भारतमा सर्वसाधारणसँग ५० खर्ब डलर बराबरको सुन, देशको जीडीपीभन्दा बढी


एजेन्सी । भारतीयहरूमा सुनप्रतिको ऐतिहासिक र अटुट मोहले असाधारण कोशेढुंगा पार गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४५ सय डलरको ऐतिहासिक उचाइमा पुगेसँगै भारतीय परिवारहरूसँग रहेको सुनको कुल मूल्य ५० खर्ब डलर नाघेको अनुमान गरिएको छ । यो मूल्य भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि बढी हो ।

गत अक्टोबरमा मोर्गन स्टेनलीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, भारतीय परिवारहरूसँग करिब ३४ हजार ६०० टन सुन रहेको अनुमान छ । गत हप्ता सुनको मूल्य प्रति औंस ४५ सय ५० डलर पुग्दा भारतीयहरूसँग रहेको सुनको मूल्य ५० खर्ब डलरभन्दा बढी हुन आउँछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, भारतको जीडीपी हाल करिब ४१ खर्ब डलर रहेको छ ।

यो तथ्यांक आर्थिक तथ्य मात्र नभई सांस्कृतिक टिप्पणी पनि हो । भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा रहे तापनि भारतीय जनमानसमा सुनप्रतिको मोह कति गहिरो छ भन्ने यसले पुष्टि गर्छ ।

मोर्गन स्टेनलीले आफ्नो अघिल्लो प्रतिवेदनमा उल्लेख गरेअनुसार, सुनको बढ्दो मूल्यले पारिवारिक वासलातमा सकारात्मक सम्पत्ति प्रभाव ल्याउँछ । मौद्रिक नीतिको लचकताका कारण घटेको ब्याजदर र कर कटौतीले बढेको खर्चयोग्य आम्दानीले पनि यसलाई सहयोग पुर्याइरहेको छ ।

तर, सबैजना यस वेल्थ इफेक्टको तर्कसँग सहमत छैनन् । एमके ग्लोबलले विगत १५ वर्ष सुनको मूल्यमा तीनवटा ठूला वृद्धिको विश्लेषण गर्दै यसले उपभोगमा कुनै ठोस प्रभाव नपारेको जनाएको छ ।

एमकेका अनुसार, भारतीय परिवारहरूले सुनलाई उपभोग र दीर्घकालीन बचतको सम्मिश्रण मान्छन् । भारतमा ७५–८० प्रतिशत सुन गहनाका रूपमा रहेको छ ।

अर्थशास्त्री शेषाद्री सेनका अनुसार, वित्तीय सम्पत्ति जस्तो सुनको मूल्य बढ्दा मानिसहरूले यसलाई तुरुन्तै नगदमा बदल्ने वा यसको मूल्य बढेको खुसीयालीमा अन्य खर्च बढाउने गर्दैनन् ।

भारत विश्वको दोस्रो ठूलो सुन उपभोक्ता हो । उसले विश्वव्यापी मागको करिब २६ प्रतिशत हिस्सा ओगट्छ (चीन २८ प्रतिशतसहित पहिलो स्थानमा छ) । विश्व स्वर्ण परिषद्का अनुसार, सन् २०२५ सम्ममा भारतको हिस्सा ५ वर्षको औसत २३ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको छ ।

मागको ठूलो हिस्सा (दुई तिहाइ) गहनाले ओगटे पनि विगत पाँच वर्षमा लगानीका रूपमा सुनका बिस्कुट र सिक्काको हिस्सा उल्लेख्य रूपमा बढेको छ । जुन २०२० मा २३.९ प्रतिशत रहेको यस्तो लगानी जुन २०२५ सम्ममा ३२ प्रतिशत पुगेको छ ।

भारतीय रिजर्भ बैंक पनि सुन खरिदको दौडमा सामेल भएको छ । सन् २०२४ देखि केन्द्रीय बैंकले आफ्नो भण्डारमा ७५ टन सुन थपेको छ जसले गर्दा कुल मौज्दात ८८० टन पुगेको छ । मोर्गन स्टेनलीका अनुसार, यो भारतको कुल वैदेशिक मुद्रा सञ्चितिको करिब १४ प्रतिशत हो ।

डा. शर्माका अनुसार, अमेरिकी डलर जस्तै सुनलाई पनि सेफ हेवन (सुरक्षित लगानी) मानिने ऐतिहासिक कारणले यसको आकर्षण बढेको हो । युद्ध, वित्तीय संकट वा भूराजनीतिक तनावको समयमा लगानीकर्ता र परिवारहरू स्वभावैले सुनतर्फ आकर्षित हुन्छन् ।

पछिल्लो समय चाँदीमा पनि यस्तै आकर्षण देखिएको छ जसले केन्द्रीय बैंकहरूको आक्रामक मौद्रिक विस्तारका कारण सरकारी मुद्राप्रतिको बढ्दो अविश्वासलाई झल्काउँछ ।

सुनको आफ्नै आर्थिक विरोधाभास छ । ‘विशुद्ध आर्थिक दृष्टिकोणबाट हेर्दा सुन धेरै हदसम्म एक अनुत्पादक सम्पत्ति हो,’ शर्माले बताए, ‘यसले आम्दानी सिर्जना गर्दैन, उत्पादकत्व बढाउँदैन वा पूँजी निर्माणमा प्रत्यक्ष योगदान पुर्याउँदैन ।’

यही तथ्यलाई ध्यानमा राख्दै विगत दुई दशकमा नीतिनिर्माताहरूले पारिवारिक बचतलाई गोल्ड ईटीएफ, सोभरेन गोल्ड बोन्ड र डिजिटल गोल्डजस्ता वित्तीय विकल्पहरूमा सार्न प्रयास गरेका छन् । तर, यी प्रयासहरूले सीमित सफलता मात्र पाएका छन् । परम्परा र विश्वासका कारण भौतिक सुनप्रतिको लगाव कम गर्न कठिन देखिएको छ ।

भारतको सुनको आयातले चालु खाता घाटा र विनिमय दरमा प्रभाव पार्छ । अर्कोतर्फ, यसले छायाँ वित्तीय प्रणालीको रूपमा पनि काम गर्छ जहाँ औपचारिक ऋणको पहुँच नभएकाहरूले सुन धितो राखेर सजिलै ऋण पाउँछन् ।