मदुरोविरुद्ध अमेरिकी अभियोजनकर्ताले कस्ता किसिमका आरोप लगाएका छन् ?


एजेन्सी । अमेरिकाको जस्टिस डिपार्टमेन्टले जारी गरेको अभियोगपत्रले शनिबार पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई भ्रष्ट, अवैध सरकार चलाएको आरोप लगाएको छ । बृहत् लागूऔषध तस्करी अभियानमार्फत चलेको त्यस सरकारले अमेरिकामा हजारौं टन कोकिन भित्र्याएको अमेरिकी अभियोजनकर्ताहरूको आरोप छ ।

शनिबार सबेरै भेनेजुएलामा भएको आश्चर्यजनक सैन्य कारबाहीमा मदुरो र उनकी पत्नीको पक्राउले अमेरिकी अभियोजनकर्ताहरूका लागि ठूलो परीक्षाको आधार तयार गरेको छ । उनीहरू तेलमा धनी भेनेजुएलामा लामो समयदेखि शासन चलाइरहेका मदुरोविरुद्ध म्यानह्याटनको अदालतमा सजाय सुनिश्चित गर्न चाहन्छन् ।

महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मदुरो र उनकी पत्नीले छिट्टै अमेरिकी अदालतहरूमा न्यायको पूर्ण शक्तिको सामना गने बताइन् ।

मदुरोलाई उनकी पत्नी, छोरा र अन्य तीनजनासँगै आरोपित बनाइएको छ । उनीमाथि चारवटा अभियोग लगाइएको छः लागूऔषध–आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मशिन गन र विनाशकारी उपकरणहरू राखेको र मशिन गन एवं विनाशकारी उपकरणहरू राख्ने षड्यन्त्र ।

मदुरोले सन् २०२० मा पहिलो ट्रम्प कार्यकालमा म्यानह्याटन संघीय अदालतमा उनीविरुद्ध ल्याइएको अघिल्लो अभियोगपत्रमा जस्तै खालका आरोपहरूको सामना गरिरहेका छन् । शनिबार सार्वजनिक गरिएको नयाँ अभियोगपत्रमा मदुरोकी पत्नीविरुद्धका आरोपहरू थपिएका छन् । क्रिसमसभन्दा ठीक अघि न्युयोर्कको दक्षिणी जिल्ला अदालतमा गोप्य रूपमा उक्त अभियोगपत्र दर्ता गरिएको थियो ।

मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई कहिले म्यानह्याटनको अदालतमा पहिलोपटक उपस्थित गराइनेछ भन्ने कुरा तुरुन्तै स्पष्ट भएन ।

शनिबार राति ह्वाइट हाउसको एक सामाजिक सञ्जाल खाताबाट सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै गरेको देखिन्थे । त्यहाँ उनलाई दुई संघीय एजेन्टहरूले हातमा समातेर न्युयोर्कस्थित अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनको कार्यालयमा लैजाँदै थिए । उनलाई मुद्दाको सुनुवाइको प्रतीक्षा गरिरहँदा ब्रुकलिनको एक संघीय जेलमा थुनामा राखिने अपेक्षा गरिएको थियो ।

अभियोगपत्रले मदुरोलाई अमेरिकामा हजारौं टन कोकिन ढुवानी गर्न अनुमति दिनका लागि विश्वका केही सबैभन्दा हिंस्रक र सक्रिय लागूऔषध तस्करहरू र लागूऔषध आतंकवादीहरूसँग साझेदारी गरेको आरोप लगाएको छ ।

सिनालोआ कार्टेल र ट्रेन् डी अरागुवा ग्याङ जस्ता शक्तिशाली र हिंस्रक लागूऔषध तस्करी संगठनहरूले भेनेजुएला सरकारसँग प्रत्यक्ष रूपमा काम गरेको र बदलामा मद्दत एवं सुरक्षा गर्ने उच्चपदस्थ अधिकारीहरूलाई नाफाको रकम पठाएको अधिकारीहरूले दाबी गरेका छन् ।

मदुरोले कोकिनबाट सञ्चालित भ्रष्टाचारलाई आफ्नो हितका लागि आफ्नो सरकारका सदस्यहरूको हितका लागि र आफ्नो परिवारका सदस्यहरूको हितका लागि फस्टाउन दिएको अभियोगपत्रमा दाबी गरिएको छ ।

