
एजेन्सी । भेनेजुएलामा अमेरिकी सेनाको स्थलगत आक्रमणका लागि संसद्को स्वीकृति आवश्यक रहेको नोभेम्बर २ मा ह्वाइट हाउसकी चिफ अफ स्टाफ सुजी वाइल्सले भ्यानिटी फेयर पत्रिकालाई भनेकी थिइन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको भूमिमा कुनै सैन्य कारवाहीका लागि अनुमति दिएमा त्यो युद्ध घोषणा गरे सरह हुनेछ र त्यसका लागि संसद्को स्वीकृति चाहिन्छ, उनले भनेकी थिइन् ।
त्यसको केही दिनपछि ट्रम्प प्रशासनका अधिकारीहरूले निजी रूपमा सांसदहरूसँग कुराकानी गर्दै भेनेजुएलामा कुनै पनि स्थलगत लक्ष्यविरुद्धको आक्रमणलाई समर्थन गर्न उनीहरूसँग कानूनी आधारको अभाव रहेको बताएका थिए ।
तर, त्यसको ठ्याक्कै दुई महिनापछि ट्रम्प प्रशासनले पहिले गर्न नसकिने संकेत गरेको कार्य गरिदियो ।
ट्रम्पले भेनेजुएलाविरुद्ध विशाल स्तरको आक्रमण गर्यो र त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई अभियोगहरूको सामना गर्न नियन्त्रणमा लियो । संसद्को स्वीकृति बिना नै अमेरिकाले सत्ता परिवर्तनको प्रयास थाल्यो ।
अहिलेका लागि यो मिसन मदुरोलाई सत्ताबाट हटाउनमा मात्र सीमित देखिएको छ । तर, ट्रम्पले उल्लेख गरेअनुसार, यसमा देशभित्रै आक्रमण गर्ने कुरा समावेश थियो । त्यही परिस्थितिका लागि ट्रम्प प्रशासनका केही व्यक्तिले पहिले नै आफूसँग नभएको स्वीकृतिको आवश्यकता पर्ने संकेत गरेका थिए ।
ट्रम्प प्रशासनले त्यस्ता आक्रमणहरूका लागि न्याय मन्त्रालयबाट नयाँ कानूनी राय खोजिरहेको थियो ।
ट्रम्पले शनिबारको पत्रकार सम्मेलनमा मदुरोलाई पक्राउ गर्ने मात्र नभई भेनेजुएला चलाउने र त्यसको तेल कब्जा गर्नेबारे बारम्बार बोले । ती टिप्पणीहरू निश्चित रूपमा मदुरोलाई पक्राउ गर्नुभन्दा बढी केही थियो भनेर बुझ्न सकिन्छ ।
अर्को देशभित्र आक्रमण गरी त्यहाँका नेताहरूलाई हटाउने उद्देश्यले विगतमा पनि अमेरिकाले यस्ता कारवाहीहरू गर्दै आएको छ । तर, त्यस सन्दर्भमा पनि यो घटना उल्लेखनीय छ । ट्रम्प प्रशासनले यस आक्रमणका लागि औचित्यहरूको कानूनी संरचना पेश गर्नका लागि कम ध्यान दिएको छ । प्रशासनले कांग्रेसलाई पहिले नै सूचित गरेको पनि देखिँदैन जुन सामान्यतया यस्ता परिस्थितिहरूमा न्यूनतम आवश्यकता हो ।
दाबी गरिएको औचित्यको पूर्ण स्पष्टीकरण जारी हुन बाँकी छ तर प्रारम्भिक संकेतहरू स्वभावैले अलमलमा पार्ने खालका छन् ।
युटाह राज्यका रिपब्लिकन सिनेटर माइक लीले आक्रमणको लगत्तै विदेशमन्त्री मार्को रुबियोले उनलाई मदुरोविरुद्ध पक्राउ पुर्जी कार्यान्वयन गर्नेहरूको रक्षा र बचाउ गर्न यो आक्रमण आवश्यक रहेको भनेको जानकारी दिएका थिए ।
