
एजेन्सी । अमेरिकी व्यापारी इलोन मस्कको सम्पत्ति ६०० अर्ब डलरभन्दा बढी पुगेको फोर्ब्स पत्रिकाले अनुमान गरेको छ । यस स्तरको सम्पत्ति हासिल गर्ने उनी इतिहासकै पहिलो व्यक्ति बनेका छन् ।
अहिलेसम्म कसैले पनि ५०० अर्ब डलरको आँकडा पार गर्न सकेका थिएनन् । यो वृद्धिको मापनले मस्क र अर्बपतिहरूको सूचीमा रहेका अन्य सबै नामहरूबीचको खाडललाई थप फराकिलो बनाएको छ । मस्कको सम्पत्ति कति छिटो र कति धेरै बढेको छ भन्नेतर्फ विश्वको ध्यान तानिएको छ ।
स्पेसएक्स कम्पनीका कारण मस्कको सम्पत्तिमा तीव्र वृद्धि भएको हो । यसै महिनाको आरम्भमा यस निजी अन्तरिक्ष कम्पनीले एक टेन्डर प्रस्ताव ल्यायो जसले कम्पनीको मूल्यांकन ८०० अर्ब डलर पुर्यायो । केही महिनाअघि अगस्टमा मात्रै स्पेसएक्सको मूल्यांकन ४०० अर्ब डलर थियो ।
मस्कसँग स्पेसएक्सको अनुमानित ४२ प्रतिशत हिस्सेदारी छ । मूल्यांकनमा भएको यस वृद्धिले उनको कुल सम्पत्तिमा करिब १६८ अर्ब डलर थपेको छ । मस्कको स्पेसएक्समा रहेको हिस्सेदारी मात्रै करिब ३३६ अर्ब डलर बराबरको रहेको फोर्ब्सको अनुमान छ ।
यही विकासले मस्कको कुल सम्पत्ति ६०० अर्ब डलरको आँकडा पार गराउन मुख्य भूमिका खेल्यो ।
स्पेसएक्सले सन् २०२६ मा ‘इनिसियल पब्लिक अफरिङ’ (आईपीओ) ल्याउने लक्ष्य पनि राखेको छ । एक लगानीकर्ताका अनुसार, आईपीओको समयमा कम्पनीको मूल्यांकन करिब १५ खर्ब डलर हुन सक्छ । टेन्डर प्रस्ताव र आईपीओ योजनाहरू यसअघि नै विभिन्न सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका थिए ।
त्यो मूल्यांकनमा आईपीओ नआए पनि मस्कको हालको होल्डिङ्सले उनको कुल सम्पत्तिलाई ऐतिहासिक उचाइमा पुर्याइसकेको छ ।
टेस्ला मस्कको सम्पत्तिमा प्रमुख योगदानकर्ताको रूपमा कायम छ । उनीसँग यो विद्युतीय सवारी कम्पनीको करिब १२ प्रतिशत हिस्सेदारी छ जसको मूल्य फोर्ब्सले १९७ अर्ब डलर अनुमान गरेको छ ।
यस तथ्यांकमा मस्कको सन् २०१८ को सीईओ कार्यसम्पादन अवार्डबाट प्राप्त स्टक विकल्पहरू समावेश छैनन् । ती विकल्पहरूलाई जनवरी २०२४ मा डेलावेयरका एक न्यायाधीशले रद्द गरेका थिए । फोब्र्सले ती विकल्पहरूको मूल्य ५० प्रतिशतले घटाएर ६९ अर्ब डलर अनुमान गरेको छ किनकि मस्कको पुनरावेदन अझै डेलावेयर सर्वोच्च अदालतमा विचाराधीन छ ।
मस्कले पुनरावेदन हारे पनि टेस्लाले उच्च सम्पत्तिको लागि अर्को बाटो दिन सक्छ । नोभेम्बरमा टेस्लाका सेयरधनीहरूले नयाँ तलब प्याकेज स्वीकृत गरे जसले कम्पनीले आगामी दश वर्षमा दीर्घकालीन कार्यसम्पादन कोसेढुंगाहरू पूरा गरेमा मस्कलाई १० खर्ब डलरसम्मको अतिरिक्त स्टक दिन सक्छ ।
मस्कको बढ्दो व्यापारिक साम्राज्यको अर्को हिस्सा एक्सएआई होल्डिङ्स हो । यो कम्पनी २३० अर्ब डलरको मूल्यांकनमा नयाँ कोष जुटाउने वार्तामा रहेको बताइएको छ । मस्कले मार्च महिनामा आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईलाई आफ्नो सामाजिक सञ्जाल कम्पनी एक्ससँग मर्ज गर्दा उल्लेख गरेको ११३ अर्ब डलरको मूल्यांकनभन्दा यो दोब्बर बढी हो ।
मस्कको एक्सएआई होल्डिङ्समा ५३ प्रतिशत हिस्सेदारी छ जसको मूल्य हाल करिब ६० अर्ब डलर रहेको फोर्ब्सको अनुमान छ ।
विगत पाँच वर्षमा मस्कको सम्पत्ति वृद्धि असाधारण रूपमा तीव्र रह्यो । मार्च २०२० मा उनको कुल सम्पत्ति २४.६ अर्ब डलर थियो । सोही वर्षको अगस्टसम्म टेस्लाको सेयर बढ्दा उनी १०० अर्ब डलर पार गर्ने पाँचौं व्यक्ति बने ।
जनवरी २०२१ मा मस्क करिब १९० अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलोपटक विश्वको सबैभन्दा धनी व्यक्ति बने । सेप्टेम्बर २०२१ मा उनले २०० अर्ब डलर पार गरेर जेफ बेजोस र बर्नार्ड अर्नाल्टको श्रेणीमा प्रवेश गरे । पछि उनले नोभेम्बर २०२१ मा ३०० अर्ब डलर, डिसेम्बर २०२४ मा ४०० अर्ब डलर र अक्टोबरमा ५०० अर्ब डलर पार गरे ।
ओराकलका ल्यारी एलिसन ३०० अर्ब र ४०० अर्ब डलर दुवै स्तर पार गर्ने एक मात्र अर्का व्यक्ति हुन् ।
अर्बपतिहरूको सूचीमा रहेकाहरूसँग मस्कको अग्रता आश्चर्यजनक रूपमा विशाल छ । उनी दोस्रो धनी व्यक्ति गुगलका सह–संस्थापक ल्यारी पेजभन्दा करिब ४२५ अर्ब डलरले अगाडि रहेको फोर्ब्सको अनुमान छ । पेजसँग करिब २५२ अर्ब डलर बराबरको सम्पत्ति छ ।
मस्क अब ७०० अर्ब डलरको कोसेढुंगा भन्दा मात्र २३ अर्ब डलर टाढा छन् ।








प्रतिक्रिया