
एजेन्सी । इरानमा विगत १० दिनभन्दा बढी समयदेखि दर्जनौं शहरमा विरोध प्रदर्शन भइरहेका छन् । सेप्टेम्बर २०२२ मा सुरु भएर देशलाई हल्लाएको महिला, जीवन, स्वतन्त्रता आन्दोलन पछिको यो सबैभन्दा ठूलो प्रदर्शन हो ।
यसपटकको प्रदर्शन मुद्रा अवमूल्यनका कारण सुरु भएको थियो । त्यसले बजारका व्यापारीहरूलाई थप दबाब दियो । उनीहरू सडकमा आएपछि विद्यार्थी र युवाहरूले पछ्याए । युवाहरू सामान्यतया सर्वत्र तिरस्कृत शासनको विरोध गर्ने कुनै पनि अवसर छोड्दैनन् ।
त्यसबेलादेखि विरोध प्रदर्शनहरू प्रान्तीय सहरहरूमा, विशेषगरी देशको सीमावर्ती क्षेत्रका जातीय अल्पसंख्यक शहरहरूमा, फैलिएका छन् । ठूला शहरहरूमा पनि आन्दोलनले गति लिन थालेका छन् ।
सन् १९९९ देखि इरान सरकार विरोध प्रदर्शनको लहरले हल्लिँदै आएको छ । बढी राजनीतिक स्वतन्त्रताका साथै देशको आर्थिक गतिहीनता र अन्तर्राष्ट्रिय एक्लोपनको अन्त्य गर्न मागहरू उठेका छन् । वर्षौंदेखि विरोध प्रदर्शनहरू झन् झन् उग्र बन्दै गएका छन् । राजनीतिक प्रणालीको सुधारका लागि गरिएका आह्वानहरू अहिले इस्लामिक शासनको पतनको मागमा परिणत भएका छन् ।
इरानको अहिलेसम्मकै सबैभन्दा ठूलो विरोध प्रदर्शन सन् २००९ मा भएको हो । त्यतिखेर राष्ट्रपति महमुद अहमदिनेजादको विवादास्पद पुनः निर्वाचनपछि जनप्रदर्शन भएको थियो । त्यसले ठूला शहरहरूमा लाखौं मानिसलाई आकर्षित गरेको थियो । तिनीहरूलाई राजनीतिक र धार्मिक अभिजात वर्गका प्रमुख गुटहरूको आशीर्वाद पनि प्राप्त थियो ।
त्यस प्रदर्शनले शासनका लागि त्यतिखेर सम्मकै सबैभन्दा ठूलो खतरा तेर्स्याएको थियो । ती विरोध प्रदर्शन महिनौंसम्म चले र हजारौंलाई पक्राउ गरियो । त्यसले इस्लामिक शासनलाई पछिल्ला विरोध प्रदर्शनहरूको सामना गर्न र अन्ततः दबाउनका लागि आफ्नो दमनकारी संयन्त्रलाई सुधार्न मद्दत गरेको छ ।
तेहरानको इस्लामिक शासन संसारकै सबैभन्दा खराब सरकारहरूमध्ये एक हो । सोभियत स्तरको वैचारिक कट्टरता, उत्तर कोरिया स्तरको दमन, प्रशासनिक अक्षमता र घोर भ्रष्टाचार यसको विशेषता हो । इरानीहरू यसभन्दा राम्रो शासनको हकदार छन् र उनीहरूलाई यो कुरा थाहा छ ।
चुनावले सीमित विकल्पहरू प्रदान गर्छ । सर्वोच्च नेता आयातोल्लाह अली खमेनी र देशमा शासन गर्ने स्थायी सुरक्षा संयन्त्रको तुलनामा अत्यन्तै कम शक्ति हुन्छ । त्यसैले इरानीहरूसँग विरोध प्रदर्शन बाहेक राजनीतिक मागहरू व्यक्त गर्ने एकदमै थोरै माध्यमहरू छन् र शासनसत्तालाई यो कुरा थाहा छ ।
