आन्तरिक मागलाई प्रोत्साहन गर्ने भनी डाभोसमा चीनका उपप्रधानमन्त्रीले दिएको भाषणले तरंग


एजेन्सी । स्विटजरल्यान्डको डाभोसमा चलिरहेको विश्व आर्थिक मञ्च सम्मेलनमा चीनले गरेको घोषणाले भविष्यलाई आकार दिन सक्ने देखिएको छ ।

धेरैजनाको ध्यान क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको भाषणमा केन्द्रित भइरहेको बेलामा चीनका उपप्रधानमन्त्री ह लिफङले चीनलाई विश्वको बजार बनाउने दृढ संकल्पको बारेमा कुरा गरेका छन् ।

आन्तरिक मागलाई बढावा दिने काम अब चीनकोे आर्थिक एजेन्डाको शीर्ष स्थानमा रहेको उनले बताए । यसलाई चीन सरकारले आफ्नो १५औं पञ्चवर्षीय योजनामा प्रतिबिम्बित गरेको छ ।

अर्को शब्दमा भन्नुपर्दा, चीन यस्तो चरणमा प्रवेश गरेको छ जहाँ उसले अमेरिकालाई विस्थापित गर्दै विश्वको प्राथमिक उपभोक्ता बजार बन्ने अपेक्षा र लक्ष्य राखेको छ । विश्व अर्थतन्त्रका लागि यो निकै ठूलो परिवर्तन हुनेछ ।

यसमा एउटा आइरोनी लुकेको छ । कैयौं वर्षदेखि अमेरिका लगायतका मुलुकले चीनलाई वैदेशिक व्यापार मुनाफा घटाउनका लागि आन्तरिक उपभोगमा केन्द्रित रहन आग्रह गर्दै आएका छन् । त्यसैले चीनले यो लक्ष्य प्राप्त गरेमा (र उनीहरू सामान्यतया प्राप्त गर्छन् नै) विश्वले मागेकै कुरा पाउनेछ । त्यो भनेको चीनको उपभोक्ता बजारको बढोत्तरी हो ।

तर, महत्त्वपूर्ण रूपमा यसको अर्थ हुन्छ ः विश्वको आर्थिक गुरुत्वाकर्षण केन्द्र पूर्वतर्फ थप सरेको छ । विश्वभरिका कम्पनीले अन्य कुनै पनि बजारको तुलनामा चीनमा बढी सामान बिक्री गरेमा आजको तुलनामा चीनको निरन्तर समृद्धिमा उनीहरूको धेरै ठूलो हिस्सेदारी हुनेछ (जसरी आजसम्म अमेरिकाको समृद्धिमा बाँकी विश्वको योगदान रहेको छ) ।

अमेरिकाका लागि यो विडम्बनापूर्ण स्थिति हो । ट्रम्पले अमेरिकाको मागलाई हतियार बनाइरहेका छन् र बलियो अमेरिकी आयातलाई कमजोरीको रूपमा हेरेका छन् । तर, यो अमेरिकी शक्तिको प्रमुख स्रोत पनि हो । तपाईंले आफ्नो बजारमार्फत मानिसहरूलाई धनी बनाउनुभयो भने तपाईंले सद्भाव पनि कमाउनुहुन्छ । यो कुरा चीनलाई सुम्पिन अमेरिकाले गरेको आग्रह विडम्बनापूर्ण देखिन्छ ।

चीन मूर्ख छैन । उनीहरूले यो कुरा राम्ररी बुझेका छन् । त्यसैले यस परिवर्तनप्रति उनीहरूको उत्साह र प्रतिबद्धता छ ।
वास्तवमा, ऐतिहासिक रूपमा भन्नुपर्दा, चीनले विश्वसँग यसरी नै व्यवहार गर्दै आएको छ । छाओगोङ चिदु भन्ने अभिव्यक्तिलाई सामान्यतया ट्रिब्युटरी सिस्टम (सौगात प्रणाली) भनी अनुवाद गरिन्छ । तर, यो एकदमै नराम्रो अनुवाद हो किनभने यसलाई संरक्षण शुल्क, देशहरूले तिर्नुपर्ने कर र शोषणको माध्यमका रूपमा बुझिन्छ ।

वास्तवमा त्यो प्रणाली यसको ठीक विपरीत थियो । देशहरू यसको हिस्सा बन्न वास्तवमै उत्साहित थिए किनभने छाओगोङ प्रणालीमा प्रवेश गर्नु भनेको चीनसँग व्यापार गर्ने अनुमति पाउनु थियो । यसले अर्को देशलाई चिनियाँ बजार र समृद्धिमा पहुँच दिलाउँथ्यो ।

जापानी विद्वान् ताकेशी हमाशिताले देखाएअनुसार, सन् १८३९ मा चीनका सम्राट् दाओगुआङले ट्रिब्युटरी व्यापारसँग सम्बन्धित खर्च घटाउनका लागि ट्रिब्युट मिसनहरू घटाउने प्रयास गदाई र्युक्यु जस्ता ट्रिब्युटरी राज्यहरूले आफूलाई भइरहेको आर्थिक लाभ गुम्ने हवाला दिँदै यस परिवर्तनको विरोध गरे । एक अर्थमा, यो आज अमेरिकी आयात घटाउने ट्रम्पको प्रयासभन्दा फरक छैन ।

चीनले छाओगोङ प्रणाली पुनः थालेको भनेर लीले घोषणा गरेका हैनन् । यो केवल खुला व्यापार हो, कुनै औपचारिक कूटनीतिक व्यवस्था होइन । तर, प्रभावकारी रूपमा विश्वले चिनियाँ बजारमार्फत समृद्धिमा पहुँच पाउनका लागि चीनसँग माग गरिरहेको छ र चीनले खुसीसाथ त्यसलाई स्वीकार गरिरहेको छ ।

ट्रम्पका अनुसार, यसको अर्थ अब अमेरिकाको अनुचित फाइदा उठाइने छैन भन्ने हुनेछ ।