रुस, युक्रेन र अमेरिकाबीच यूएईमा त्रिपक्षीय वार्ता हुने


एजेन्सी । संयुक्त अरब अमिरात (यूएई) मा युक्रेनी, अमेरिकी र रुसी अधिकारीहरूबीच बैठक हुने रुसले शुक्रबार पुष्टि गरेको छ ।

क्रेमलिनका विदेशनीति सल्लाहकार युरी उसाकोभले पत्रकारहरूलाई बताएअनुसार, यो बैठक आबुधाबीमा हुनेछ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि बिहीबार दाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा दुई दिने बैठक हुने घोषणा गरेका थिए जसलाई युक्रेनमा रुसको युद्ध अन्त्यका लागि वार्ता अगाडि बढिरहेको संकेतका रूपमा हेरिएको छ ।

उसाकोभका अनुसार, आबुधाबीमा हुने रुसी वार्ता टोलीको नेतृत्व मुख्य गुप्तचर निर्देशनालयका प्रमुख एडमिरल इगोर ओलेगोविच कोस्त्युकोभले गर्नेछन् ।

‘म के थप्न सक्छु भने अमेरिकीहरूसँग आज भएको कुराकानीका सबै विवरणहरूलाई ध्यानमा राख्दै हाम्रो प्रतिनिधिमण्डलले भर्खरै रुसका राष्ट्रपतिबाट विशेष निर्देशनहरू प्राप्त गरेको छ,’ उसाकोभले मस्कोमा भ्लादिमिर पुटिन र ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र जेरेड कुश्नरबीच भर्खरै सम्पन्न बैठकलाई उल्लेख गर्दै भने ।

त्रिपक्षीय बैठकका अतिरिक्त क्रेमलिनका विशेषदूत किरिल दिमित्रीभ र अमेरिकी दूत विट्कोफले छुट्टै अमेरिका–रुस बैठकको नेतृत्व गर्ने उसाकोभले थपे ।

Skip This