मदुरो र उनको परिवारले यस क्षेत्रमा लागूऔषध ओसारपसार गर्ने कार्टेलहरूलाई कानूनी सुरक्षा र व्यवस्थापकीय सहयोग प्रदान गरेको अमेरिकी अधिकारीहरूको दाबी छ । यसको फलस्वरूप सन् २०२० सम्ममा भेनेजुएला भएर वार्षिक २५० टनसम्म कोकिन तस्करी हुने गरेको अभियोगपत्रमा उल्लेख छ । लागूऔषधहरू तीव्र गतिका जहाज, माछा मार्ने डुंगा र कन्टेनर जहाजहरूमा वा गोप्य विमानस्थलहरूबाट विमानहरूमार्फत ओसारपसार गरिएको अभियोगपत्रमा भनिएको छ ।

‘नार्कोटिक्समा आधारित भ्रष्टाचारको यस चक्रले भेनेजुएलाका अधिकारी र उनीहरूका परिवारको खल्ती भर्ने काम गर्छ र साथै भेनेजुएलाको माटोमा सजायको डरबिना काम गर्ने हिंस्रक लागूऔषध–आतंकवादीहरूलाई पनि फाइदा पुर्याउँछ । यसले अमेरिकामा टनसम्म कोकिन उत्पादन गर्न, सुरक्षा दिन र ढुवानी गर्न मद्दत गर्छ,’ अभियोगपत्रमा भनिएको छ ।

अमेरिकाले मदुरो र उनकी पत्नीलाई लागूऔषधको पैसा तिर्न बाँकी रहेका र लागूऔषध तस्करी अभियानमा बाधा पुर्याउनेहरूका विरुद्ध अपहरण, कुटपिट र हत्याको आदेश दिएको आरोप छ । अभियोगपत्रका अनुसार, यसमा काराकासका एक स्थानीय लागूऔषध डनको हत्या पनि समावेश छ ।

मादुरोकी पत्नीलाई सन् २००७ मा विशाल स्तरको लागूऔषध तस्कर र भेनेजुएलाको राष्ट्रिय लागूऔषध विरोधी कार्यालयका निर्देशकबीच बैठक मिलाइदिनका लागि लाखौं डलर घूस लिएको आरोप पनि लगाइएको छ । एक भ्रष्ट सम्झौतामा उक्त लागूऔषध तस्करले लागूऔषधविरोधी कार्यालयका निर्देशकलाई मासिक घूसका साथै कोकिन बोकेको प्रत्येक उडानको सुरक्षित यात्रा सुनिश्चित गर्न प्रतिउडान करिब १ लाख डलर तिर्न सहमत भएको थियो । अभियोगपत्रका अनुसार, त्यसमध्ये केही रकम मदुरोकी पत्नीकहाँ गएको थियो ।

मदुरोकी पत्नीका भतिजाहरूले सन् २०१५ मा अमेरिकी सरकारका गोप्य स्रोतहरूसँगको रेकर्ड गरिएको बैठकमा भेनेजुएलाको एक विमानस्थलमा रहेको मादुरोको राष्ट्रपतीय ह्यांगरबाट सयौं किलो कोकिनका खेपहरू पठाउन सहमत भएको सुनिएको थियो ।

रेकर्ड गरिएका बैठकहरूमा ती भतिजाहरूले अमेरिकासँग युद्धमा रहेको बताएका थिए, अभियोगपत्रमा दाबी गरिएको छ । उनीहरू दुवैलाई अमेरिकामा टनका टन कोकिन पठाउने षड्यन्त्र गरेको अभियोगमा सन् २०१७ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो । तर, सन् २०२२ मा सातजना थुनामा रहेका अमेरिकीहरूको बदलामा कैदी साटासाटको रूपमा उनीहरूलाई रिहा गरिएको थियो ।

एक पत्रकार सम्मेलनमा विदेशमन्त्री मार्को रुबियो र जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले मादुरो र उनकी पत्नीलाई पक्राउ गर्ने सैन्य छापामारीलाई न्याय मन्त्रालयको तर्फबाट गरिएको कारबाहीको रूपमा प्रस्तुत गरे । उक्त अपरेसन न्याय मन्त्रालयको अनुरोधमा गरिएको केनले बताए ।

कांग्रेसलाई सूचित गरिएको थियो कि थिएन भन्ने प्रश्नको जवाफ दिँदै रुबियोले यो दम्पतीलाई समात्न गरिएको अमेरिकी छापा मूलतः कानून कार्यान्वयनको कार्य थियो र उनले यो एउटा यस्तो उदाहरण भएको बताए जहाँ युद्ध मन्त्रालयले न्याय विभागलाई सहयोग गर्यो ।

उनले मदुरोलाई टाउकोको मूल्य ५ करोड डलर तोकिएको अमेरिकी न्यायको फरार अपराधी भनेर सम्बोधन गरे ।