डा. नवराज केसीको ‘स्वस्पर्श’: परोपकारमा आनन्द खोज्न प्रेरित गर्ने कृति


काठमाडौं । नेपाली साहित्यमा ‘शून्यको मूल्य’ मार्फत कर्णालीको दुःख र मानवीय संवेदनाको गहिरो उत्खनन गरेका डा. नवराज केसीको नयाँ कृति ‘स्वस्पर्श’ मानिसले बिर्सिरहेको ‘स्व’ खोज्ने एउटा आनन्ददायी पठनयात्रा हो । आधुनिकताको दौडमा आफैंलाई बिर्सिएर बाहिरी संसारमा खुसी खोजिरहेका पाठकहरूका लागि यो पुस्तक एउटा आध्यात्मिक र मनोवैज्ञानिक मार्गदर्शक बनेको छ ।

स्वस्पर्शको शाब्दिक अर्थ हुन्छ– आफैंलाई स्पर्श गर्नु । तर, यो स्पर्श शारीरिक होइन । यो त चेतना, भावना र अस्तित्वको गहिराइमा पुगेर गरिने आत्मानुभूति हो । पेशाले बालरोग विशेषज्ञ डा. केसीले यस पुस्तकमा मानिसको बाहिरी उपचारभन्दा पनि आन्तरिक आरोग्यता (हीलिङ) मा जोड दिएका छन् ।

वास्तवमा हामी अरूले के भन्लान् भन्ने चिन्तामा सकिइरहेका हुन्छौं । बाह्य संसारको वा समाजको स्वीकृतिको खोजीमा हामी आफ्नै स्वत्वलाई बिर्सिरहेका हुन्छौं । आफैंलाई अँगाल्नु र आफूभित्र गहिरिएर हेर्नुले दिने आनन्द बेग्लै हुन्छ । पुस्तकमा डा. केसीले चिकित्साविज्ञानको प्राविधिक पक्ष र मानवीय संवेदनाको दार्शनिक पक्षलाई मिसाएर यसरी स्वस्पर्शको नयाँ भाष्य तयार पारेका छन् ।

स्वस्पर्श एउटा सेल्फ हेल्प पुस्तक हो तर बजारमा उपलब्ध यस कोटिका पुस्तकभन्दा यो निकै उच्च र असाधारण छ । साधारणतया सेल्फ हेल्प पुस्तकहरूले यो गर, त्यो नगर भन्ने किसिमका उपदेश दिन्छन् । तर ‘स्वस्पर्श’ ले उपदेश दिँदैन । यसले त प्रश्न सोध्छ र पाठकलाई आफैं भित्र पसेर उत्तर खोज्न बाध्य तुल्याउँछ ।

लेखकले पुस्तकमा मानवीय मनोविज्ञानका सूक्ष्म पत्रहरू फुकाएका छन् । मानिस किन दुःखी हुन्छ ? किन एउटा सम्पन्न मानिस पनि भित्रभित्रै रित्तो महसुस गर्छ ? डा. केसीले आत्मप्रेम र आत्मस्वीकारोक्तिको अभावमा यसको कारण देखेका छन् ।

मनोवैज्ञानिक दृष्टिले हेर्दा पुस्तकले ट्रमा (आघात), तनाव र चिन्तालाई निको पार्न औषधिभन्दा बढी आत्मीयता र परोपकारको आवश्यकता पर्ने कुरा औंल्याउँछ । पुस्तकले पाठकलाई आफ्नै मानसिक स्वास्थ्यप्रति संवेदनशील हुन र आफ्ना भावनाहरूसँग इमान्दार हुन सिकाउँछ ।

डा. केसीको लेखनको बलियो पाटो परोपकार र दयालुता हो । चिकित्सा पेसामा रहँदा उनले देखेका थुप्रै पात्र र घटनाहरूलाई यहाँ साक्ष्यका रूपमा प्रस्तुत गरेका छन् । उनी लेख्छन्, ‘परोपकार अरूलाई गरिने उपकार मात्र होइन, यो त आफ्नो आत्मालाई दिइने शान्ति हो ।’ त्यही भावनाले ओतप्रोत भएका कारण डा. केसीले आफन्तको यौन दुर्व्यवहारमा परेकी बालिकालाई पीडाको कथा भन्न सहज वातावरण दिलाएका हुन् र आफ्ना प्राध्यापकको पनि स्याबासी बटुलेका हुन् ।