देशका शासकहरू जनप्रदर्शनको लहरबाट सत्तामा आएका थिए । उनीहरूले शाह मोहम्मद रेजा पहलवीको शासनलाई उखालेर फालेका थिए । आफूले पनि त्यस्तै नियति भोग्न नपरोस् भन्ने सुनिश्चित गर्न उनीहरूले पछिल्लो ४७ वर्ष बिताएका छन् । उनीहरूले आन्तरिक शासन परिवर्तनको कुनै पनि प्रयासलाई निस्तेज पार्ने रणनीतिहरू बनाउन वर्षौं बिताएका छन् । तिनीहरू यसमा निकै सिपालु भएका छन् ।

अल्जेरिया र अन्य लथालिंग हाइब्रिड गणतन्त्रहरू जस्तै इरानी शासनले पनि सुरक्षा भल्भका रूपमा निश्चित मात्रामा विरोध प्रदर्शन गर्न अनुमति दिन्छ । विरोध प्रदर्शनहरू समस्या सिर्जना गर्नेहरूलाई पहिचान गर्ने प्रभावकारी तरिका पनि हो । प्रहरीले विरोध प्रदर्शनको रेकर्ड राख्छ । उनीहरूले नाराबाजीको नेतृत्व गर्ने र अन्य प्रदर्शनकारीहरूलाई मार्गदर्शन गर्नेहरूलाई पहिचान गर्छन् । उदाउँदो नेताहरूलाई समात्न उनीहरूले बिहानीको झिसमिसेमा गुप्तचर अधिकारीहरू पठाउँछन् ।
उनीहरूलाई महिनौं र वर्षौंसम्म जेलको सजाय सुनाइन्छ । त्यहाँ उनीहरू मानसिक यातना र शारीरिक दबाबको शिकार बन्छन् । उनीहरूलाई रिहा गरेपछि पनि निरन्तर निगरानीमा राखिन्छ ।
संगठन र नेतृत्वको अभावमा इरानी विरोध प्रदर्शनहरू प्रायः महत्त्वपूर्ण राजनीतिक परिवर्तन ल्याउन असफल हुन्छन् । तर, इरानको सडक कारबाहीको लहरले परिवर्तनलाई अघि बढाउन सक्छ । सन् २००९ को विद्रोहले खमेनीलाई चुनावको नतिजामा निर्लज्जतापूर्वक छेडछाड नगर्न सम्भवतः विश्वस्त तुल्यायो । महिला, जीवन, स्वतन्त्रता मार्चले स्पष्ट सांस्कृतिक परिवर्तन ल्यायो र महिलाहरूमाथि ड्रेस कोड कार्यान्वयनको नीतिलाई खुकुलो बनायो ।
तर सन् २००९ मा भएको बाहेक इरानका अन्य विरोध प्रदर्शनहरूले ठोस राजनीतिक परिवर्तनको लागि कुनै सम्भावित मार्गचित्र प्रस्ताव गरेका छैनन् । इरानीहरूले यो कुरा महसुस गरेको जस्तो देखिन्छ । ठूला सहरहरूमा प्रदर्शनकारीहरूको संख्या हालसम्म धेरै हदसम्म कुर्दिश सीमावर्ती क्षेत्रको अब्दनान जस्ता प्रान्तीय शहरहरूमा जम्मा हुने भीडसँग मेल खान सकेको छैन ।
विरोध प्रदर्शन आफैंमा धेरैजसो इरानीहरूका लागि डरलाग्दो कुरा भएको सत्य हो । उनीहरूले मानिसलाई सडकमा लडिरहेको देख्छन् । विदेशी नेताहरूले आफ्नो देशलाई बमवर्षाको धम्की दिएको उनीहरूले सुन्छन् । सामान्य मानिसहरू जस्तै उनीहरू भीडबाट टाढा रहन्छन् । त्यसले गर्दा विरोध प्रदर्शनले प्रभावकारी हुन आवश्यक पर्ने व्यापक जनसहभागिता पाउन सक्दैन । उनीहरू घरमै बस्छन् किनभने स्वतन्त्रता भन्दा पनि धेरैजसो इरानीहरू नज्म भनिने सुव्यवस्थालाई महत्त्व दिन्छन् । शासनको पतन वा विदेशी हस्तक्षेपले उनीहरूको आर्थिक अवस्था झन् खराब बनाउन सक्छ र उनीहरूको सुरक्षालाई खतरामा पार्न सक्छ भन्ने कुरा इरानीहरूले महसुस गरेका छन् ।
