बंगलादेशमा चुनावअघि हत्याहिंसाको नयाँ सिलसिला, कस्तो हुनेछ क्षेत्रीय असर ?


तस्बिर: अनिक रेहमान/एएफपी

काठमाडौं । बंगलादेश अहिले हत्याहिंसाको दुष्चक्रमा फसेको छ । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएयता लामो समयसम्म धर्मनिरपेक्ष राष्ट्रवादी पहिचान कायम राखेको बंगलादेशमा मुस्लिम बहुसंख्यकले हालैका वर्षमा हिन्दू र बौद्ध अल्पसंख्यकमाथि अत्याचार गर्न थालेका छन् । पछिल्ला घटनाक्रमहरूले बंगलादेशका लागि चिन्ताजनक क्षण आइरहेको संकेत गरेको छ ।

बन्दूकधारीहरूको आक्रमणमा परेर गम्भीर घाइते भएपछि गत बिहीबार (डिसेम्बर १८) विद्यार्थी नेता सरिफ उस्मान हादीको मृत्यु भएको छ । हादीको मृत्युपछि आक्रोशित अतिवादीहरूले त्यही दिन हिन्दू कामदार दिपु चन्द्र दासको निर्मम हत्या गरे । द डेली स्टार र प्रोथोम आलो जस्ता पत्रपत्रिका तथा छायानट जस्ता सांस्कृतिक संस्थामाथि पनि हिंस्रक आक्रमणहरू भए ।

यी घटनाहरूले बंगलादेशमा राजनीतिक, धार्मिक र सामाजिक दरारहरूलाई उजागर गरेका छन् । यिनले देशको आन्तरिक एकता र क्षेत्रीय स्थिरता दुवैलाई खतरामा पारिरहेको विश्लेषकहरू बताउँछन् ।

बंगलादेशकी सत्ताच्युत प्रधानमन्त्री शेख हसिनाका साथै भारतको पूर्वोत्तर राज्यलाई टुक्र्याउनुपर्ने विवादास्पद भनाइ राखेर प्रखर आलोचना गरिरहेका विद्यार्थी नेता सरिफ उस्मान हादीलाई गत डिसेम्बर १२ मा ढाकामा चुनावी प्रचारका क्रममा गोली हानिएको थियो । उनलाई आक्रमण गर्नेमध्ये दुईजना भागेर भारत पुगेको बताइएको छ । पछि सिंगापुरमा उपचारका क्रममा उनको मृत्यु भयो । उनको मृत्यपछि ढाका र अन्य शहरहरूमा व्यापक विरोध प्रदर्शन द्रुत गतिमा हिंसात्मक अशान्तिमा परिणत भए ।

त्यसैक्रममा भीडले बंगलादेशका दुई सबैभन्दा प्रतिष्ठित पत्रिका प्रोथोम आलो र द डेली स्टारको कार्यालयमा आक्रमण गरी आगजनी गरिदियो । सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्नुअघि छापाखाना बन्द भयो र पत्रकारहरू कार्यालयभित्रै थुनिए । कार्यालयमा रहेका पत्रकार र कर्मचारीहरूले आफ्नो ज्यान बचाउनका लागि निकै संघर्ष गर्नुपरेको थियो ।

यस घटनासँगै हिन्दू अल्पसंख्यकहरूमाथि ज्यादती र पलायनका अनेकौं अन्य घटनाको पनि चर्चा हुन थालेको छ । हुन पनि बंगलादेश स्वतन्त्र भएपछि सन् १९७४ मा गरिएको जनगणनामा हिन्दूको संख्या १३.५ प्रतिशत रहेकोमा चिन्ताजनक रूपमा सन् २०२२ को जनगणनामा त्यो संख्या घटेर ७.९५ प्रतिशतमा पुगेको छ

यससँगै बंगलादेशको धर्मनिरपेक्ष पहिचान र सांस्कृतिक सम्पदाको प्रतीक मानिने सांस्कृतिक केन्द्र छायानटमा तोडफोड र आंशिक रूपमा आगजनी गरियो । उक्त संस्थाले भारतीय संस्कृतिलाई प्रोत्साहन गरेको आरोप लगाउँदै आक्रमणकारीहरूले आफ्नो ध्वंसात्मक गतिविधिको बचाउ गरेका थिए ।