पुस्तकमा दयालुतालाई एउटा शक्तिको रूपमा व्याख्या गरिएको छ । आजको प्रतिस्पर्धात्मक संसारमा दयालाई कमजोरी मानिन्छ । तर डा. केसीले दयालाई नै मानिसको सबैभन्दा ठूलो पुँजी प्रमाणित गर्ने प्रयास गरेका छन् । हामीले कसैप्रति दयाभाव राख्दा हाम्रो शरीरमा सकारात्मक हर्मोनहरू उत्सर्जन हुन्छन् । तिनले स्वयंलाई नै स्वस्थ बनाउँछ । यसरी दयालुता र परोपकारलाई उनले विज्ञानसँग जोडेर प्रस्तुत गरेका छन् ।

त्यो दयालुता मानवप्राणीप्रति मात्र लक्षित हुँदैन । त्यसले त सम्पूर्ण प्राणीलाई समेट्छ । लागूऔषध दुर्व्यसनीको आक्रमणमा परेर मस्तिष्कमा गहिरो चोटका साथ मानसिक स्वास्थ्य समस्यालाई झेल्दै औषधिमा आश्रित जिन्दगी बिताइरहेका ‘नवराज भेडा’ नामक पात्रले पशुहरूको स्याहारमा जीवन बिताउने निश्चय गरेर थालेको उद्धारकार्यले दयालुताको अनुपम उदाहरण प्रस्तुत गरेको छ । सुर्खेतमा बिजुलीको तारमा अड्किएर दुवै पखेटा र एउटा आँखामा चोट लागेको गिद्धलाई उद्धार गरी नवराजले चितवनको जटायु रेस्टुराँ पुर्याएको वर्णन मर्मस्पर्शी छ ।

‘स्वस्पर्श’ को मुटु भनेकै बौद्ध दर्शनमा आधारित मेत्ता (मैत्री) र करुणाको अवधारणा हो । डा. केसीले बुद्धका यी प्राचीन शिक्षाहरूलाई आधुनिक चिकित्सा र मनोविज्ञानको कसीमा राखेर व्याख्या गरेका छन् । मेत्ता भनेको अरूको भलो सोच्नु मात्र होइन, यो त आफ्नै अस्तित्वप्रति मित्रवत् हुनु पनि हो ।

हामी प्रायः आफैंप्रति धेरै कठोर हुन्छौं । पुस्तकको सन्देश छ— पहिले आफूलाई माया गर, त्यसपछि मात्र तिम्रो करुणाले अरूलाई छुन सक्छ । करुणाको सन्दर्भमा लेखकले कसैको दुःख देखेर दुःखी हुनु मात्र करुणा होइन, त्यो दुःख निवारणका लागि सक्रिय हुनु वास्तविक करुणा हो भन्ने कुरामा जोड दिएका छन् ।

सरल र मर्मस्पर्शी भाषाको उपयोग डा. केसीको विशेषता हो । उनको भाषामा एक किसिमको जादु छ । कतिपय वाक्यहरू पाठकको मुटुमा सुइरो पसेझैं अनुभूत हुन्छन् । डा. केसीले प्रस्तुत गरेका पात्रको पीडा पढ्दै जाँदा कुन बेला पाठक भावविभोर हुन्छ, पत्तै हुँदैन । बिजुलीको झड्का लागेकाले हात गुमाउन बाध्य भएका मन्दिरे नामक पात्रले स्थानीय भाषिकामा भनेको कुरालाई उदाहरणका रूपमा हेरौं । “हात काट्यो, मैले वर्षौं त्यै हराएको हात र औंला खोजिरहें । वर्षौंपछि पो पत्तो भो, मसँग अर्को हात रै’छ, दुई खुट्टा नि रै’छन् । जिब्रो, अनुहार, हाँसो– सप्पै बाँकी रै’छ । … जिन्दगीमा जे पो होस्, मुन्टो उतै फर्काउनू, जता उज्यालो हुन्छ क्या !”

