रास्वपाले किन बोलायो संसदीय दलको बैठक ?


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक भोलि दिउँसो करिब १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठक संसदीय समितिहरूको सभापति निर्वाचन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहने जनाइएको छ । भोलि नै संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । सोही तयारीस्वरूप रास्वपाले बैठक बोलाएको हो ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो । त्यही दिन सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिहरूको निर्वाचन मिति पनि तोकेका थिए ।

संघीय संसद् अन्तर्गत कुल १६ वटा संसदीय समिति रहेका छन्, जसमा प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा र २ वटा संयुक्त समिति छन् । राष्ट्रिय सभा अन्तर्गतका समितिहरूको सभापति चयन भइसकेको छ भने प्रतिनिधिसभा र संयुक्त समितिहरूका सभापतिको निर्वाचन हुन बाँकी छ ।

Skip This