राजेन्द्र बजगाईंले किन छाड्न लागे कांग्रेस ?


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद राजेन्द्र बजगाईंले नेपाली कांग्रेससँगको आफ्नो लामो आबद्धता अन्त्य गर्ने जाएका छन् ।

आइतबार सामाजिक सञ्जालमा एक अत्यन्तै सन्देश लेख्दै उनले पार्टीभित्रका केही व्यक्तिका कारण आफूले यस्तो कठोर निर्णय लिन लागेको बताएका हुन्।

सांसद बजगाईंले ‘धेरै भारी मनले’ कांग्रेससँगको सम्बन्ध समाप्त गर्ने सोचमा पुगेको उल्लेख गरेका छन् । आफ्नो राजनीतिक र व्यक्तिगत जीवनको संघर्षलाई स्मरण गर्दै उनले आफूले पटक-पटक मृत्युको मुखबाट बाँचेर समाजको सेवामा लागेको बताएका छन् ।

उनले लेखेका छन्, ‘धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी गरिदिएँ, कैयौँको जीवन जोगाईदिएँ ।’

पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक कलह र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका बजगाईंले केही व्यक्तिको नाम नकिटी उनीहरूलाई ‘निकृष्ट पात्र’को संज्ञा दिएका छन् । उनले ती पात्रहरूका कारण समग्र पार्टी निर्दोष भए पनि आफूले पार्टी छाड्नुपर्ने अवस्था आएको स्पष्ट पारेका छन्।

उनको पोस्टमा लेखिएको छ, ‘एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो।’

शुरुमा विशेष महाधिवेशन पक्षमा रहेका उनी अहिले भने गगन थापासँग रिसाएका छन् । टिकट नदिएपछि बजगाईं थापासँग रुष्ट बनेका हुन्।

पयर्टन व्यवसायी समेत रहेका बजगाईं कांग्रेसभित्र निडर र स्पष्ट वक्ताका रूपमा चिनिन्छन् । पार्टी नेतृत्वसँगको तीव्र असन्तुष्टिका बीच उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

बजगाईंको यो घोषणाले नेपाली कांग्रेसभित्र, विशेषगरी गोरखा कांग्रेसलाई प्रभाव पार्ने जनाइएको छ ।