देश अन्तिम सुनामीको तयारीमा छ, जो-जो मिल्नु छ मिल: रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सिंहदरबार पुग्नका लागि मात्र नभई सिंहदरबारको बेथिति बदल्नका लागि चुनावी मैदानमा उत्रिएको उल्लेख गरेका छन् ।

संक्रमणका कारण केही दिन अस्पतालमा उपचार गराई निको भएर फर्किएलगत्तै सामाजिक सञ्जालमार्फत लामिछानेले अबको परिवर्तन ‘घटना’ मात्र नभई ‘इतिहास’ हुने उल्लेख गरेका छन् ।

आफूलाई तत्कालीन दुईतिहाइको सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउँदै उनले भने, ‘जबरजस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशका विभिन्न अदालत धाउँदा धाउँदा म थाकेको छैन । अबको मेरो प्रयास जनतासँगको प्रत्यक्ष संवादमै केन्द्रित हुनेछ ।’

सभापति लामिछानेले केवल पुल, भवन वा सडकका तस्बिर बेचेर गरिने ‘कस्मेटिक’ सुधारमा आफ्नो रुचि नरहेको उल्लेख गरेका छन् । उनले कुशासनको मुख्यालय बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरु गर्ने र त्यसका लागि जनताले स्पष्ट म्याण्डेट दिनुपर्ने बताएका छन्।

‘दलका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न म तपाईंसँग भोट माग्नेछु,’ लामिछानेले लेखेका छन्, ‘अस्थिरताको पुरानो वृक्षलाई जरोदेखि नउखेली यो देश बदलिँदैन ।’

आफू र आफ्नो पार्टीलाई ‘नीति र सिद्धान्तहीन’ भन्ने विश्लेषक तथा पुराना दलहरूलाई पनि लामिछानेले कडा जवाफ दिएका छन् । रास्वपाका दस्तावेजहरू पढ्ने जाँगर नगरेरै लोकप्रियतावादीको आरोप लगाउनुको अर्थ नरहेको भन्दै उनले भनेका छन्, ‘विचार र सिद्धान्त भएका भनिएकाहरूको कार्यक्षमता र नियत जनताले देखिसके । अब हामीलाई थप नपढाउनुस् ।’

लामिछानेले पुराना दलहरूलाई जुनसुकै गठबन्धन गरेर रोक्न चुनौती दिँदै भने, ‘अझै पनि जो–जो मिल्नु छ, मिल । खुला वा गोप्य गठबन्धन गर र यो सुनामी रोकेर देखाऊ । हामी मत परिणाम स्वीकार्छौँ तर जनविद्रोहले उखेलेको पुरानो संसद फर्काउने कुनै पनि षड्यन्त्र स्वीकार्दैनौं ।’

लामिछानेले ‘फागुन २१’ गतेलाई नेपाली इतिहासको विशेष ‘माइलस्टोन’ (कोसेढुङ्गा) को रूपमा व्याख्या गरेका छन् । सो मितिपछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने उनको जिकिर छ । देश लुटेर बनाइएको ‘अपराधिक गिरोह’ बाट मुलुकलाई मुक्त गर्ने जिम्मा अब जनताको हातमा आएको उनको भनाइ छ ।

मुलुकको भविष्य बदल्ने क्रान्तिका लागि आफू कठोरभन्दा कठोर त्याग र तपस्या गर्न तयार रहेको उल्लेख गर्दै उनले भ्रष्टतन्त्रको अन्तिम पर्दा उठ्न मात्र बाँकी रहेको बताए ।

यस्तो छ रविको स्टाटस

सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।

अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरिरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरु धाउदा धाउदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमूदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाइँको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन । कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।

म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविश्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको परवाह छैन। तर यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ ।
भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी,भिजन बिनाका, निती सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा-दस्तावेज पढ्ने जाँगर विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइहरुको नियत,कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस् , नपढाउनुस् । देश रसातलमा पुग्दापनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक। भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौं, नसके जनता छन् । आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घन्टी बजाउँदै,विकास-कूटनीति र अर्थ- राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ।

गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।

फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन।

यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ। मात्र तपाईँको हातमा।

Skip This