
२०४१ सालमा महाराजगञ्जको एउटा सानो शटरबाट ‘भाटभटेनी कोल्ड स्टोर’ को रूपमा यात्रा सुरु गरेका मीनबहादुर गुरुङले अहिले साम्राज्य नै खडा गरेका छन् । ३० वर्षभन्दा लामो समयसम्म बगाएको पसिनाले सिञ्चित यो व्यवसाय आज १० अर्बभन्दा बढी पुँजी र हजारौं कर्मचारी आबद्ध भएको विशाल सञ्जाल बनेको छ । देशका अधिकांश प्रदेशमा फैलिएको भाटभटेनीमा गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जुन बज्रपात पर्यो, त्यसले ५ हजारभन्दा बढीको रोजगारीलाई एकै निमेषमा संकटमा पारिदियो । १ अर्बभन्दा बढीको क्षति, मानसिक त्रास र अनिश्चितताका बीच पनि ‘थप लगानी गर्छु’ भन्ने दृढ अठोट बोकेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग क्लिकमान्डुले गरेको कुराकानी :
३० वर्षभन्दा लामो व्यावसायिक यात्रामा धेरै उतारचढाव देख्नुभयो, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको त्यो घटनालाई कसरी सम्झिनुहुन्छ ?
हेर्नुस्, ती दुई दिन जे भयो त्यसलाई शब्दमा व्यक्त गर्नै सकिँदैन । ३० वर्षको मेरो व्यावसायिक जीवनमा यति ठूलो प्रहार कहिल्यै भएको थिएन । धेरै क्षति भयो । त्यसले मलाई मात्र होइन, सिंगो निजी क्षेत्रलाई स्तब्ध बनाएको छ ।
जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका भाटभटेनी स्टोरमा कयौं दिनसम्म पनि धूवाँ उडिरहेको देख्न सकिन्थ्यो । वास्तवमा भाटभटेनीले कतिको क्षति बेहोर्नुपर्यो?
त्यस दिन हाम्रा स्टोरहरूलाई निशाना बनाइएको थियो । त्यसले गर्दा १०० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । यसमा आगजनी, लुटपाट र तोडफोड मुख्य कारण हुन् । यसले गर्दा हाम्रा उत्पादन र सेवाहरू पूर्ण रूपमा बन्द भए, बजार नराम्ररी प्रभावित भयो र हाम्रो आपूर्ति श्रृंखलामै ठूलो असर पर्यो । व्यवसायमा मात्र होइन, यसले कर्मचारी र हामी सञ्चालकहरूमा ठूलो मनोवैज्ञानिक क्षति पनि पुर्याएको छ । मेरो घर वा गाडी जस्ता निजी सम्पत्तिमा भने क्षति पुगेको थिएन, तर व्यावसायिक प्रतिष्ठान ध्वस्त हुनु मेरो लागि त्यसभन्दा ठूलो क्षति हो ।
अहिले व्यवसायीहरूबीच जेनजी आन्दोलनले दिएको डर, असुरक्षा र अनिश्चितता कस्तो छ ? तपाईं स्वयंले कस्तो महसुस गरिरहनुभएको छ ?
अहिले म जस्ता सयौं व्यवसायीहरू अनिश्चितताको भुमरीमा छौं । उद्योगी व्यवसायी र प्रतिष्ठानहरूका कर्मचारी सबैमा डर, असुरक्षा, अनिश्चितता र तनाव छ । यो तनाव सामान्य छैन । लगानीको वातावरण अहिले ‘अत्यधिक कमजोर’ छ । लगानीकर्ताहरूमा जुन धक्का पुगेको छ, त्यसलाई सुदृढ बनाउन ठूलै प्रयासको खाँचो छ ।
सफल व्यवसायी र व्यावसायिक प्रतिष्ठानमाथि यसरी आक्रमण हुनुको भित्री कारण के देख्नुहुन्छ ?