यी आक्रमणहरू स्वतःस्फूर्त आक्रोश मात्र हैनन् । यिनले त्यसभन्दा पनि बढी खतरनाक घटनाक्रम विकसित भइरहेको संकेत गर्छन् । प्रेस स्वतन्त्रता, सांस्कृतिक बहुलवाद र नागरिकको अधिकारका लागि नै ठूलो चुनौती खडा भएको यसले देखाउँछ ।

एम्नेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाच लगायतका मानवअधिकार समूहहरूले हिंसाको निन्दा गर्दै हादीको हत्या र त्यसपछि भीडतन्त्र हावी भएर गरिएका आक्रमणहरूमाथि तत्काल निष्पक्ष अनुसन्धान र जवाफदेहिताका लागि आग्रह गरेका छन् ।

प्रदर्शन र दंगाका बीच बंगलादेशमा ईशनिन्दाको आरोप लगाएर एउटा कपडा कारखानाका कामदार दिपु चन्द्र दासको क्रूर हत्या गरियो । मैमनसिंह नामक स्थानमा पायनियर निट कम्पोजिट फ्याक्ट्रीमा कार्यरत दासलाई अरबी भाषा दिवसको दिन इस्लाम धर्म र पैगम्बर मोहम्मदका विरुद्ध आलोचना गरेको आरोपमा भीडले कारखानामै पुगेर कुटपिट गरी हत्या गरिदियो । त्यतिले नपुगेर भीडले उनको शवलाई रुखमा झुण्ड्याएर आगो लगाइदियो ।

अनुसन्धान गर्दै जाँदा दिपुले इस्लाम र मोहम्मदको निन्दा गरेको कुनै प्रमाण फेला नपरेको अधिकारीहरूले बताएका छन् । यस घटनाले बंगलादेशमा धार्मिक अल्पसंख्यकहरूको कमजोर सुरक्षा र दयनीय अवस्थाबारे गम्भीर प्रश्नहरू खडा गरेको छ ।

सतहमा आएको यस घटनासँगै हिन्दू अल्पसंख्यकहरूमाथि ज्यादती र पलायनका अनेकौं अन्य घटनाको पनि चर्चा हुन थालेको छ । हुन पनि बंगलादेश स्वतन्त्र भएपछि सन् १९७४ मा गरिएको जनगणनामा हिन्दूको संख्या १३.५ प्रतिशत रहेकोमा चिन्ताजनक रूपमा सन् २०२२ को जनगणनामा त्यो संख्या घटेर ७.९५ प्रतिशतमा पुगेको छ ।

अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले दासको हत्याको निन्दा गर्दै दोषीहरूलाई कारबाही गर्ने वाचा गरेको छ । यस घटनामा संलग्न रहेको भनिएका १० जना पक्राउ परेको समाचारहरू प्रकाशन भएका छन् । तर, घटनापछि हिन्दू सहितका अल्पसंख्यक समुदायहरूमा ठूलो त्रास पैदा भएको छ ।

यसले बंगलादेशको सिमाना बाहिर पनि तत्काल कूटनीतिक र सामाजिक प्रभाव पारेको छ । बंगलादेशको छिमेकी मुलुक भारतका विभिन्न शहरमा यस जघन्य हत्याको निन्दा गर्दै विरोध प्रदर्शनहरू भएका छन् ।

यसैबीच, भारतीय अधिकारीहरूले बंगलादेशको चटगाँव लगायतका केही भागहरूमा भिसा सेवाहरू स्थगित गर्ने जस्ता कदम चालेका छन् । त्यहाँ रहेका भारतीय दूतावास र वाणिज्य दूतावास कार्यालयहरूमा आक्रमण बढेपछि भिसा सेवा स्थगित भएका हुन् ।

यी घटनाहरू भइरहँदा एउटा प्रश्न जल्दोबल्दो रूपमा उठेको छ । के बंगलादेशमा इस्लामिक उग्रवादले जरा गाडिरहेको छ ?