डा. केसीले कठिन दार्शनिक र वैज्ञानिक तथ्यलाई सरल भाषामा पेश गरेकाले सामान्य पाठकले पनि त्यसलाई सजिलै आत्मसात गर्न सक्छ । पुस्तकमा वैज्ञानिक र दार्शनिक सिद्धान्तसँगै लेखकका आफ्नै भोगाइ र चिकित्सा क्षेत्रका वास्तविक कथाहरू समेटिएका छन् । आफूले संगत गरेका पात्रले बताएका सरल कुरामा भेटिने दार्शनिकतालाई इमान्दारीका साथ प्रस्तुत गर्ने डा. केसीले मनोविज्ञान र दर्शनमा भएका कुरालाई पात्रको कथानकसँगै घोलिदिँदा पुस्तक विश्वसनीय र जीवन्त बनेको छ ।

पाठकको मनमा सकारात्मक ऊर्जा सञ्चार गराउन सक्नु यस पुस्तकको सबल पक्ष हो । पुस्तक पढ्दै जाँदा पाठकले एक प्रकारको हीलिङ अनुभव गर्छ । चरम निराशामा रहेर आत्महत्यासम्मको सोच पलाएका व्यक्तिलाई खराब निर्णय लिनबाट जोगाएका विभिन्न उदाहरण पेश गरेका डा. केसीले पुस्तकमार्फत पाठकहरूलाई आशाको किरण देखाएका छन् र जीवनको अर्थ खोज्न प्रेरित गरेका छन् । लेखकको आफ्नै अनुभवको चास्नीमा डुबाएर नेपाली परिवेश, संस्कृति र मनोविज्ञानलाई पेस गर्ने यस मौलिक पुस्तकले पाठकलाई आनन्दित तुल्याउँछ ।

पुस्तकमा व्यक्तिको मात्र नभई समाजको मनोविज्ञानलाई पनि राम्रोसँग उधिनेको छ । नेपाली समाजमा, विशेषगरी लेखकको कर्मथलोका रूपमा रहेको कर्णाली क्षेत्रमा, विद्यमान जातीय विभेदले दलितहरूको मनोविज्ञानमा पारेको गहिरो असरलाई पुस्तकले नन–जजमेन्टल तरिकाले प्रस्तुत गरेको छ ।

जातीय विभेदको चुनौतीको सामना गर्दै पीडित समुदायका बालबालिकाको परोपकारमा खटिएकी अस्मिता वादीको कथाले सबैलाई प्रेरणा दिन्छ । त्यसैगरी, कर्णालीको बहुआयामिक गरिबीका कारण पीडित भएका व्यक्तिहरूको प्रतिनिधित्व गर्ने कुपोषित बालक जङ्गबहादुरको कथाले पनि सामाजिक मनोविज्ञानको करुण तस्बिर पेश गरेको छ ।

डा. केसीको लेखनशैली निकै भावुकतापूर्ण छ । कतिपय तर्कप्रधान वा तथ्यमा मात्र विश्वास गर्ने पाठकहरूका लागि यो शैली अलि बढी आदर्शवादी वा ‘सफ्ट’ लाग्न सक्छ ।

जे होस्, ‘स्वस्पर्श’ फगत एउटा पुस्तक मात्र होइन । यो त डा. नवराज केसीले समाजलाई दिएको एउटा प्रेस्क्रिप्सन हो । रोग निको पार्न भन्दा पनि रोगी हुन नदिन र स्वस्थ मन लिएर बाँच्नका लागि यो प्रेस्क्रिप्सन हो ।

आजको प्रतिस्पर्धात्मक जिन्दगीमा हामीले धेरै थोक कमायौं होला । तर, कतै हामीले आफैंलाई त गुमाएका छैनौं ? तपाईंको मनमा पनि यस्तो प्रश्न उब्जिन्छ भने ‘स्वस्पर्श’ तपाईंले पढ्नैपर्ने पुस्तक हो । बुद्धको करुणालाई आधुनिक जीवनशैलीमा कसरी ढाल्ने र कसरी आफूभित्रको प्रकाशले संसारलाई उज्यालो बनाउने भन्ने कुरा यस पुस्तकले सिकाउँछ ।

‘स्वस्पर्श’ को सन्देश स्पष्ट छ । संसार बदल्नुअघि आफैंलाई चिन, आफैंलाई माया गर र आफैंलाई स्पर्श गर ।

डा. केसीले ‘शून्यको मूल्य’ बाट सुरु गरेको मानवीय संवेदनाको यात्रा ‘स्वस्पर्श’ सम्म आइपुग्दा अझ परिपक्व र दार्शनिक बनेको छ । नेपाली साहित्यमा गैरआख्यान विधाभित्र यो एक अत्यन्तै आवश्यक र सान्दर्भिक कृति हो ।