मेरो विश्लेषणमा यसका तीनवटा मुख्य कारण छन् । पहिलो, सम्पत्ति कमाउने मानिसलाई हेर्ने समाजको नकारात्मक दृष्टिकोण । दोस्रो, सामाजिक सञ्जालमा फैलाइने अफवाह तथा भ्रमपूर्ण सूचना । र तेस्रो, केही मानिसहरूमा हुने व्यक्तिगत रिसइबी र कुण्ठा । यी तत्त्वहरूले गर्दा नै निजी क्षेत्र सधैं निशानामा पर्ने गरेको छ जस्तो मलाई लाग्छ ।
जेनजी आन्दोलनपछि बैंकिङ र बिमा क्षेत्रमा कस्तो असर परेको अनुभूति गर्नुभएको छ ?
बैंकिङ क्षेत्रमा कर्जा असुली थप प्रभावित भएको छ । अचम्मको कुरा त, ऋण तिर्न सक्ने क्षमता भएका ऋणीहरूले पनि अहिलेको परिस्थितिलाई बहाना बनाएर तिर्न आलटाल गरिरहेका छन् । बजारमा उत्साह नहुँदा कर्जाको माग पनि ह्वात्तै घटेको छ जसले समग्र वित्तीय प्रणालीलाई नै असर गरेको छ ।
आन्दोलनपछि सरकारले चालेका कदमहरू र व्यवसायीलाई जोगाउन गरेका प्रयासहरू कत्तिको प्रभावकारी छन् जस्तो लाग्छ ?
सरकारले राहत, क्षति मूल्यांकन र आत्मविश्वास बढाउन जुन कदम चाल्यो त्यसमा म सन्तुष्ट छु । तर, व्यवसायी र लगानीको वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू कत्तिको प्रभावकारी भइरहेका छन् भन्ने विषयमा म अहिले कुनै टिप्पणी गर्न चाहन्नँ ।
सरकारलाई केही सुझाव दिन चाहनुहुन्छ ?
राज्यको पहिलो काम र शर्त नै सुरक्षा हो । सुरक्षाको बन्दोबस्त भएपछि बाँकी काम हामी व्यवसायी आफैं गर्छौं भन्न चाहन्छु ।
जेनजी आन्दोलपछि लगानीकर्तामा त्रास छ भन्नुभयो । अब नेपालमा लगानीमैत्री वातावरण बनाउन कसको भूमिका के हुनुपर्ला ?
यसलाई राज्यले विशेष ध्यान दिनुपर्छ भने बाँकी पक्षको पनि यसमा भूमिका हुन्छ । यसमा धेरै काम गर्न बाँकी छ । सरकारी क्षेत्र, अन्य सरोकारवाला र निजी क्षेत्र स्वयंले धेरै मिहिनेत गर्नुपर्नेछ । राज्यले सुरक्षा दिनुपर्छ र निजी क्षेत्रप्रति सर्वसाधारणको नकारात्मक दृष्टिकोण बदल्न सबैले पहल गर्नुपर्छ । भविष्यमा निजी क्षेत्रमाथि यस्ता आक्रमण हुन नदिन सरकार, व्यवसायी र सरोकारवालाहरू सबैको साझा पहल आवश्यक छ ।
अन्त्यमा, यति धेरै तनाव र क्षतिका बावजुद तपाईंले थप लगानी गर्नेबारे सोचिरहनु भएको छ ?
आन्दोलनले मेरो मनोबलमा ‘सामान्य असर’ त पारेको छ तर म डराएर भाग्ने पक्षमा छैन । म थप लगानी गर्न र व्यवसाय विस्तार गर्न पूर्ण रूपमा तयार छु । म लगानी थप गर्छु किनकि हामीले काम नगरे देश कसरी बन्छ ? राज्यले ढुक्कसँग काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभूति देओस् ।
(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन निर्माण गर्ने क्रममा सोधिएका प्रश्नहरुमा गुरुङले दिएको जवाफका आधारमा तयार पारिएको हो ।)








प्रतिक्रिया