अगस्ट २०२४ मा शेख हसिनाको सरकार अपदस्थ भएदेखि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले देश चलाइरहेको छ । त्यहाँ राजनीतिक परिदृश्य अस्थिर नै छ । यस अवधिमा इस्लामी गुटहरूले अस्थिरता र भारतविरोधी भावनाको फाइदा उठाउँदै प्रभाव जमाउन थालेका छन् ।

हसिनाले इस्लामी उग्रवादीहरूलाई केही हदसम्म नियन्त्रण गरेकी थिइन् तर युनुसको कमजोर सरकारले कट्टरपन्थीहरूलाई रोक्न सकेको छैन । जमात–ए–इस्लामीको विद्यार्थी संगठन इस्लामी छात्र शिबिरले स्पष्ट रूपमा कट्टर इस्लामी दृष्टिकोणसहित हिंसात्मक विरोध प्रदर्शन र राजनीतिक परिचालनमा सक्रियता देखाएका छन् ।

अशान्तिका क्रममा भारतीय नियोग नजिक भएका आक्रमण र बंगलादेशको आन्तरिक राजनीतिमा भारतको प्रभावको आलोचना लगायतका स्पष्ट भारतविरोधी कार्यहरू देखिएका छन् । यी भावनाहरूलाई इस्लामी र राष्ट्रवादी दुवै तत्त्वहरूले परिचालन गरेका छन् । यसले राजनीतिक असन्तुष्टि र धार्मिक परिचालनबीचको रेखालाई धमिलो पारिदिएको छ । भ्रामक सूचनाले पनि आक्रोश भड्काउन भूमिका खेलेको छ । दक्षिण एसियाभरि हिंसात्मक उग्रवादी चरमपन्थी भाष्यकारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको देखिन्छ ।

त्यसो त बंगलादेशमा साम्प्रदायिक हिंसा पहिलेदेखि नै हुँदै आएको छ । सन् २०२१ यता मात्र बंगलादेशमा हिन्दूहरूमाथि ३५ सय ८२ वटा आक्रमणका घटनाहरू भएको गत अगस्ट महिनामा भारत सरकारले तथ्यांक सार्वजनिक गरेको थियो । गत जुलाईमा बंगलादेशको रंगपुरमा रहेको गंगाचारा हिन्दू बस्तीमा ५०० जना मुसलमानहरूको भीडले ईशनिन्दाको आरोप लगाउँदै हिंस्रक आक्रमण गरी हिन्दूका घरहरू लुट्ने र तोडफोड गर्ने काम गरे । त्यसले गर्दा ५० भन्दा बढी हिन्दू परिवार विस्थापित हुनुपरेको थियो ।

यी तथ्यांकहरूको अध्ययन गर्दा बंगलादेशमा इस्लामिक उग्रवाद निश्चित रूपमा रहेको र त्यसको थप विस्तार हुन थालेको देखिन्छ ।

हादीको मृत्यु र दासको हत्यासँग सम्बन्धित हिंसाले गम्भीर प्रश्नहरू उब्जाएका छन् । पहिलो प्रश्न त अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित छ । प्रोथोम आलो र द डेली स्टार बंगलादेशको स्वतन्त्र पत्रकारिताका लागि महत्त्वपूर्ण संस्थाहरू हुन् । तिनमाथिका आक्रमणहरूले प्रेस स्वतन्त्रतामा ठूलो धक्का पुर्याएका छन् । उनीहरू प्रगतिशील विचारधारा बोक्ने पत्रिका भएकाले इस्लामिक उग्रवादीहरूको कुदृष्टिमा परेको विश्लेषकहरू बताउँछन् ।

यस्ता आक्रमणहरू निरन्तर भइरहेमा बंगलादेशको मिडिया क्षेत्र अझ संकुचित हुन सक्छ । संक्रमणकालमा पारदर्शी संवादको सबैभन्दा बढी आवश्यकता रहेको बेलामा असहमति र आलोचनात्मक आवाजहरूलाई मौन बनाउने यस प्रयासले बंगलादेशको लोकतन्त्रको भविष्य अन्धकारमय रहेको दुःखद संकेत दिएको छ ।

