जेटब्लु विमान र अमेरिकी वायुसेनाको विमान आकाशमा झण्डै ठोकिए, पाइलटले देखाए सुझबुझ


एजेन्सी । न्युयोर्कका लागि उडेको जेटब्लुको यात्रुवाहक विमानले भेनेजुएला नजिकै अमेरिकी वायुसेनाको ट्यांकर विमानसँग आकाशमै ठोकिनबाट बच्नका लागि शुक्रबार आकस्मिक मोड लिनुपरेको घटना सार्वजनिक भएको छ । एयर ट्राफिक कन्ट्रोलको रेकर्डिङमा एक पाइलटले यो जानकारी दिएका हुन् ।

लाइभएटीसीले प्राप्त गरेको रेकर्डिङ अनुसार, क्यारिबियाली राष्ट्र कुराकाओबाट उडेको जेटब्लुको उडान १११२ भेनेजुएलाको तटबाट करिब ६४ किलोमिटर टाढा उडिरहेको बेला ट्रान्सपोन्डर अन नभएको वायुसेनाको जेटसँग जम्काभेट भएको थियो ।
जेटब्लुका पाइलटले रेकर्डिङमा भने अनुसार, वायुसेनाका पाइलट केही माइलको दूरीमा र समान उचाइमा थिए ।

‘तिनीहरू सिधै हाम्रो उडान मार्गमा आए… तिनीहरूको ट्रान्सपोन्डर अन गरिएको छैन । यो अति नै भयो,’ पाइलटले भने ।
त्यसपछि वायुसेनाको जेट भेनेजुएलाको हवाई क्षेत्रमा प्रवेश गरेको जेटब्लुका पाइलटले बताए । ‘हामी यहाँ माथि आकाशमै झण्डै ठोकिएका थियौं,’ उनले भने ।

सिनेट कमर्स कमिटीका अध्यक्ष टेड क्रुजले सोमबार उल्लेख गरेअनुसार, जनवरी २९ मा रिगन वाशिङटन नेसनल एयरपोर्ट नजिकै एउटा आर्मी हेलिकप्टर अमेरिकन एयरलाइन्सको उडानसँग ठोक्किएको थियो । त्यसमा ६७ जनाको मृत्यु भएको थियो ।

उक्त हेलिकप्टरले एडीएस–बी भनेर चिनिने अटोमेटिक डिपेन्डेन्ट सर्भिलेन्स–ब्रोडकास्ट सिस्टम नामक अत्याधुनिक ट्य्राकिङ प्रविधि प्रयोग गरेको थिएन । ‘हामी किन यस्ता झण्डै हुने दुर्घटनाहरू सहिरहन्छौं ?’ क्रुजले जेटब्लुको घटनाबारे भने ।


समितिका शीर्ष डेमोक्य्राट सिनेटर मारिया क्यान्टवेलले पनि जेटब्लुको घटनाले चिन्ता बढाएको र जनतालाई अझ राम्रो प्रणाली आवश्यक रहेको बताइन् । ‘यो स्वीकार्य छैन,’ क्यान्टवेलले भनिन्, ‘सैन्य विमान र व्यावसायिक विमानहरू उड्ने करिडोरहरू हुँदाहुँदै एकअर्कालाई सोही क्षेत्रमा भएको जानकारी नदिने कुरा हुन सक्दैन । हामी यस्तो हुन दिन सक्दैनौं ।’

अनिवार्य रूपमा पास हुनुपर्ने वार्षिक रक्षा विधेयकबाट एउटा प्रावधान हटाउन दबाब दिइरहेका सिनेटरहरूले सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै यो कुरा बताएका हुन् । उक्त प्रावधानले सैन्य विमानहरूलाई एडीएस–बी जानकारी प्रसारण नगरी वाशिङटन डीसीको आकाशमा उडान गर्न अनुमति दिने र यसले हवाई सुरक्षालाई कमजोर बनाउने उनीहरूको भनाइ छ ।
जेटब्लुका प्रवक्ताले सोमबार कम्पनीको पहिलो प्राथमिकता सुरक्षा रहेको बताए ।

‘हाम्रा चालक दलका सदस्यहरूलाई विभिन्न उडान परिस्थितिहरूका लागि उचित प्रक्रियाहरूमा तालिम दिइएको छ र यो स्थितिलाई तुरुन्तै हाम्रो नेतृत्व टोलीलाई रिपोर्ट गरेकोमा हामी उनीहरूको कदर गर्छौं । हामीले यो घटना संघीय अधिकारीहरूलाई जानकारी गराएका छौं र कुनै पनि अनुसन्धानमा सहभागी हुनेछौं,’ उनले बताए ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मदुरोलाई हटाउन अभियान चलाइरहेको र दुई देशको सम्बन्ध वर्षौंयताकै सबैभन्दा अस्थिर बिन्दुमा पुगेको बेला अमेरिकाले दक्षिणी क्यारिबियनमा ठूलो मात्रामा सैन्य उपस्थिति बढाएको सन्दर्भमा यो घटना भएको हो ।

अमेरिकी सदर्न कमान्डले सोमबार एक विज्ञप्तिमा आफूलाई घटनाबारे जानकारी भएको र यस विषयमा समीक्षा भइरहेको जनाएको छ ।

गत महिना अमेरिकाको संघीय उड्डयन प्रशासनले प्रमुख एयरलाइन्सहरूलाई भेनेजुएलामाथि उडान गर्दा सम्भावित खतरनाक स्थिति हुनसक्ने भन्दै चेतावनी दिएको थियो र सावधानी अपनाउन आग्रह गरेको थियो । तनाव बिग्रँदै गएको र ट्रम्पले भेनेजुएलामा स्थलगत आक्रमण सुरु गर्ने धम्की दिएपछि विश्वभरका प्रमुख एयरलाइन्सहरूले उडानहरू रोकेका छन् ।

Skip This