
एजेन्सी । एक नाटकीय सैन्य कारबाहीमा अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ।
शनिबार बिहानै राजधानी काराकासका सैन्य ठेगानाहरूमा भीषण हवाई आक्रमण गरेपछि अमेरिकी कमान्डो टोली ‘डेल्टा फोर्स’ले मादुरो दम्पतीलाई पक्राउ गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस ऐतिहासिक सफलताको घोषणा गर्दै अब भेनेजुएलाको शासन व्यवस्थामा अमेरिकाको प्रत्यक्ष भूमिका रहने बताएको रोयटर्सले जनाएको छ ।
ट्रम्पद्वारा तस्बिर सार्वजनिक
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा मादुरोको एक तस्बिर सार्वजनिक गरेका छन्, जसमा उनी अमेरिकी युद्धपोत ‘यूएसएस इवो जिमा’मा बन्दी अवस्थामा देखिएका छन् । तस्बिरमा मादुरोले खैरो रङको ट्र्याकसूट र आँखामा ‘आई मास्क’ लगाएका छन् ।
फ्लोरिडाको मार-ए-लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले निकोलस मादुरोलाई पक्रेका छौँ । अब अमेरिकाले भेनेजुएलालाई तबसम्म चलाउनेछ, जबसम्म त्यहाँ सुरक्षित, सही र समझदारीपूर्ण रूपमा सत्ता हस्तान्तरण हुँदैन ।’
ट्रम्पले अमेरिकी सेनाको प्रशंसा गर्दै भने, ‘हाम्रो सेनाको गति र शक्ति देखेर भेनेजुएलाको सेना स्तब्ध भयो र छिट्टै आत्मसमर्पण गर्यो । यस अपरेशनमा कुनै पनि अमेरिकी सैनिकले ज्यान गुमाउनु परेन ।’
न्युयोर्कको अदालतमा ‘नार्को-टेररिज्म’को मुद्दा
अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीका अनुसार मादुरो र उनकी पत्नीलाई न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट कोर्टमा हाजिर गराइनेछ । उनीहरूमाथि ‘नार्को-टेररिज्म’ (लागुऔषध आतंकवाद), अमेरिकामा कोकिन तस्करीको षड्यन्त्र र अवैध हतियार राखेको जस्ता गम्भीर अभियोगहरू लगाइएको छ।
बोन्डीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उनीहरूले छिट्टै अमेरिकी माटोमा अमेरिकी न्यायको सामना गर्नेछन् ।’
भेनेजुएलामा अन्योल र सैन्य परिचालन
यता भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति मादुरोको अवस्थाबारे सरकारलाई आधिकारिक जानकारी नभएको बताएकी छन् । उनले राष्ट्रपति जीवितै रहेको ‘प्रमाण’ माग गर्दै अमेरिकी कदमको विरोध गरेकी छन् ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले यसलाई भेनेजुएलाको इतिहासकै सबैभन्दा ठूलो आक्रमण भन्दै देशभरका सशस्त्र बललाई तैनाथ हुन आदेश दिएका छन् । उनले भनेका छन्, ‘हामीमाथि आक्रमण भएको छ, तर हामी झुक्ने छैनौँ। हामी विदेशी सेनाको उपस्थितिको डटेर सामना गर्नेछौँ।’
काराकासका बासिन्दाहरूका अनुसार सहरका मुख्य सैन्य आधारहरू ‘ला कार्लोटा’ र ‘फुएर्ते तिउना’मा शक्तिशाली विस्फोटहरू भएका छन् । सहरभरि त्रासको वातावरण छ र सञ्चार सेवाहरू आंशिक रूपमा प्रभावित भएका छन्।
अन्तर्राष्ट्रिय प्रतिक्रिया: रुस र चीनद्वारा निन्दा
अमेरिकाको यस कदमले विश्व राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। रुस र चीनले यस सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेका छन् । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अमेरिकाले भेनेजुएलाको सम्प्रभुतामाथि सशस्त्र हमला गरेको छ, जुन अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो ।’
छिमेकी मुलुक कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघको बडापत्र अनुसार विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।
किन भयो आक्रमण?
ट्रम्प प्रशासनले लामो समयदेखि मादुरो सरकारमाथि अमेरिकामा लागुऔषध तस्करी र आपराधिक गिरोहहरूलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको थियो। ट्रम्पले अमेरिका भित्रिने ९७ प्रतिशत लागुऔषध भेनेजुएलाबाट आउने गर्ने दाबी गरेका छन् ।
यसका साथै भेनेजुएलाको विशाल तेल भण्डार र खनिजमाथिको नियन्त्रण पनि यो द्वन्द्वको एउटा मुख्य कारण रहेको विश्लेषण गरिएको छ।
रायटर्सका अनुसार, ट्रम्पले भेनेजुएलाको सत्ता परिवर्तन लागि यो ठूलो दाउ खेलेका छन्, जसले दक्षिण अमेरिकाको राजनीतिलाई पूर्ण रूपमा बदल्न सक्छ।








प्रतिक्रिया