त्यससँगै अल्पसंख्यक समुदायमाथिको जघन्य आक्रमण अर्को खतराको सूचक हो । दिपु चन्द्र दासको निर्मम हत्याले अल्पसंख्यक समुदायहरूमा उनीहरूको सुरक्षा र अपनत्वका बारेमा डरलाई थप मजबुत बनाएको छ । साम्प्रदायिक हिंसाले समुदायहरू बीचको विश्वासलाई कमजोर बनाउँछ र पृथकीकरणलाई प्रोत्साहन दिन्छ । यसले डर तथा प्रतिशोधको दुष्चक्र सिर्जना गर्छ । बंगलादेशको विविधता र साझा सांस्कृतिक सम्पदाको गर्व गर्ने गरिएकोमा यस्ता धार्मिक आक्रमणले त्यस विविधतालाई कमजोर बनाउने पक्का छ ।

बंगलादेशको हिंसाले नेपालमा अल्पसंख्यक अधिकार र धर्मनिरपेक्ष व्यवस्था सम्बन्धी बहसलाई प्रभाव पार्न सक्छ । बंगालदेशमा उग्रवादीहरूले संवैधानिक धर्मनिरपेक्षतालाई अन्त्य गर्न खोजिरहँदा नेपालमा पनि धर्मनिरपेक्षताप्रति असन्तुष्ट रहेको एक तप्काले त्यसलाई हटाउने माग राख्नका लागि उत्प्रेरित हुने सम्भावना छ

यसै सन्दर्भमा छायानटदेखि लिएर बंगलादेशको धर्मनिरपेक्ष र सांस्कृतिक परम्पराहरूसँग जोडिएका व्यक्तित्वसम्मलाई लक्षित गरी भएका आक्रमणले त्यस देशको आधारभूत मूल्यमान्यतालाई कमजोर बनाइएको संकेत गर्छ ।

देशमा बंगाली संस्कृतिको छाप कायम रहेको भन्दै इस्लामी उग्रवादीहरू त्यसलाई निमिट्यान्न पार्न उद्यत रहेको देखिन्छ ।

हसिनालाई अपदस्थ गर्ने राजनीतिक आन्दोलनमा साम्प्रदायिक र धार्मिक पहिचानहरू मिसिँदै जाँदा बंगलादेश संवैधानिक धर्मनिरपेक्षताबाट विमुख भई बहुसंख्यकवादी पहिचानको राजनीतिमा मोडिने जोखिम बढेको छ ।

बंगलादेशको आन्तरिक अस्थिरता यसको सिमानाभित्र मात्र सीमित रहन सक्दैन । यसको प्रभाव दक्षिण एसियाभरि पर्नेछ ।

भारत र बंगलादेश बीच गहिरो ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेकोमा हसिनाको पतनपछि चलेका हिंसाका शृंखलाले तनाव उत्पन्न गरेको छ । भारतविरोधी नारा, भारतीय कूटनीतिक नियोगहरूमा विरोध प्रदर्शन र चटगाउँमा भिसा सेवाको स्थगनले कूटनीति कति चाँडो तनावपूर्ण बन्न सक्छ भन्ने देखाएको छ ।

यसबाहेक बंगलादेशमा हिन्दूहरूविरुद्ध हुने साम्प्रदायिक हिंसालाई भारतले गहिरो निगरानी गर्ने गरेको छ । भारतका विभिन्न राजनीतिक समूहहरूले दिपु चन्द्र दासको हत्यापछि बंगालदेशमाथि व्यापारिक र कूटनीतिक दबाब सहितको प्रतिक्रिया दिनुपर्ने बताइरहेका छन् । रेस्पोन्सिबिलिटी टु प्रोटेक्ट सिद्धान्त अन्तर्गत बंगलादेशमा पीडित हिन्दूहरूको उद्धारका लागि भारतले सैन्य कारवाही गर्ने सम्भावनालाई नकार्न सकिँदैन ।

यी दबाबहरूले द्विपक्षीय सम्बन्धमा तनाव थप्न सक्छन् र आप्रवासन, व्यापार तथा सुरक्षामा हुने सहयोगमा बाधा पुर्याउन सक्छन्।

भूराजनीतिभन्दा बाहिर पनि छिमेकी देशहरूमा यसका सामाजिक प्रभावहरू पर्नेछन् । बंगलादेशको साम्प्रदायिक तनावले भारतको धार्मिक पहिचान सम्बन्धी आन्तरिक बहसलाई बल पुर्याउनेछ । यसले इस्लामोफोबिया र साम्प्रदायिक ध्रुवीकरणलाई प्रोत्साहन गर्नेछ ।

