
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सूचना प्रविधि (आईटी) क्षेत्रका माध्यमबाट नेपालमै बसेर उच्च आम्दानी गर्न सम्भव रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको ३ लाख कमाउन सकिने’ भनी दिएको अभिव्यक्ति वास्तविक र यथार्थपरक रहेको बताए ।
अर्थमन्त्री खनालले आईटी क्षेत्रमा देखिएको यो सम्भावनालाई मध्यनजर गर्दै सरकारले व्यवसायीहरूको सहजताका लागि महत्वपूर्ण कदम चालेको जानकारी दिए । उनका अनुसार सेवा निर्यात गर्ने आईटी कम्पनीहरूलाई विदेशमा आफ्नो आउटलेट वा बेस स्थापना गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा निःशर्त उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
‘आजभन्दा ८–९ वर्ष अगाडि ५ सय डलरको डलर कार्ड माग गर्दा पनि राज्यले युवाहरूको भावना बुझेन,’ अर्थमन्त्रीले भने, ‘अहिले कीर्तिपुरको डाँडामा बसेर महिनाको ३ लाख कमाउने गगन थापाको भनाइ कतिपयलाई पत्यार नलाग्न सक्छ, तर यो वास्तविक कथा हो । काठमाडौंका चिया पसलमा ल्यापटप लिएर बस्ने धेरै युवाहरूले रिमोट वर्करका रूपमा विदेशी मुद्रा आर्जन गरिरहेका छन् ।’
मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूलाई स्वदेशमै फर्केर सोही प्रकृतिको काम र आकर्षक पारिश्रमिक पाउने वातावरण बनाउन सरकारले गृहकार्य गरिरहेको बताए । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको उनको भनाइ थियो ।
आर्थिक सुधारका लागि अध्यादेशको बाटोभन्दा पनि विद्यमान नियमहरू संशोधन गर्न आफू लागिपरेको उनले स्पष्ट पारे । यसै सिलसिलामा सरकारले हालसम्म आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन गरिसकेको उनले जानकारी दिए । यी सबै संशोधनहरू लगानीको उचित वातावरण निर्माण गर्ने उद्देश्यले गरिएको उनको दाबी छ ।
यद्यपि, ‘जेन–जी’ विद्रोहपछि पर्यटन उद्योग तथा आन्तरिक र बाह्य लगानीका लागि अझै पूर्ण रूपमा सहज वातावरण बनिनसकेको स्वीकार गर्दै उनले यसमा सबै सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए ।








प्रतिक्रिया