इस्लामिक गणतन्त्र इतिहासको फोहोरको टोकरीमा फालिन योग्य छ । तर, यसलाई हटाउन कुनै सहज संक्रमण नहुने कठोर वास्तविकता हो । कुनै पनि शासन परिवर्तन सम्भवतः हिंसात्मक, लामो अवधिसम्म चल्ने र विनाशकारी हुनेछ ।
इरान बारुदको थुप्रो हो । त्यहाँ मध्यपूर्वका छिमेकीहरू जत्तिकै वा सोभन्दा बढी जातीय, धार्मिक, वर्गीय र क्षेत्रीय विभाजनहरू छन् । यो साना हतियार र अनिवार्य सैनिक सेवाको समयमा ती हतियार प्रयोग गर्न तालिम प्राप्त युवाहरूले भरिएको छ । यो सजिलै विस्फोट वा पतन हुन सक्छ ।
इस्लामिक शासन घेराबन्दीमा परेको छ र खतरनाक छ । खमेनी संकटमा छन् र उनलाई यो कुरा थाहा छ । देशको रणनीतिक स्थिति र निवारक क्षमताहरू गत गर्मीयाममा अमेरिकी र इजरायली हवाई आक्रमणहरूले कमजोर बनाएका छन् । त्यस युद्धले रुस र चीनसँग इरानले बनाएको गठबन्धनको प्रभावहीनतालाई पनि उजागर गरेको छ ।
इरानको अर्थतन्त्र धराशायी हुँदैछ र पूर्वतर्फ ढल्किने उसको रणनीति पूर्ण रूपमा असफल भएको छ । पद छोड्ने र संक्रमणकालीन निकायलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्नु खमेनीका लागि सबैभन्दा राम्रो कुरा हुनेछ । तर, अहिलेसम्मका लागि त्यो एक कल्पना मात्र हो । बरू इस्लामी शासनले स्वदेशमा हिंसात्मक दमनलाई दोब्बर बनाउने र विदेशमा आफ्नो निवारक क्षमताहरू पुनर्निर्माण गर्न खोज्ने सम्भावना बढी छ ।
आफूहरूसँग कुनै विकल्प नरहेको उनीहरू विश्वास गर्छन् । शासनका केही समर्थकहरूको टोरन्टोमा दोस्रो घर हुन सक्छ तर धार्मिक र सुरक्षा संयन्त्रको मुख्य हिस्सा साँचो आस्थावानहरूले बनेको छ । उनीहरूको विदेश भाग्ने कुनै इच्छा वा क्षमता समेत छैन । उनीहरू सत्तामा रहनका लागि लड्नेछन् र थुप्रो मान्छे मार्नेछन् ।
शासनसँग दमन र मनोवैज्ञानिक युद्धका असाधारण औजारहरू छन् । तीमध्ये धेरैजसो उसले प्रदर्शनकारीहरू विरुद्ध प्रयोग गर्न बाँकी नै छ । उदाहरणका लागि, उसले रिभोलुसनरी गार्ड र सशस्त्र बलका वर्दीधारी सिपाहीहरूलाई परिचालन गर्न बाँकी छ । आफ्नो आत्मविश्वासको संकेतको रूपमा उसले विगतमा जस्तै इन्टरनेट पूर्ण रूपमा बन्द समेत गरेको छैन ।
