तारेभीरमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरद्वारा नियन्त्रणमा

0
Shares

काठमाडौं । तारेभीरमा आइतबार दिउँसो लागेको आगो सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर नियन्त्रणमा लिइएको छ । आइतबार अपरान्ह तारेभीरको जंगलमा आगो लागेको थियो । तर, सुरक्षाकर्मीहरु आगो लागेको मुख्य ठाउँमा जान नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरलाई अनुरोध गरेको थियो ।

गृहबाट अपरान्ह ३ बजेको समयमा अनुरोध आएपछि सिम्रिक एयरले हेलिकप्टर पठाएको थियो । हेलिकप्टर प्रयोग गरेर ५ः४५ बजे आगो नियन्त्रणमा लिइएको हो । सिम्रिकले वरिष्ठ क्याप्टेन सिद्धार्थ जंग गुरुङ र रेस्क्यू स्पेशलिस्ट छिरिङ डेन्डुप भोटेलाई खटाएको थियो । सिम्रिक एयरका अनुसार आगो नियन्त्रणमा लिनका लागि करिब १२ हजार लिटर पानी हेलिकप्टरबाट खन्याइएको थियो ।

सुरुमा हेलिकप्टरले सुन्दरीजलबाट पानी लगेको थियो । तर, सुन्दरीजल टाढाको दूरीमा रहेकाले छिटो छिटो पानी लैजान समस्या हुने भएपछि सिम्रिकले नजिकैको रिसोर्टबाट पानीको प्रबन्ध गरेर आगो नियन्त्रणमा लिएको हो । सिम्रिकले यो सहित विभिन्न समयमा सरकारको अनुरोधमा देशका विभिन्न ठाउँमा लागेको आगो नियन्त्रणमा आफ्नो हेलिकप्टर प्रयोग गर्दै आएको छ ।

यसपटक पनि कम्पनीले निःशुल्क सेवा दिएको हो । तर, अहिले कम्पनीसँग एउटा मात्रै बम्बी बकेट छ । यसअघि दुइ वटा बम्बी बकेट रहेकोमा भदौ २४ गतेको जेन् जी आन्दोलनका क्रममा सिम्रिक एयरको कार्यालयमा आगजनी हुँदा एउटा बम्बी बकेट जलेपछि अहिले एउटा मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ ।

यसअघि देखि हालसम्म सरकारको अनुरोधमा सिम्रिकले बिना कुनै शुल्क सेवा दिइरहे पनि आगो नियन्त्रणका क्रममा कम्पनीको भने ठूलो खर्च भइरहेको हुन्छ । फ्युल, पाइलट र कर्मचारीको सेवा तथा बीमा, उपकरणहरुको प्रयोगमा ठूलो खर्च हुने गरेको छ ।

आगलागी नियन्त्रण गर्न हेलिकप्टरको प्रयोगले सहज हुने भएकाले आगामी दिनमा सरकारले यसका लागि बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता भने बढेर गएको छ ।