१ अर्ब लगानी थपेर स्तरोन्नति हुँदै होटल पार्कल्यान्ड, ७३ कोठा थपिँदै


काठमाडौं । होटल पार्कल्यान्डले लगानी थप गरी स्तरोन्नति गर्ने भएको छ । कम्पनीले १ अर्ब ४ करोड ७० लाख रुपैयाँ लगानी थप गरी स्तरोन्नति गर्ने भएको हो ।

हाल कम्पनीले ३२ वटा कोठाको सुविधासहित होटल सञ्चालन गरिरहेको छ । कम्पनीले उक्त क्षमता बढाएर चार तारे होटल बनाउने भएको छ । जसमा कम्पनीले १०५ वटा कोठाको सुविधा भएको होटल निर्माण गर्ने भएको छ ।

कम्पनीका अनुसार सन् २०२५ को डिसेम्बरको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र जग्गाको अधिग्रहण भइसकेको उल्लेख छ । साथै, निर्माण कार्य भइरहेको कम्पनीको भनाइ छ ।

कम्पनीको लगानीको अनुपात ४२:५८ प्रतिशत रहेको छ । हालसम्म ६ करोड ३० लाख रुपैयाँ कर्जाको व्यवस्थापन भइसकेको छ ।

सन् २००७ मा स्थापना भएको कम्पनीले चितवनमा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीले गत आवमा ५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ३ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले हल र स्वीमिङ पुलको सुविधासहित होटल सञ्चालन गर्दै आएको छ । कम्पनीको अध्यक्ष शरदराज पाण्डे हुन् । उनीसँग पर्यटन र होटल क्षेत्रको दुई दशकभन्दा बढीको अनुभव छ ।