अनधिकृत विदेशी सैन्य कारबाहीका आलोचक लीले यो कदम अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकार भित्र पर्ने सम्भावना रहेको बताएका छन् ।
केही घण्टा पछि उपराष्ट्रपति जेडी भान्सले पनि त्यही कुरा दोहोर्याए ।
‘र यो अवैध थियो भन्ने सबैका लागि एउटा जानकारीः मदुरोमाथि नार्कोटेररिज्म (लागूऔषध आतंकवाद) का लागि अमेरिकामा धेरै अभियोगहरू छन्,’ भान्सले सामाजिक सञ्जाल एक्समा लेखे, ‘तपाईं काराकासको दरबारमा बस्नुहुन्छ भन्दैमा अमेरिकामा लागूऔषध ओसारपसारको सजायबाट उम्कन पाउनुहुन्न ।’
पछि एक पत्रकार सम्मेलनमा रुबियोले कानून कार्यान्वयनको कार्यलाई अमेरिकी सेनाले समर्थन गरिरहेको कुरा दोहोर्याए ।
तर, अमेरिकामा अभियुक्त रहेका अन्य देशमा बसोबास गर्ने मानिसलाई न्यायको दायरामा ल्याउन ती देशहरूमा आक्रमण गर्नु अमेरिकी सरकारको सामान्य प्रक्रिया होइन ।
प्रशासनले यसअघि यो कारणले सैन्यबल कानूनी रूपमा प्रयोग गर्न सकिने कुरा पनि संकेत गरेको थिएन ।
सुरुमा ट्रम्पले लागूऔषध तस्करहरूलाई लक्षित गर्न भेनेजुएलाभित्र स्थलगत आक्रमण गर्ने धम्की दिएका थिए । तर, भेनेजुएला लागूऔषध तस्करीको खेलमा तुलनात्मक रूपमा सानो खेलाडी देखिएको छ ।
भेनेजुएलाले अमेरिकामा नराम्रा मानिसहरू पठाएका कारण आक्रमण आवश्यक हुन सक्ने भनी पछि ट्रम्प प्रशासनले संकेत दियो ।
र त्यसपछि भेनेजुएला र मदुरोविरुद्धको अमेरिकी दबाब अभियानमा तेलको भूमिकालाई सुरुमा कम महत्त्व दिए पनि ट्रम्पले तेल, जमिन र अन्य सम्पत्तिहरू फिर्ता लिनु हो आफूहरूको उद्देश्य रहेको बताए । भेनेजुएलालीहरूले ती कुरा अमेरिकाबाट चोरी गरेको उनको आरोप छ ।
अमेरिकाले अब अस्थायी रूपमा भेनेजुएलाको सरकार सञ्चालन गर्ने ट्रम्पको भनाइ छ । उनले बारम्बार त्यस देशमा रहेको तेलको बारेमा बोले ।
‘हामी तेलको पूर्वाधार पुनर्निर्माण गर्नेछौं,’ ट्रम्पले भने, ‘हामी त्यस देशलाई सही तरिकाले चलाउनेछौं ।’
ट्रम्पले जिकिर लिएका कानूनी अधिकारका बारेमा प्रश्नहरू उठ्नेछन् । यसअघि उनले लागूऔषध बोकेका डुंगाहरूमा गरेका कानूनी रूपमा शंकास्पद मानिएका आक्रमण र यस क्षेत्रका अन्य कार्यहरूद्वारा पहिले नै परीक्षण गरिसकेका छन् ।
ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो अधिकारको सीमा र अमेरिकीहरूको सहनशीलतालाई पुनः परीक्षण गर्न खोजिरहेका छन् ।
तर, यसपटक उनले यो अहिलेसम्मकै सबैभन्दा ठूलो मञ्चमा गरिरहेका छन् । र उनले कानूनलाई बंग्याइरहेको कथा निश्चित रूपमा समाप्त भएको छैन ।








प्रतिक्रिया