कान्तिपुर दैनिकको प्रधान सम्पादक बने गोकर्ण अवस्थी

203
Shares

काठमाडौं । कान्तिपुर दैनिकको रिक्त प्रधान सम्पादक पदमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले खुला प्रतिस्पर्धाका माध्यमबाट उनलाई सो जिम्मेवारी सुम्पेको हो ।

तत्कालीन प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएपछि कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो । प्राप्त १७ वटा आवेदनमध्येबाट अन्तिम सूचीमा परेका तीनजनाबाट अवस्थी छानिएका हुन् । उनले आगामी २०२६ मे ५ देखि औपचारिक रूपमा कार्यभार सम्हाल्ने कान्तिपुरले जनाएको छ ।

पत्रकारिता, राजनीतिक एवं आर्थिक विश्लेषण र अध्यापनमा दुई दशकभन्दा बढीको अनुभव सँगालेका अवस्थीको कान्तिपुरसँग यो दोस्रो आबद्धता हो । यसअघि उनले कान्तिपुर दैनिकमा लामो समय आर्थिक समाचार सम्पादकका रूपमा काम गरेका थिए ।

आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष समेत रहेका अवस्थी हाल नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकका रूपमा कार्यरत छन् । उनीसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा दिगो विकास लक्ष्य सल्लाहकारका रूपमा काम गरेको अनुभव छ । उनले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र भारतीय जनसञ्चार संस्थान, नयाँ दिल्लीबाट विकास पत्रकारितामा डिप्लोमा गरेका अवस्थी हाल काठमाडौं विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन् ।