
एजेन्सी । विश्व व्यापारमा अनिश्चितता सामान्य बन्दै गएको अवस्थामा भारतीय कर्पोरेट क्षेत्रले कम्पनीहरूलाई अघि बढाउन व्यावसायिक सीईओहरूतर्फ झुकाव बढाउँदै लगेको छ । उनीहरूलाई करोड रुपैयाँ तलब दिएर यस युगमा विकासको नेतृत्व सुम्पिँदैछ ।
बीएसई २०० कम्पनीहरूमा ८ करोड भारुभन्दा बढी तलब खाने सीईओहरूमध्ये व्यावसायिक नेतृत्वको संख्या गत पाँच वर्षमा ८५ बाट बढेर आर्थिक वर्ष २०२५ मा १४५ (करिब ७१ प्रतिशत वृद्धि) पुगेको द टाम्स अफ इन्डियाले समाचार प्रकाशन गरेको छ ।
सोही अवधिमा प्रोमोटर सीईओको संख्या भने ६० बाट बढेर ६५ मा पुग्दै लगभग स्थिर रहेको विश्वव्यापी कार्यकारी खोजी फर्म स्ट्यान्टन चेसले टाइम्स अफ इन्डियासँग साझा गरेको तथ्यांकले देखाएको छ ।
‘पाँच वर्षअघि धेरै क्षेत्रहरूमा प्रोमोटर–निर्देशित कम्पनीहरूको प्रभुत्व थियो । आज व्यावसायिक सीईओहरूले भारतका अधिकांश ठूला व्यवसायहरूको नेतृत्व गरिरहेका छन् र उच्च पारिश्रमिक कमाउँदैछन् । बोर्डहरू यस्ता नेता चाहन्छन् जसले स्वतन्त्रता, विभिन्न चक्रहरूको अनुभव र जटिल विश्वव्यापी अपेक्षालाई व्यवस्थापन गर्ने क्षमता ल्याउन सकून् । यो प्रवृत्ति भारतीय कर्पोरेट क्षेत्र थप संस्थागत र भविष्य–केन्द्रित बन्दै गएको संकेत हो,’ स्ट्यान्टन चेसका भारत र सिंगापुरका प्रबन्ध निर्देशक अमित अग्रवालले बताए ।
मिलियन डलर सीईओ समूहमा आईटी/आईटीईएस क्षेत्र सबैभन्दा अगाडि छ । यस क्षेत्रले पछिल्लो पाँच वर्षमा पारिश्रमिकमा सबैभन्दा ठूलो फड्को मारेको छ । त्यसपछि उत्पादन क्षेत्र (३४ प्रतिशत) रहेको छ ।
आर्थिक वर्ष २०२५ मा विप्रोका पूर्व सीईओ थिएरी डेलापोर्टे १६८ करोड भारु पारिश्रमिकसहित सूचीको शीर्ष स्थानमा छन् भने पर्सिस्टेन्ट सिस्टम्सका सीईओ सन्दीप कालरा १४८ करोड भारुसहित त्यसपछि छन् । अध्ययनका अनुसार, प्रोमोटर सीईओहरूमध्ये हिरो मोटोकर्पका सीएमडी पवन मुञ्जाल १०९ करोड भारुसहित अगाडि छन् ।
पोजिटिभ मुभ्स कम्पनीका साझेदार विभव धवनका अनुसार, प्रोमोटरहरू व्यवसायबाट अलग भएका हैनन् तर आधुनिक व्यवसायका आवश्यकताहरू परिवर्तन भएकाले व्यावसायिक सीईओहरूले प्रोमोटर नेतृत्वलाई विस्थापित गरिरहेका छन् । एक पुस्तामा आउने महामारी र युद्धहरू बाहेक व्यापार संरक्षणवाद र बढ्दो भूराजनीतिक अनिश्चितताले भारतीय कर्पोरेटको नियम र रणनीतिहरू उथलपुथल पारिदिएको छ ।
‘भारत विश्व अर्थतन्त्रसँग धेरै राम्रोसँग एकीकृत हुँदैछ । १० वर्षअघि यस्तो अवस्था थिएन । व्यवसायहरू धेरै जटिल र बहुकार्यात्मक बन्दै गएका छन् जसका कारण व्यावसायिक सीईओहरूको उदय भएको हो,’ लङहाउसका सीईओ र संस्थापक अंशुमान दासले बताए ।
साथै, निजी इक्विटी लगानीकर्ताहरू ठूला व्यवसायहरूको स्वामित्वमा जोडिएका छन् जसले कम्पनीहरू सञ्चालन गर्ने तरिकामा परिवर्तन र सुशासन संरचनामा सुधार ल्याइरहेको दासको भनाइ छ ।
तथापि, यो मिलियन डलरको तलब चेक सजिलै आउँदैन । निश्चित तलब बढाउनुको साटो बोर्डहरूले प्रदर्शनमा आधारित भुक्तानीमा जोड दिएका छन् । त्यसले जवाफदेहिताको भार बढाएको छ । निश्चित पारिश्रमिक आर्थिक वर्ष २०२१ मा ३५ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२५ मा करिब ३१ प्रतिशतमा झरेको छ ।
‘सीईओको कमाइको धेरै हिस्सा अब नाफा, नगद प्रवाह र लचकता जस्ता वास्तविक नतिजाहरूमा निर्भर छ । यो पहिलेको भन्दा धेरै जवाफदेही मोडेल हो,’ स्ट्यान्टन चेसकी भारत प्रबन्ध निर्देशक माला चावलाले भनिन् ।
औसत सीईओको पारिश्रमिक आर्थिक वर्ष २०२१ मा ९.३ करोड भारुबाट बढेर आर्थिक वर्ष २०२५ मा १० करोड भारु पुगेको छ । कुल पारिश्रमिक २७ सय करोड भारुबाट बढेर ४७ सय करोड भारु पुगेको छ ।
भारतीय कम्पनीहरू ठूला र थप नाफामुखी भएका कारणले मिलियन डलर क्लबमा वृद्धि आएको हो । पारिश्रमिक अस्वाभाविक रूपमा बढाइएको कारणले यसो नभएको चावलाले बताइन् ।







प्रतिक्रिया