
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालका बेला आफ्नो कर विवरण अनधिकृत रूपमा चुहावट गरेको आरोप लगाउँदै देशको अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) र कोष विभाग (ट्रेजरी डिपार्टमेन्ट) विरुद्ध कम्तीमा १० अर्ब डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।
यो मुद्दा बिहीबार फ्लोरिडाको संघीय अदालतमा दर्ता गरिएको हो । ट्रम्पले आफ्ना छोराहरू डोनल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पसँगै मिलेर यो मुद्दा दायर गरेका हुन् । उनले राष्ट्रपतिको हैसियतमा नभई व्यक्तिगत क्षमतामा आईआरएस र कोष विभागविरुद्ध मुद्दा हालेका हुन् ।
मुद्दामा सरकारले ट्रम्प र ट्रम्प अर्गनाइजेसनको गोप्य कर सम्बन्धी जानकारीहरू सुरक्षित राख्न असफल भएको आरोप लगाइएको छ । ती जानकारीहरू आईआरएसका पूर्व ठेकेदार चाल्र्स लिटलजोनले सञ्चारमाध्यमलाई चुहाएका थिए ।
बुज एलेन ह्यामिल्टन नामक संस्थामा सरकारी ठेकेदारको रूपमा काम गर्ने लिटलजोनले अवैध रूपमा ट्रम्पको कर विवरण प्राप्त गरी न्युयोर्क टाइम्स र प्रो–पब्लिका जस्ता मिडियालाई उपलब्ध गराएको मुद्दामा उल्लेख छ ।
सन् २०२४ मा लिटलजोनलाई ट्रम्प र अन्य हजारौं धनी व्यक्तिहरूको अनुमति बिना कर विवरण सार्वजनिक गरेको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।
ट्रम्पको कानुनी टोलीले लिटलजोनको कार्यका लागि आईआरएस कानुनी रूपमा जिम्मेवार रहेको दाबी गरेको छ ।
लिटलजोनसँग आईआरएसका कर्मचारीसरह कर विवरण र गोप्य जानकारीहरूमा पहुँच रहेको र उनले आईआरएसको सुरक्षा कमजोरीको फाइदा उठाएको उनीहरूको तर्क छ । आईआरएसलाई त्यस्ता कमजोरीहरूबारे पहिले नै चेतावनी दिइए तापनि सुधार नगरिएको मुद्दामा उल्लेख छ ।
‘आईआरएसले एक राजनीतिक रूपमा प्रेरित कर्मचारीलाई राष्ट्रपति ट्रम्प, उनको परिवार र ट्रम्प अर्गनाइजेसनको निजी र गोप्य जानकारी न्युयोर्क टाइम्स, प्रो–पब्लिका र अन्य वामपन्थी सञ्चारमाध्यमहरूमा चुहाउन दियो जुन पछि अवैध रूपमा लाखौं मानिसहरूसम्म पुग्यो । राष्ट्रपति ट्रम्पले अमेरिका र अमेरिकीहरूलाई हानि पुर्याउनेहरूलाई जवाफदेही बनाउन जारी राख्नुहुनेछ,’ ट्रम्पको कानुनी टोलीले एक विज्ञप्तिमा भनेको छ ।
यसै हप्ताको आरम्भमा कोष विभागले लिटलजोनका पूर्व रोजगारदाता बुज एलेन ह्यामिल्टनसँगको सम्बन्ध तोड्दै २ करोड १० लाख डलर बराबरको संघीय ठेक्काहरू रद्द गर्ने घोषणा गरेको थियो ।
अर्थमन्त्री स्कट बेसेन्टले सो निर्णयको मुख्य कारण लिटलजोन नै रहेको उल्लेख गर्दै भनेका थिए, ‘बुज एलेनले संवेदनशील डेटा र गोप्य करदाता जानकारी सुरक्षित राख्न पर्याप्त सुरक्षा उपायहरू अपनाउन असफल भयो ।’
ट्रम्पको पहिलो कार्यकालमा उनले दशकौंदेखिको परम्परा तोड्दै आफ्नो कर विवरण सार्वजनिक गर्न अस्वीकार गरेका थिए, जुन विषय आलोचकहरूको केन्द्रविन्दु बनेको थियो । सन् २०२२ मा ट्रम्पको कर विवरण सार्वजनिक गर्ने विषयमा सर्वोच्च अदालतसम्म कानुनी लडाइँ चलेपछि हाउस वेज एण्ड मिन्स कमिटीले उनको ६ वर्षको कर विवरण सार्वजनिक गरेको थियो ।








प्रतिक्रिया