ओम अस्पतालको आम्दानी १६% ले बढ्यो, एक वर्षमा कतिको गर्‍यो व्यापार ?


काठमाडौं । काठमाडौं चावहिलमा रहेको ओम अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिले एकै वर्ष ८८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ८८ करोड रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ मा ८२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ७२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

पछिल्ला ५ वर्षमा निरन्तर आम्दानी १६ प्रतिशतले बढेको अस्पतालले जनाएको छ ।

२०२४ मा २.०८ प्रतिशत मात्रै खुद नाफा कमाएको अस्पतालले गत आवमा ५.५९ प्रतिशत खुद नाफा कमाएको छ । अस्पतालको कुल सञ्चय नगद ११ करोड ४० लाख रुपैयाँ रहेको छ ।

सन् १९९५ मा स्थापना भएको अस्पतालले १ सय ७५ वटा शय्याबाट विभिन्न सेवा दिँदै आएको छ । अस्पतालले क्लिनिकल, सर्जिकल र डाइग्नोस्टिक सेवा दिँदै आएको छ । साथै अस्पतालले इमर्जेन्सी, आइसीयू र क्रिटीकल केयर सुविधा र अन्य सेवा दिँदै आएको छ ।

अस्पतालले त्यति मात्रै नभएर आइभीएफ, डाइलेसिस, अन्कोलोजी, इमेजिङ एन्ड लेबोरेटरी सेवा, फिजियोथेरापी, वेल्नेस र प्रिभेन्टिभ क्लिनिकको पनि सेवा दिँदै आएको छ ।

भोलाप्रसाद रिजालको ५.८५ प्रतिशत स्वामित्व रहेको अस्पतालमा विजय मल्लको ५.०९ प्रतिशत स्वामित्व रहेको छ ।

अस्पतालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५८ करोड ८५ लाख रुपैयाँको रेटिङ गराएको छ । अस्पतालले दीर्घकालीन कर्जाका लागि ४२ करोड ८५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १६ करोड रुपैयाँको रेटिङ गराएको हो ।