यस परिस्थितिमा रेजा पहलवीले इरानलाई बचाउन सक्दैनन् । पदच्युत शाहका छोरा संक्रमणकालीन शासन चलाउने व्यक्तित्वको रूपमा उभिन सक्दैनन् । उनले त्यसो गर्ने प्रयास गरेछन् भने इरान र उनैका लागि सम्भवतः एक विपत्ति हुनेछ । उनी प्रभावहीन र बौद्धिक रूपमा कमजोर व्यक्ति हुन् भन्ने मात्र कुरा होइन । उनी नाम मात्रका इरानी हुन् । उनी आफ्नो ६६ वर्ष उमेरमध्ये झण्डै ५० वर्ष अमेरिकामा बसेका छन् र आफ्नो निर्वासनका वर्षहरूमा उनले थोरै मात्र उपलब्धि हासिल गरेका छन् ।
यसैबीच इरान इस्लामी क्रान्तिपूर्वको युगभन्दा चिन्नै नसकिने भएको छ । यो पछिल्लो २० वर्षमा नाटकीय रूपमा परिवर्तन भएको छ । देशका केही भागहरू कानूनविहीन छन् । ती क्षेत्रहरू टर्की भन्दा पनि यमनको नजिक छन् । जातीय तनाव कायम छ । आर्थिक असमानता व्याप्त छ । पहलवी एक यस्तो व्यक्ति हुन् जसले विदेशमा एक सुसंगत विपक्षी आन्दोलन त मुस्किलले चलाउन सकिरहेका छन् भने इराक र अफगानिस्तानको बीचमा रहेको अस्थिर, जातीय र धार्मिक रूपमा विविधतापूर्ण देशको रेखदेख गर्ने त टाढाको कुरा हो ।

अमेरिका, युरोप र अन्यले विरोध प्रदर्शनलाई समर्थन गर्न थप पहल गर्नुपर्ने माग गर्ने विदेशमा रहेका इरानी र स्वघोषित विज्ञहरूलाई विश्वास गर्न सकिन्न । उनीहरूले मद्दत गर्न सक्ने केही छैन । अमेरिका मध्यपूर्व र इरानका लागि अझै पनि विषाक्त छ । विशेषगरी, इराक र अरब स्प्रिङमा यसको रेकर्ड र गाजाका जनतामाथिको लामो आक्रमणको समयमा इजरायललाई गरेको समर्थनको कारण अमेरिकाको छवि धमिलिएको छ ।
विरोध प्रदर्शनको समर्थनमा गरिने कुनै पनि सैन्य कारबाहीले सम्भवतः उल्टो परिणाम दिनेछ । इजरायल र खाडी मुलुकहरूले गरेको मानवअधिकार उल्लंघनमा पश्चिमको मौनतालाई हेर्दा इरानमा मानवअधिकारका लागि पश्चिमी समर्थन पनि पाखण्डी देखिन्छ ।
सामान्य मानिसले प्रदर्शनकारीहरूलाई समर्थन गर्नु हुँदैन र उनीहरूका सन्देशहरूलाई बढावा दिनु हुँदैन भन्ने अर्थ लगाउन मिल्दैन । इरानी प्रदर्शनकारीहरूको बहादुरीले सकारात्मक परिवर्तन ल्याउनेछ । वर्तमान विरोध प्रदर्शनहरूसँग जुध्न सरकारले फरक रणनीति अपनाइरहेको संकेतहरू देखिइसकेका छन् । उसले कतिपय अवस्थामा जायज गुनासोको अभिव्यक्तिको रूपमा स्वीकार पनि गरेको छ ।
तर, उनीहरूले शासनसत्ता परिवर्तनको लक्ष्यमा पुर्याउने निष्कर्षमा पुग्न गाह्रै छ । इरानीहरू अराजकतासँग तर्सिन्छन् । मध्यपूर्वका धेरै देशहरूलाई विनाशकारी राजनीतिक परिवर्तनको परिणामस्वरूप विपत्ति र निरन्तरको पीडामा फसेको इरानीहरूले देखेका छन् । इरानी प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्र नचाहेको भए पनि सिरियाली, इराकी, लिबियाली, अफगानी र यस क्षेत्रका अन्य धेरैले भोगेको जस्तो दुःख भोगेको पनि देख्न चाहँदैनन् ।








प्रतिक्रिया