
एजेन्सी । भेनेजुएलाको संकटग्रस्त तेल उद्योगलाई अमेरिकी नेतृत्वमा पुनर्जीवित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको योजनालाई साकार पार्नका लागि वर्षौं लामो र चुनौतीपूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन सक्ने रोयटर्स समाचार संस्थाले लेखेको छ । त्यसका लागि १०० अर्ब डलरभन्दा बढी खर्च हुन सक्ने बताइएको छ ।
वर्षौंको भ्रष्टाचार, लगानीको अभाव, आगलागी र चोरीले भेनेजुएलाको कच्चा तेलको पूर्वाधारलाई ध्वस्त पारेको छ । भेनेजुएलाको तेल उत्पादनलाई सन् १९७० को दशकको चरम स्तरमा पुर्याउन सेभरन, एक्सन मोबिल र कोनोकोफिलिप्स जस्ता कम्पनीहरूले आगामी दशकमा प्रतिवर्ष करिब १० अर्ब डलर लगानी गर्नुपर्ने राइस युनिभर्सिटीको बेकर इन्स्टिच्युट फर पब्लिक पोलिसीका ल्याटिन अमेरिकी ऊर्जा नीति निर्देशक फ्रान्सिस्को मोनाल्डीले रोयटर्सलाई बताए ।
‘छिटो पुनरुत्थानका लागि अझ बढी लगानी आवश्यक पर्नेछ,’ मोनाल्डीले भने ।
भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो तेल भण्डार छ । तर, राष्ट्रपति निकोलस मदुरोको १२ वर्षको कार्यकालमा उत्पादन स्वाट्टै घट्यो । मदुरोलाई शनिबार बिहान अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो ।
सन् १९७४ मा दैनिक करिब ४० लाख ब्यारल उत्पादन हुने गरेकोमा अहिले भेनेजुएलाले दैनिक करिब १० लाख ब्यारल मात्र उत्पादन गरिरहेको छ ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले आइतबार एबीसीसँगको अन्तर्वार्तामा अमेरिकी तेल कम्पनीहरू भेनेजुएलाको भारी कच्चा तेल उत्खनन गर्ने अवसरका लागि उत्सुक हुने अपेक्षा गरेको बताए । अमेरिकाको खाडी तटमा रहेका रिफाइनरीहरूका लागि भेनेजुएलाको कच्चा तेल महत्त्वपूर्ण छ ।
‘मैले पछिल्ला केही दिनमा अमेरिकी तेल कम्पनीहरूसँग कुरा गरेको छैन तर त्यहाँ उनीहरूको चासो रहनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं,’ रुबियोले भने, ‘निजी उद्योगलाई स्थान दिइएमा त्यहाँ ठूलो माग र चासो हुने मलाई लाग्छ ।’
यद्यपि, भेनेजुएलामा पाइला टेक्नुअघि अमेरिकी कम्पनीहरू त्यहाँको स्थिरता सुनिश्चित गर्न चाहन्छन् । भेनेजुएलाको सरकारी तेल कम्पनी पेट्रोलोस डे भेनेजुएला एसएका पूर्व प्रबन्धक लिनो कारिलो दुई दशकअघि देश छोडेर भागेका थिए । उनका अनुसार, कुनै पनि तेल कम्पनीले भेनेजुएलामा लगानी गर्ने कुरामा गम्भीर हुनका लागि त्यहाँ नयाँ संसद् वा राष्ट्रिय सभा हुन आवश्यक छ,’ कारिलोले एक अन्तर्वार्तामा भने, ‘अहिले जे भइरहेको छ, त्यस्तो होइन । पक्कै पनि होइन ।’
यसैबीच, देशको पूर्वाधार मर्मत गर्नका लागि धेरै काम गर्नुपर्नेछ ।
भेनेजुएलाका तेल बन्दरगाहहरूमा उपकरण खराब अवस्थामा छन् । त्यहाँ चीनलाई कच्चा तेल पुर्याउने सुपरट्यांकरहरू पूर्ण रूपमा भर्न पाँच दिनसम्म लाग्छ । सात वर्षअघि यो काम मात्र एक दिनमा हुन्थ्यो ।
भेनेजुएलाको भित्री भागको ठूलो क्षेत्र ओरिनोको बेसिनमा करिब ५ खर्ब ब्यारल पुनः प्राप्त गर्न सकिने तेल रहेको अनुमान गरिएको छ । त्यहाँ ड्रिलिङ रिगहरू अलपत्र छोडिएका छन् र तेल चुहावट अनियन्त्रित छ । ड्रिलिङ प्याडहरू दिउँसै लुटिएका छन् र कालो बजारमा पार्टपुर्जाका रूपमा बेचिएका छन् ।
देशको भूमिगत पाइपलाइनहरूको विशाल सञ्जाल चुहावटका लागि कुख्यात छ र कहिलेकाहीँ सरकारी तेल कम्पनीले नै यसलाई लुटेर पत्रु धातुको रूपमा बेचेको छ । आगलागी र विस्फोटले उपकरणहरू नष्ट गरेका छन् ।
