रास्वपाको समानुपातिक सूचीबाट युवा उद्यमी सचिन ढकालले फिर्ता लिए नाम


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा रहेका युवा उद्यमी सचिन ढकालले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगमा बुझाइएको खस आर्य (पुरुष) तर्फको दोस्रो नम्बरमा रहेका ढकालले व्यक्तिगत कारण देखाउँदै सूचीबाट बाहिरिने निर्णय गरेका हुन् ।

आफ्नो निर्णयबारे जानकारी दिँदै ढकालले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यतालाई सम्मान गर्दै यस पटकका लागि नाम फिर्ता लिएको स्पष्ट पारेका छन् । उनले पार्टी नेतृत्वले आफूलाई विश्वास गरेर सूचीमा समावेश गरेकोमा आभार समेत प्रकट गरेका छन् ।

विदेशमा अध्ययन पूरा गरेपछि उतै आकर्षक अवसरहरू भए पनि स्वदेशमै केही गर्ने उद्देश्यले आफू फर्किएको ढकालले बताएका छन् । ‘आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ भन्ने मेरा पिताजी चन्द्रप्रसाद ढकालको प्रेरणाबाट म उद्यमशीलतामा लागेको हुँ,’ उनले भनेका छन् ।

नेपाली अर्थतन्त्र, खेलकुद र पर्यटन क्षेत्रमा सक्रिय ढकालले युवाहरू रोजगारीका लागि विदेशिने क्रम रोक्न स्वदेशमै सम्भावनाका ढोकाहरू ढक्ढक्याउनुपर्नेमा जोड दिएका छन् । उनले थपे, ‘कुनै व्यावसायिक घरानाको सन्तान हुनु र उद्यमशीलतामार्फत देशको विकासमा योगदान गर्छु भन्नु नराम्रो होइन । मैले पारिवारिक पृष्ठभूमिको अवसर मात्र नभई आफ्नै शिक्षा र ज्ञानलाई व्यवहारमा उतार्ने प्रयत्न गरिरहेको छु ।’

सचिन ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् । उनी फुटबल क्लब ‘एफसी चितवन’ का अध्यक्ष हुन् भने खेलकुदसँगै पर्यटन र हस्पिटालिटी व्यवसायमा सक्रिय छन् । उनको व्यवस्थापनमा हाल ‘इला’ ब्रान्डका होटलहरू सञ्चालनमा छन् ।

रास्वपाको सूचीमा उनको नामा काठमाडौंका मेयर बालेन साहको कोटाबाट परेको थियो ।

यसअघि त्रिशाला गुरूङ र आसिफ साहले पनि सूचीबाट नाम फिर्ता लिइसकेका छन् ।