
काठमाडौं । सरकारले आधि तौलको सिलिण्डर बजारमा ल्याउने तयारी गरेको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको बिहिबार बस्ने बोर्ड बैठकबाट यो बिषयलाई मूर्त रुप दिन लागिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार हल्लाको भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डारण(जम्माखोरी) गर्न थालेपछि बजारमा अहिले ग्यास लिन ठूलो लाइन नै लाग्न थालेको छ ।
भारतको इण्डियन आयल कर्पोरेशन(आईओसी) ले पर्याप्त परिमाणमा हालसम्म ग्यास उपलब्ध गराए पनि उपभोक्ताले बढी संख्यामा ग्यास भण्डारण गर्न थालेपछि त्यसको प्रभाव बजारमा परेको मन्त्रालयका ती अधिकारीले जानकारी दिए।
उनका अनुसार सञ्चालक समितिको बैठक आज साँझ ४ बजे बस्न लागेको छ । सम्भवत् यहि बैठकले बजारमा आधि तौल(७.१ किलो) को सिलिण्डर बजारमा पठाउने निर्णय गर्नेछ ।
यो निर्णयको आधारमा भोलि(शुक्रबार) वा शनिबारदेखि बोटलिङ्ग तथा रिफिलिङ्ग उद्योगीले सिलिण्डरमा आधि तौल भरेर बजारमा पठाउनेछन् । अहिले पूर्ण तौल(१४.२ किलो) को सिलिण्डरको मूल्य १९१० रुपैयाँ पर्छ । तर आधि तौलको सिलिण्डर बजारमा आयो भने त्यसको मूल्य ९५५ रुपैयाँ पर्नेछ ।
आधि तौलको सिलिण्डरको बजारिकरण यो पहिलो पटक भने होइन, यसअघि नाकावन्दीको समयमा पनि सरकारले आधि तौलको सिलिण्डरको बजारिकरण गराएको थियो ।
मन्त्रालयका साथै निगममा बुधबार र बिहीबार बसेको उद्योगीसहितको बैठकले अहिलेको बजारको समस्या समाधान गर्न आधि तौलको सिलिण्डरको बजारिकरणमा जानुपर्ने निष्कर्ष दिएको थियो ।
त्यही छलफलको आधारमा सञ्चालन समितिले बैठकबाट निर्णय गरी औपचारिक रुपमै कार्यान्वयनमा ल्याउन तयारी भएको ती अधिकारीले जानकारी दिए ।
उद्योगीहरुले सामान्य समयभन्दा दैनिक ३ हजारभन्दा बढी सिलिण्डर उत्पादन गरेपनि बजारमा ग्यासको सहज उपस्थिति हुन पाएको छैन ।
निगमका अनुसार फागुन २६ सम्ममा भारतबाट साढे ४५ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । गत फेब्रुअरी (माघ १ देखि फागुन २८ सम्म) महिनामा नेपालमा ५० हजार ३ सय मेट्रिक टन खपत भएको आधारमा यो मार्च महिना (फागुन १ देखि चैत १७ सम्म) लाई ५२ हजार मेट्रिक टनको कोटा तोकेर उक्त परिमाणमा ग्यास उपलब्ध गराइदिन इण्डियन आयल कर्पोरेशनलाई जानकारी गराइएको निगमले जनाएको छ ।
उद्योगीका अनुसार आधि तौलको सिलिण्डर उत्पादन गर्दा अपरेसन खर्च भने झण्डै दोब्बर पर्न जान्छ । ती उद्योगीका अनुसार अहिले पूर्ण क्षमताको सिलिण्डर बजारमा पुर्याउँदा ढुवानी खर्च प्रति सिलिण्डर ६० रुपैयाँ खर्च पर्छ भने आधि तौलको पठाउँदा १२० रुपैयाँ पर्ने बताए । त्यस्तै उत्पादन खर्च, लेवर खर्च पनि दोब्बर पर्ने उनले जानकारी दिए ।








प्रतिक्रिया