काराकासको उत्तरपश्चिममा रहेको विशाल पारागुआना तेल रिफाइनरी परिसर बिग्रिएका कारण कम दरमा र रोकिएर मात्र सञ्चालन भइरहेको छ । यसका चारवटा तेल अपग्रेडरहरू कुनै समय देशको चोप जस्तो कच्चा तेललाई रिफाइनरीका लागि उपयुक्त कच्चा पदार्थमा प्रशोधन गर्ने अत्याधुनिक सुविधाहरू थिए । ती अहिले बन्द भइसकेका छन् ।
भेनेजुएलाको बाँकी उत्पादन धेरै हदसम्म सेभरन कम्पनीमा निर्भर छ । त्यो अझै पनि भेनेजुएलामा सञ्चालनमा रहेको एक मात्र प्रमुख अमेरिकी तेल कम्पनी हो । ह्युस्टनस्थित यस कम्पनीले देशको कुल उत्पादनको करिब २५ प्रतिशत हिस्सा ओगटेको छ । यो कम्पनी एक विशेष अनुमति अन्तर्गत काम गरिरहेको छ जसले अमेरिकी प्रतिबन्धका बाबजुद त्यहाँ रहन अनुमति दिन्छ ।
विश्लेषकहरूका अनुसार, भेनेजुएलाको पुनर्निर्माणमा मद्दत गर्न सक्ने अन्य दुई अमेरिकी कम्पनीहरू एक्सन र कोनोकोफिलिप्स हुन् । दुवैले यसअघि त्यहाँ काम गरेका थिए तर मादुरोका पूर्ववर्ती राष्ट्रपति ह्युगो चाभेजले सन् २००० को दशकको मध्यतिर उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरेपछि उनीहरूले देश छोडेका थिए ।
एक्सनले यसअघि सही परिस्थितिमा मात्र भेनेजुएलामा लगानी गर्ने बताएको थियो ।
सेभरनले एक विज्ञप्तिमा आफ्ना कर्मचारीहरूको सुरक्षा र भेनेजुएलामा आफ्नो सम्पत्तिको अखण्डतामा ध्यान केन्द्रित गरेको जनाएको छ । ‘हामी सबै सान्दर्भिक कानून र नियमहरूको पूर्ण पालना गर्दै सञ्चालन जारी राख्छौं,’ कम्पनीले भन्यो ।
भेनेजुएलाको राजनीतिक संक्रमण कसरी अगाडि बढ्छ र तेल कम्पनीहरूका लागि काम गर्ने वातावरण कस्तो हुन्छ भन्ने कुरा अझै अनिश्चित छ । अहिलेका लागि प्रतिबन्धहरू यथावत छन् र अमेरिकी जलसैनिक नाकाबन्दीले वरपरका जलक्षेत्रलाई नियन्त्रणमा लिएको छ । ट्रम्पले उपाध्यक्ष डेल्सी रोड्रिगेज अहिले जिम्मेवारीमा रहेको बताएका छन् यद्यपि उनी मदुरोकी कट्टर सहयोगी हुन् ।
‘तेल कम्पनीहरूले आफ्नो सहभागिताका लागि योजना र प्रस्तावहरू अद्यावधिक गर्ने काम सुरु गर्नेछन् जस्तो मलाई लाग्छ । तर, आधारभूत राजनीतिक स्थिरता नदेखिएसम्म उनीहरूले कुनै प्रतिबद्धता जनाउने छैनन्,’ वाशिङटनस्थित सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेशनल स्टडीजका वरिष्ठ फेलो क्लेटन सेइगलले भने ।
पश्चिमी तेल कम्पनीहरूको चासोको मूल्यांकन गर्ने ट्रम्प प्रशासनको काम आंशिक रूपमा आन्तरिक मामिलामन्त्री डग बर्गम र ऊर्जामन्त्री क्रिस राइटमाथि परेको छ । उनीहरू ट्रम्पको नेशनल इनर्जी डोमिनेन्स काउन्सिलका अध्यक्ष र उपाध्यक्ष हुन् ।
भेनेजुएलाको उत्पादनमा लगानी गर्न कम्पनीहरूका लागि अर्को चुनौती यो हो कि विश्वमा तेलको प्रचुरता छ र विश्वव्यापी मूल्य पाँच वर्षको न्यून विन्दुको नजिक छ । यसैबीच चाभेजको पालामा सम्पत्ति कब्जा गरिएपछि धेरै कम्पनीहरूले अझै पनि अर्बौं डलरको ऋण र क्षतिपूर्ति पाउन बाँकी छ ।
तर, वाशिङटनस्थित क्लियरभ्यू इनर्जी पार्टनर्सका प्रबन्ध निर्देशक केभिन बुकले मूल्य र जोखिम प्रिमियम सही भएमा तेल कम्पनीहरू फेरि आकर्षित हुन सक्ने बताए ।
‘अनिश्चिततालाई चिर्नका लागि राम्रो शर्तहरू आवश्यक पर्नेछ,’ बुकले एक अन्तर्वार्तामा भने, ‘उनीहरूले सापेक्षिक स्थिरताको संकेत देख्न सके र अनुकूल सम्झौताका शर्तहरू सुरक्षित गर्न पाए भने भेनेजुएलामा नाफाका साथ उत्पादन गर्न सक्षम कम्पनीहरूले यस ठूलो भण्डारको अवसरलाई बेवास्ता गर्ने सम्भावना छैन ।’








प्रतिक्रिया