
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइदैैं छ ।
सरकारले शनिबार बिहान ति दुवै जनालाई पक्राउ गरेको थियो । शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन ।
गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।
जेनजी प्रदर्शनमा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।
घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।








प्रतिक्रिया