बंगलादेशको हिंसाले नेपालमा अल्पसंख्यक अधिकार र धर्मनिरपेक्ष व्यवस्था सम्बन्धी बहसलाई प्रभाव पार्न सक्छ । बंगालदेशमा उग्रवादीहरूले संवैधानिक धर्मनिरपेक्षतालाई अन्त्य गर्न खोजिरहँदा नेपालमा पनि धर्मनिरपेक्षताप्रति असन्तुष्ट रहेको एक तप्काले त्यसलाई हटाउने माग राख्नका लागि उत्प्रेरित हुने सम्भावना छ । बंगलादेशमा हिन्दू अल्पसंख्यमाथि भएको आततायी आक्रमणको विरोध गर्दै नेपालका विभिन्न शहरमा भएका प्रदर्शन भविष्यमा थप बढ्दै जान सक्छन् ।

त्यसमाथि बंगलादेश जस्तै युवा विद्यार्थीको बलमा नेपालमा पनि सत्तापलट भएको र अहिले त्यहाँको जस्तै अन्तरिम सरकारले देश हाँकिरहेको अवस्थामा चुनाव अघि कतै बंगलादेशकै जस्तो अवस्था बन्ने त होइन भन्ने त्रास पनि आमरुपमा देख्न सकिन्छ।

बंगलादेशमा उग्रवाद गहिरिँदै गयो भने यसले क्षेत्रीय सुरक्षामा प्रभाव पार्न सक्छ । इस्लामिक उग्रवादीहरूले बंगालदेशलाई आधार बनाएर दक्षिण एसियाका विभिन्न क्षेत्रमा सञ्जाल बनाउने जोखिम छ । नेपालमा पनि त्यस्तो उग्रवादीकरण सूक्ष्म रूपमा बढिरहेको परिस्थितिमा भविष्यमा त्यसले ठूलै खतरा तेर्स्याउने सम्भावना छ ।

निर्णायक मोडमा उभिएको बंगलादेशले वर्तमान अशान्तिलाई हिंसा र साम्प्रदायिक कलहको गहिरो संकटमा परिणत हुनबाट जोगाउनका लागि न्याय र जवाफदेहिता प्रत्याभूति गर्नु अपरिहार्य छ । हादीको हत्यादेखि लिएर भीडले गरेको क्रूर लिन्चिङसम्मका सबै हिंसाका दोषीहरूलाई निष्पक्ष कानूनी प्रक्रियाको सामना गराएर कठोर दण्ड दिनु जरूरी छ । त्यसो गर्दा मात्र विधिको शासनमाथिको विश्वास पुनःस्थापित गराउन सकिन्छ ।

त्यससँगै बंगलादेशमा धर्मनिरपेक्ष र बहुलवादी मूल्यहरूलाई कायम राख्नु जरूरी छ । यो मौखिक रूपमा मात्र नभई नीतिगत रूपमा र अल्पसंख्यकहरूको सुरक्षा तथा सांस्कृतिक संस्थाहरूको संरक्षण गर्ने सामुदायिक संलग्नतामार्फत गर्नुपर्छ ।

साथै, मिडिया स्वतन्त्रता र नागरिक समाजको स्थान सुरक्षित गरिनुपर्छ । त्यसले गर्दा पत्रकार र आलोचकहरूले कुनै पनि डर वा प्रतिशोध बिना घटनाहरूको अभिलेख गर्न सक्नेछन् ।

भारतलाई एकोहोरो आलोचना गर्नुका साटो तनावलाई व्यवस्थापन गर्न नयाँ दिल्ली र दक्षिण एसियाली छिमेकीहरूसँगको क्षेत्रीय संवादलाई बंगलादेशले निरन्तरता दिनुपर्छ ।

बंगलादेशले यी कदमहरू नचालेमा विभाजनहरू गहिरिँदै गएर लोकतान्त्रिक संस्थाहरू कमजोर हुने र उग्रवादी भाष्यहरूलाई प्रोत्साहन मिल्ने पक्का छ । यसले बंगलादेशका जनतालाई हानि पुर्याउनुका साथै समग्र दक्षिण एसियालाई नै अस्थिर बनाउनेछ।

Skip This