन केबलकार निर्माण कार्य प्रभावित भएको हो ।
सुरुमा तत्कालीन गृहमन्त्री सुधन गुरुङले केबलकार निर्माणमा सुरक्षा दिइरहेका सुरक्षाकर्मीलाई फिर्ता बोलाएका थिए । त्यसपछि माथिल्लो निकायबाटै निर्माण कार्य रोक्न आदेश आएको ताप्लेजुङका एक सुरक्षा अधिकारीले क्लिकमान्डुलाई जानकारी दिए ।
‘अहिले केबलकारको निर्माण कार्य पूर्णरूपमा स्थगित भएको छ,’ उनले भने ।
स्रोतका अनुसार अहिले केबलकार निर्माण स्थलबाट सुरक्षाकर्मीहरू फिर्ता आउने क्रममा छन् । निर्माण सामग्रीको सुरक्षाका लागि केही सुरक्षाकर्मी खटिएका छन् । सुरक्षा स्रोतका अनुसार सरकारले निर्माणाधीन केबलकारको काम रोक्नुको कारण हालसम्म सार्वजनिक गरेको छैन ।
चुनावी अभियानका क्रममा बालेन शाहसमेत पाथीभरा दर्शनका लागि पुगेका थिए ।
केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले पाथीभरा मन्दिरलाई लक्षित गरेर फुङलिङ नगरपालिका वडा नम्बर ११ काफ्लेपाटीदेखि करिब एक किलोमिटर पूर्व-दक्षिण डडेलेबाट ३ अर्बको लागतमा मन्दिर छेउसम्म २.७७ किलोमिटर केबलकार निर्माण गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको ‘पाथीभरा मुक्कुमलुङ केबलकार प्रालि’ लाई २ वर्ष पहिला अनुमति दिएको थियो ।
निर्माण सुरु भएसँगै पहिचानवादी र ‘नो केबलकार’ समूहको बिरोध अनि आन्दोलनका कारण ताप्लेजुङ अशान्त बनेको थियो । सरकार, केबलकार निर्माण पक्ष र आन्दोलनरत पक्षबीच पटक-पटक भएको वार्ताले निकास दिएको थिएन । पछि सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माण कार्य अघि बढाउन दिने गरी आदेश जारी गरेपछि मात्र निर्माणले गति लिएको थियो ।
यामबहादुर लिम्बूसमेतले पाथीभरा देवी दर्शन केबलकार, फुङलिङ नगरपालिका, नेपाल सरकार आदिलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको संयुक्त इजलासले निर्माण कार्य अघि बढाउन आदेश दिएको थियो।
पहिलो स्टेसन निर्माण गर्ने क्रममा हिमालयन कन्ट्रक्सनले तल्लो फेदी काफ्लेपाटीदेखि करिब एक किलोमिटर पूर्व-दक्षिण डडेलेमा निर्माण सुरु गरेलगत्तै २०८१ माघ १२ गते ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच डडेलेभन्दा करिब एक किलोमिटर माथि वालुडाँडामा झडप भएको थियो । त्यसक्रममा दुवैतर्फका दर्जनबढी व्यक्ति घाइते भएका थिए । प्रहरीको गोली लागेर पाँचथरका १७ वर्षीय सगुन लावती र तेह्रथुमका ३७ वर्षीय यमबहादुर लिम्बु घाइते भएसँगै ताप्लेजुङ अशान्त बनेको थियो । त्यससँग निर्माण स्थलको सुरक्षाका लागि सरकारले सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
ताप्लेजुङको सदरमुकाम फुङलिङबाट करिब १० किलोमिटर पक्की सडक हुँदै सुकेटार पुगिन्छ । त्यहाँबाट करिब ७ किलोमिटर कच्ची सडकको यात्रा गरेर तल्लो फेदी काफ्लेपाटी पुगेपछि पाथीभरा माताको दर्शनका लागि पैदल यात्रा सुरु हुन्छ।
मन्दिर फुङलिङ नगरपालिका, फक्ताङलुङ र सिरीजंगा गाउँपालिकाको संगम स्थलमा ३,७९४ मिटर उचाइमा अवस्थित छ ।
काफ्लेपाटीदेखि मन्दिरसम्मको ठाडो उकालो दूरी करिब ५ किलोमिटर छ। त्यहाँबाट मन्दिर पुग्न पहाड हिँडिरहने स्थानीय रैथानेलाई करिब डेढ घण्टा लाग्छ भने अन्यत्रबाट गएका धर्मावलम्बीलाई ५–६ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ।
हिँड्न नसक्नेहरूले भरियालाई मोटो रकम दिएर बोकिएर मन्दिर पुग्नुपर्ने अवस्था छ ।
पाथीभरा केबलकारबारेको विशेष सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्





प्रतिक्रिया