
काठमाडौं । खजुरीको नेपालले एकै वर्ष २ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ४ करोड ५ लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा १ अर्ब ७० करोड १० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ७० करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६४ करोड र सन् २०२१ मा १ अर्ब २८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार गत आवमा २० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार चालु आवको ४ महिनाको अवधिमा सोहीअनुसार बढेको रेटिङमा उल्लेख छ ।
कम्पनीका अनुसार चालु आवको ४ महिनामा गत आवको सोही अवधिको तुलनामा ३२ प्रतिशतले व्यापार बढेको छ ।
कम्पनीले गरेको व्यापारमा दुई वटा वस्तुको हिस्सा मात्रै ७८ प्रतिशत छ । कम्पनीको बिस्कुट, पेस्ट्रिज र कुकिजबाट उच्च व्यापार भएको जनाइएको छ ।
सन् २००४ मा स्थापना भएको कम्पनीले बिस्कुट, कुकिज र पफ उत्पादन गरी ‘खजुरीको’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ।
कम्पनीले ललितपुर, चितवन र मकवानपुरमा रहेका उद्योगबाट उत्पादन गरी देशभर बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा ६ जनाको स्वामित्व छ ।
ओमनाथ महर्जन अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २३ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया