मदुरोको शासनकालमा भेनेजुएलाले ५ अर्ब डलरभन्दा बढीको सुन स्विट्जरल्यान्ड पुर्याएको दाबी


एजेन्सी । भेनेजुएलाको भन्सार विभागको तथ्यांकअनुसार, पदच्युत गरिएका राष्ट्रपति निकोलस मदुरोको शासनकालको सुरुवाती वर्षहरूमा देशले करिब ५.२० अर्ब डलर बराबरको सुन स्विट्जरल्यान्ड पठाएको थियो ।

रोयटर्सले समीक्षा गरेको तथ्यांकअनुसार, मदुरोले पदभार ग्रहण गरेको समय सन् २०१३ देखि सन् २०१६ सम्ममा भेनेजुएलाले ११३ मेट्रिक टन बहुमूल्य धातु स्विट्जरल्यान्ड पठाएको थियो ।

स्विस ब्रोडकास्टर एसआरएफका अनुसार, सरकारले आफ्नो अर्थतन्त्र धान्नका लागि सुन बेचिरहेको समयमा उक्त सुन भेनेजुएलाको केन्द्रीय बैंकबाट आएको थियो ।

भन्सार तथ्यांकले देखाएअनुसार, सन् २०१७ मा युरोपेली संघले प्रतिबन्ध लगाएपछि सन् २०१७ देखि सन् २०२५ सम्म भेनेजुएलाबाट स्विट्जरल्यान्डमा सुनको कुनै निर्यात भएन ।

मदुरोलाई जनवरी ३ मा काराकासमा भएको छापाका क्रममा अमेरिकी विशेष बलले नियन्त्रणमा लिएको थियो र उनले लागूऔषध ओसारपसार र नार्को–आतंकवाद लगायतका आरोपमा न्युयोर्कको अदालतमा मुद्दा खेपिरहेका छन् ।

सोमबार स्विट्जरल्यान्डले मदुरो र उनका ३६ सहयोगीहरूको देशमा रहेको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ । तर, त्यस्तो कोषको सम्भावित मूल्य वा स्रोतबारे कुनै जानकारी दिएको छैन ।

त्यस्ता सम्पत्ति र केन्द्रीय बैंकबाट पठाइएको सुनबीच कुनै सम्बन्ध छ कि छैन भन्ने कुरा अज्ञात छ ।

भेनेजुएलाको सञ्चितिको उक्त सुन प्रशोधन, प्रमाणीकरण र थप ढुवानीका लागि स्विट्जरल्यान्ड पठाइएको हुन सक्ने एसआरएफले जनाएको छ ।

स्विट्जरल्यान्ड सुन प्रशोधनका लागि विश्वकै ठूला केन्द्रहरूमध्ये एक हो । त्यहाँ पाँचवटा ठूला रिफाइनरीहरू रहेका छन् ।

भेनेजुएलाको केन्द्रीय बैंकले अमेरिकी प्रतिबन्धहरूको सामना गर्न, अर्थतन्त्रलाई टेवा दिन र विदेशी मुद्रा जुटाउन आफ्नो सुनको भण्डार बेचेको छ ।

स्टोनएक्सकी बजार विश्लेषक रोना ओ’कोनेलका अनुसार, सन् २०१२ देखि २०१६ सम्म भेनेजुएलाको केन्द्रीय बैंकले संकटपूर्ण अवस्थामा ठूलो मात्रामा सुन बिक्री गरेको थियो । यसको ठूलो हिस्सा स्विट्जरल्यान्ड आएको हुनुपर्छ ।

‘त्यसपछि यो वित्तीय क्षेत्रका साझेदारहरूसँगै रहेको हुन सक्छ वा साना बिस्कुटका रूपमा एसिया वा विश्वका अन्य ठाउँमा बेचिएको हुन सक्छ,’ उनले थपिन् ।

सन् २०१७ मा मानवअधिकार उल्लंघन वा लोकतन्त्रलाई कमजोर पारेको आरोप लागेका भेनेजुएलाका विभिन्न व्यक्तिहरूमाथि युरोपेली संघले प्रतिबन्ध लगाएपछि स्विट्जरल्यान्डमा हुने सुनको निर्यात शून्यमा झरेको थियो । स्विट्जरल्यान्डले सन् २०१८ को सुरुतिर ईयूको प्रतिबन्धहरूलाई अपनाएको थियो ।

ती प्रतिबन्धहरूमा भेनेजुएलाबाट हुने सुन आयातमा स्विट्जरल्यान्डको पूर्ण प्रतिबन्ध भने समावेश थिएन ।

स्टोनएक्सकी ओ’कोनेलले भनिन्, ‘त्यसपछि निर्यातमा सम्भवतः ठूलो गिरावट आयो किनभने भेनेजुएलाको केन्द्रीय बैंकसँग सुन नै सकिएको थियो ।’