समस्याग्रस्त सिभिल र सुमेरुसहित ५ सहकारीका ऋणीलाई ऋण तिर्न १५ दिनको अल्टिमेटम

651
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरिएका पाँचवटा सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्ने अन्तिम अल्टिमेटम दिएको छ ।

संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय’ले एक सूचना जारी गर्दै समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न १५ दिनको समय दिएको हो।

समितिका अनुसार पटक–पटक फोन, वेबसाइट र राष्ट्रिय दैनिक पत्रिकामार्फत जानकारी गराउँदा पनि हालसम्म ऋणको सावाँ, ब्याज र हर्जाना बुझाउन बाँकी रहेका ऋणीहरूले ऋण तिर्न बेवास्ता गरेपछि अन्तिम समय दिइएको जनाएको छ।

बागमती प्रदेश सरकारले हालसम्म सिभिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई जिम्मा दिएको छ।

सूचनामा उल्लेखित १५ दिनको समयसीमाभित्र पनि ऋण फरफारक नगरेमा समितिले कारबाही गर्ने चेतावनी दिएको छ।

१५ दिनभित्र ऋण चुक्ता नगर्ने ऋणीहरूको नाम–नामेसीसहितको विवरण सार्वजनिक गरिने जनाएको छ। त्यस्तै ऋणी, निजको परिवार र जमानी बस्ने व्यक्तिको जायजेथा (सम्पत्ति) र बैंक खाता रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउने सूचनामा उल्लेख छ। प्रदेश सहकारी ऐन २०७६ र नियमावली २०७६ बमोजिम धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल उपर गरिने जनाएको छ।

प्रदेश सरकारले उक्त सूचना ऋणी सदस्यहरूका साथै सम्बन्धित सहकारीका सञ्चालक, व्यवस्थापक, कर्मचारी र जमानीकर्ताहरूका लागि पनि जारी गरेको हो। ऋण तिर्न इच्छुक ऋणीहरूले काठमाडौँको अनामनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी आफ्नो हरहिसाब मिलान गर्नुपर्ने सूचनामा उल्लेख छ।