चितवनमा मतदान गरी हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड

112
Shares

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो गृह जिल्ला चितवनमा मतदान गरेलगत्तै हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन् ।

चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुर मतदान केन्द्रबाट प्रचण्डले आज बिहान मतदान गरेका हुन् । चितवनमा मतदान प्रक्रिया सकेलगत्तै उनी हेलिकप्टर चार्टर गरी रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित कमलदह पुगेका छन् ।

प्रचण्ड रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । रुकुमपूर्वमा प्रचण्डसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् । आफू रुकुमपूर्वको उम्मेदवार भएकाले उनले चितवनमा मतदान गरे पनि आफैँलाई भने मत दिन पाएनन्।

प्रचण्डले मतदान गरेको चितवन क्षेत्र नम्बर ३ बाट उनकी छोरी एवं भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छिन् । मतदानपछि प्रचण्ड रुकुमपूर्वको चुनावी वस्तुस्थिति बुझ्न र आफ्ना मतदाताहरूसँग साक्षात्कार गर्न सिधै त्यता लागेका हुन् ।