
एजेन्सी । निकोलस मदुरो सत्ताच्युत भएपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई अमेरिकी मागहरू पूरा गर्न र व्यवस्था कायम राख्नका लागि मद्दत नगरेमा अमेरिकाको हिटलिस्टमा शीर्ष स्थानमा पर्न सक्ने भनी डोनल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका कट्टरपन्थी गृहमन्त्रीलाई चेतावनी दिएको छ ।
व्यापक मानवअधिकार उल्लंघनको आरोप लागेका सुरक्षा बलहरूलाई नियन्त्रण गर्ने गृहमन्त्री डियोसडाडो काबेलो मदुरोका वफादारहरूमध्ये एक हुन् । उनलाई राष्ट्रपति डोनल्ड ट्रम्पले संक्रमणकालीन अवधिमा स्थिरता कायम राख्न अस्थायी शासकको रूपमा भरोसा गर्ने निर्णय गरेका छन् ।
अमेरिकी अधिकारीहरू विशेषगरी काबेलोको दमनको रेकर्ड र रोड्रिगेजसँगको प्रतिद्वन्द्वी इतिहासलाई हेर्दा उनले खेल बिगार्न सक्नेमा चिन्तित छन् । उनीहरूले उनलाई भविष्यमा सत्ताबाट बाहिर निकालेर निर्वासनमा पठाउने उपाय खोजिरहेका छन् । हाललाई भने उनलाई सहयोग गर्न अमेरिकीहरूले बाध्य पारिरहेका छन् ।
यसैबीच उनीहरूले मध्यस्थकर्तामार्फत काबेलोलाई सन्देश पठाएर उनले अवज्ञा गरेमा मदुरोको जस्तै नियति भोग्नुपर्ने बताएका छन् ।
तर, काबेलोलाई हटाउनु जोखिमपूर्ण हुन सक्छ । यसले सम्भावित रूपमा सरकार समर्थक मोटरसाइकल समूहहरू कोलेक्टिभोसलाई सडकमा आउन प्रेरित गर्न सक्छ । त्यसबाट वाशिङटनले नचाहेको अराजकता निम्त्याउन सक्छ । तर, उनीहरूको प्रतिक्रिया अन्य अधिकारीहरूबाट आफू सुरक्षित महसुस गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर हुन सक्छ ।
सम्भावित निशानाको सूचीमा रक्षामन्त्री भ्लादिमिर पाड्रिनो पनि छन् । उनी काबेलो जस्तै अमेरिकी लागूऔषध ओसारपसारको अभियोगमा परेका छन् र उनको टाउकोको मूल्य लाखौं डलर तोकिएको छ ।
सशस्त्र बलहरूमा उनको कमान्डका कारण सत्ताको शून्यता टार्न अमेरिकी अधिकारीहरूले पाड्रिनोको सहयोगलाई महत्त्वपूर्ण मान्छन् । प्रशासनको सोचबारे जानकारी पाएका स्रोतका अनुसार, उनीहरू पाड्रिनो काबेलोभन्दा कम कट्टरपन्थी भएको र आफ्नो सुरक्षित बहिर्गमन खोज्दै अमेरिकी लाइनलाई पछ्याउने सम्भावना बढी रहेको विश्वास गर्छन् ।
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले भेनेजुएलामा बाँकी रहेका तत्त्वहरूमाथि अधिकतम प्रभाव उपयोग गर्ने र उनीहरूले अवैध आप्रवासन रोक्न, लागूऔषध प्रवाह बन्द गर्न, तेलको पूर्वाधारलाई पुनर्जीवित गर्न र भेनेजुएलाका जनताका लागि जे सही छ त्यो गरेर अमेरिकालाई सहयोग गर्ने कुरा सुनिश्चित गरिरहेको बताए ।
ट्रम्पले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिलाउन र अमेरिकी सेनालाई जमिनमा उतार्न नपरोस् भन्नका लागि पर्याप्त शान्ति चाहेका बेला नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचादोको नेतृत्वमा रहेको भेनेजुएलाको विपक्षी दलले शान्ति कायम राख्न नसक्ने निर्णय प्रशासनले गरेको छ ।
यसको साटो ट्रम्पले सीआईएको गोप्य मूल्यांकनलाई स्वीकार गर्दै मदुरोका शीर्ष सहयोगीहरू नै अन्तरिम आधारमा देश चलाउनका लागि सबैभन्दा उपयुक्त स्थितिमा हुने निष्कर्ष निकालेका छन् ।
अमेरिकी अधिकारीहरूले अहिलेका लागि मदुरोका सहयोगीहरूसँग काम गर्ने निर्णय गरेका छन् किनभने उनीहरूले प्रजातान्त्रिक सत्ता हस्तान्तरणका लागि दबाब दिएमा देश अराजकतामा जान सक्ने र भित्री घेराबाट बाहिरिएको कुनै सदस्यले विद्रोह निम्त्याउन सक्ने चिन्ता छ ।
