बैंकिङ क्षेत्रमाथिको प्रहार र वर्तमान चुनौती

119
Shares

वर्तमान समयमा नेपालको बैंकिङ क्षेत्र अत्यन्तै जटिल र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ। एकातिर अर्थतन्त्रमा शिथिलता देखिएको छ भने अर्कोतिर बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भइरहेका भौतिक आक्रमण र दुर्व्यवहारले यस क्षेत्रलाई थप त्रसित बनाएको छ । पछिल्लो समय बैंकका कर्मचारीमाथि भएको घटना र ऋण असुलीका क्रममा कार्यथलोमा खटिएका साथीहरूले भोग्नुपरेको अपमानजनक व्यवहारले हामीलाई गम्भीर बनाएको छ ।

हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, नेपालको बैंकिङ प्रणाली पूर्ण रूपमा कानुनी र नियमनकारी परिधिभित्र सञ्चालित छ । नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) र केन्द्रीय बैंकका निर्देशनहरू नै हाम्रा मार्गदर्शक हुन्। कर्जा प्रवाहदेखि असुलीसम्मका प्रक्रियाहरू पारदर्शी रूपमा लेखिएका हुन्छन् । हामी तिनै नियमहरूको पालना गर्ने कर्मचारी मात्र हौं ।

तर, पछिल्लो समय आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न बैंकका कर्मचारीलाई भौतिक आक्रमण गर्ने, धम्काउने, कालोमोसो दल्ने वा जुत्ताको माला लगाउने जस्ता अराजक गतिविधिहरू भइरहेका छन् । यस्ता कार्यको नेपाल बैंकर्स संघ घोर भर्त्सना गर्दछ । यो कानुनी राज्य हो, र यहाँ कसैलाई पनि कानुन हातमा लिने अधिकार छैन ।

अहिले बैंकिङ क्षेत्रमा झण्डै ५० हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरूका परिवार र उनीहरूको मानसिक स्वास्थ्यमा यस्ता घटनाले कस्तो असर पार्छ भन्ने कुराको नजरअन्दाज गर्न मिल्दैन । बैंकिङ क्षेत्र झण्डै ७५–७६ खर्बको निक्षेप परिचालन गर्ने र ५४–५५ खर्बको कर्जा लगानी गर्ने क्षेत्र हो । यदि बैंकहरू नै असुरक्षित भएर बन्द गर्नुपर्ने अवस्था आयो भने मुलुकको अर्थतन्त्र कहाँ पुग्ला ? के बैंक तथा वित्तीय संस्थालाई आतंकित बनाएर देश समृद्ध बन्न सक्छ ?

कतिपय व्यक्तिहरूले ‘ऋण मिनाहा गरिदिन्छु’ भन्दै सर्वसाधारणलाई भ्रममा पारिरहेका छन् । स्रोतको सुनिश्चितता बिना गरिने यस्ता अतिरञ्जित कुराले जनतालाई उचाल्ने काम मात्र गर्छ । ऋण लिएपछि तिर्नुपर्छ भन्ने विश्वव्यापी मान्यता र कानुनी व्यवस्थालाई चुनौती दिनु आत्मघाती कदम हो ।

हाल बैंकिङ प्रणालीमा तरलताको अवस्था सुदृढ छ । झण्डै १२ खर्ब रुपैयाँ लगानीयोग्य रकम (तरलता) हामीसँग छ । तर, बजारमा कर्जाको माग न्यून हुनु चिन्ताको विषय हो । राजनीतिक अस्थिरता र केही नकारात्मक प्रचारबाजीका कारण लगानीकर्तामा आत्मविश्वास पलाउन सकेको छैन । जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म बैंकमा पैसा थुप्रिने तर उत्पादनमूलक क्षेत्रमा प्रवाह हुन नसक्ने अवस्था रहिरहन्छ । यद्यपि, राष्ट्र बैंकको पछिल्लो नीतिगत सुधार र प्रतिवेदनहरूको कार्यान्वयनले बिस्तारै सुधार ल्याउनेमा हामी आशावादी छौं ।

म सरकार र प्रशासनलाई विशेष अनुरोध गर्दछु कि बैंकिङ क्षेत्र जस्तो संवेदनशील र अनुशासित क्षेत्रको सुरक्षामा कुनै सम्झौता नगरियोस् । कानुन विपरीत काम गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइनुपर्छ ।

हामीले संयमता अपनाइरहेका छौं, तर यो संयमतालाई कमजोरी ठानिनु हुँदैन । यदि हामीले आफ्नो प्रतिरक्षा गर्नुपर्ने स्थिति आयो भने त्यसले सुखद परिणाम दिँदैन ।

त्यसैगरी, सञ्चार माध्यम र पत्रकार साथीहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । कुनै पनि समाचार सम्प्रेषण गर्दा सत्यतथ्य जाँच गरेर मात्र गरिदिनुहुन म आग्रह गर्दछु । व्यक्तिको व्यक्तिगत जीवन र परिवारको मानसिकतामा आँच पुग्ने गरी गरिने ‘ट्रेल’ वा चरित्रहत्याले कसैको हित गर्दैन । जिम्मेवार पत्रकारिताले नै समाजलाई सही दिशा दिन सक्छ ।

हामी बैंकर्सहरू कुनै पनि राजनीतिक विचार वा पूर्वाग्रहबाट टाढा रहेर पूर्ण व्यावसायिक रूपमा काम गरिरहेका छौं । हाम्रो उद्देश्य निक्षेपकर्ताको धन सुरक्षित गर्नु र ऋणीलाई व्यावसायिक सफलताका लागि सहयोग गर्नु हो । म सम्पूर्ण कर्मचारी साथीहरूलाई विचलित नभई, कानुनी प्रक्रियाको पालना गर्दै संयमताका साथ अघि बढ्न आग्रह गर्दछु । कुनै समस्या परेमा प्रशासन र बैंकर्स संघ सधैं तपाईंहरूको साथमा रहनेछ । अराजकतालाई प्रश्रय नदिऔं, विधिको शासनलाई सम्मान गरौं ।

(नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको एक कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष कोइरालाले प्रस्तुत गरेको विचार ।)