पिकनिकबाट फर्कदै गरेको बस जहरसिंह पौवामा दुर्घटना, २२ जना घाइते


काठमाडौं । पिकनिकबाट फर्कदै गरेको बस जहरसिंह पौवामा दुर्घटनामा परेको छ । दुर्घटनामा परि २२ जना घाइने भएका छन । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा दुर्घटनामा परेको बस पिकनिक गएर फर्कंदै गरेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । सडकबाट बस सय मिटर तल खसेर रुखमा अड्किएको थियो । उक्त बसका यात्रुलाई दुर्घटना परेलगत्तै प्रहरी टोलिले उद्धार शुरु गरेको छ ।

बसमा ३५ देखि ४० जना सवार थिए । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको पनि उनले बताए ।

दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई विभिन्न अस्पतालमा पुर्‍याएको छ । साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेल लगायतका अस्पतालमा घाइतेको उपचार भइरहेको उनले बताए ।

घाइतेमध्ये २ जना गम्भीर रहेका छन् भने अन्यको अवस्था सामान्य छ ।