तर, ट्रम्प प्रशासन अन्ततः नयाँ निर्वाचनतर्फ अघि बढ्न चाहन्छ यद्यपि यसको समयसीमा अझै अनिश्चित छ ।
सन् १९८९ को पनामा आक्रमणपछि ल्याटिन अमेरिकामा भएको यो सबैभन्दा ठूलो अमेरिकी हस्तक्षेपपछि वाशिङटनले भेनेजुएलाको रेखदेख कसरी गर्नेछ भन्नेबारे ट्रम्पले कुनै स्पष्ट धारणा राखेका छैनन् । आलोचकहरूले यसलाई नव–औपनिवेशिकता र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भन्दै निन्दा गरेका छन् ।
हालका लागि वाशिङटनले रोड्रिगेजलाई नै अस्थायी रूपमा सत्ता सम्हाल्नका लागि सबैभन्दा राम्रो विकल्प मानेको छ । तर, उसले मदुरोपछि भेनेजुएलाको शासन गर्ने योजनाहरू विकास गरिरहेको छ । यस रणनीतिलाई अझै पनि धेरै हदसम्म निर्माणाधीन प्रक्रिया मानिएको छ ।
भेनेजुएलाका नेताहरूका लागि अमेरिकी मागहरूमा अमेरिकी कम्पनीहरूका लागि अनुकूल शर्तहरूमा भेनेजुएलाको तेल उद्योग खोल्ने इच्छा प्रदर्शन गर्ने, नार्कोटिक्स (लागूऔषध) व्यापारमा कडा कारबाही गर्ने, क्युबाली सुरक्षाकर्मीहरूलाई देश निकाला गर्ने र इरानसँग भेनेजुएलाको सहयोग अन्त्य गर्ने कुराहरू समावेश छन् ।
अमेरिका केही हप्ताभित्रै आफ्ना उद्देश्यहरू पूरा गर्ने दिशामा प्रगति भएको देख्न चाहन्छ । थप सैन्य कारबाहीको धम्कीबाहेक अमेरिकाले रोड्रिगेजको आर्थिक अवस्थालाई पनि प्रभावको रूपमा प्रयोग गर्न सक्छ । अमेरिकाले कतारमा लुकाइएका सम्पत्तिहरूको पहिचान गरेको छ र तिनलाई जफत गर्न सक्छ ।
अमेरिकी अधिकारी र उनीहरूका मध्यस्थकर्ताले अन्य वरिष्ठ भेनेजुएलाली अधिकारी र उनीहरूभन्दा मुनिका तहका व्यक्तिलाई पनि आफ्नो पक्षमा मिलाउन खोजिरहेका छन् । त्यसो गर्दा वाशिङटनको हित स्वीकार गर्ने सरकारका लागि बाटो खुल्नेछ ।
भेनेजुएला चलाउने ट्रम्पको प्रतिज्ञा अहिलेका लागि अमेरिकी स्थलसेना परिचालन नगरी ओपेक राष्ट्रमाथि बाहिरी नियन्त्रण वा कम्तीमा भारी प्रभाव कायम गर्ने आकांक्षा जस्तो देखिन्छ । यो सेना परिचालनको कदम स्वदेशमा अलोकप्रिय हुनेछ ।
अमेरिकी रणनीतिको बारेमा जानकारी पाएका व्यक्तिहरूका अनुसार, ट्रम्पका सल्लाहकारहरूले रोड्रिगेजलाई मुख्य आधार मान्छन् । उनीसँग अमेरिकीहरू संक्रमण र तेलसम्बन्धी मुद्दाहरूमा अमेरिकासँग मिलेर काम गर्न इच्छुक रहेको विश्वास गर्छन् ।
तर, उनले र मदुरोका अन्य शीर्ष वफादारहरूले धेरै हदसम्म एकजुट मोर्चा देखाएका छन् । त्यो कायम रहन्छ वा रहँदैन भन्ने स्पष्ट छैन ।
रोड्रिगेज र काबेलो दुवैले वर्षौंदेखि सरकार, व्यवस्थापिका र सत्तारूढ समाजवादी पार्टीको केन्द्रमा रहेर काम गरेका छन् तर उनीहरूलाई कहिल्यै नजिकका सहयोगी मानिएको छैन ।
मदुरो सरकारभित्र दमनका मुख्य कार्यान्वयनकर्ता मानिने पूर्व सैन्य अधिकारी काबेलोले देशको सैन्य र नागरिक प्रतिगुप्तचरी निकायहरूमाथि प्रभाव राख्छन् । तिनले व्यापक रूपमा आन्तरिक जासुसी गर्छन् ।
एटलान्टिक काउन्सिल थिंकट्यांकका गैर–आवासीय वरिष्ठ फेलो जेफ राम्सेले भने, ‘धाँधलीपूर्ण चुनावको परिणामपछि मानिसहरूलाई दमन गर्न मदुरोले उनलाई ल्याएका थिए ।’
संयुक्त राष्ट्र संघले नागरिक निकाय सेबिन र सैन्य गुप्तचरी निकाय डीजीसीआईएम दुवैले असहमतिलाई कुल्चनका लागि राज्यको योजनाको रूपमा मानवताविरुद्धको अपराध गरेको फेला पारेको थियो ।








प्रतिक्रिया