अस्ट्रेलियामा १५ यहुदीको हत्या गर्ने व्यक्तिहरू बाउछोरा रहेको प्रहरीको दाबी

315
Shares

एजेन्सी । अस्ट्रेलियाको बोन्डी बिचमा आइतबार १५ जनाको हत्यामा आरोपित बन्दुकधारीहरू बाउछोराको जोडी भएको त्यहाँको प्रहरीले जनाएको छ ।

नरसंहार मच्चाउनका लागि कानूनी रूपमा प्राप्त हतियार प्रयोग गरेको आशंका गरिएको छ ।

२४ वर्षीय नवीद अक्रमलाई घटनास्थलबाटै पक्राउ गरी गम्भीर अवस्थामा सिड्नीको अस्पताल लगिएको थियो । सिड्नी मर्निङ हेराल्डले पहिलोपटक साजिद अक्रम भनी रिपोर्ट गरेका उनका ५० वर्षीय बुवालाई भने प्रहरीले गोली हानी मारेको थियो ।

आइतबार हनुकाह (यहुदी पर्व) को पहिलो रात मनाउन भेला भएकाहरूमाथि गरिएको गोलीकाण्डमा यी दुईले १५ जनाको हत्या गरेको र दर्जनौं घाइते भएको आरोप छ ।

छोरा न्यु साउथ वेल्स प्रहरी र सुरक्षा निकायहरूको जानकारीमा (निगरानीमा) थिए भने उनका बुवासँग हतियारको लाइसेन्स थियो र उनको नाममा ६ वटा हतियार दर्ता थिए । प्रहरीका अनुसार, सबै ६ वटा हतियार बरामद गरिएको छ ।

राइफल र शटगनसहितका चारवटा लामा हतियारहरू बोन्डीस्थित घटनास्थलबाट बरामद गरियो भने अन्य हतियारहरू सिड्नीको दक्षिण–पश्चिममा रहेको क्याम्प्सीस्थित एउटा घरमा प्रहरीले छापा मार्दा फेला परेका थिए ।

प्रधानमन्त्री एन्थोनी एल्बनिजीका अनुसार, पेशाले डकर्मी रहेका नवीद अक्रम अक्टोबर २०१९ मा अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसनको नजरमा परेका थिए । एबीसीको रिपोर्ट अनुसार, इस्लामिक स्टेटको सेलसँग सम्बन्धित काउन्टर–टेरर अनुसन्धानमा जोडिएका कारण उनलाई अन्य व्यक्तिहरूसँगको कथित संगतका आधारमा ६ महिनासम्म जाँच गरिएको थियो ।

एल्बनिजीले भने, ‘नवीद अक्रमलाई अरूसँगको संगतको आधारमा जाँच गरिएको थियो र मूल्यांकन गर्दा उनीबाट कुनै निरन्तर खतरा वा हिंसामा संलग्न हुने संकेत नदेखिएको निष्कर्ष निकालिएको थियो ।’

ती दुईजना बन्दुकधारी शहरको पश्चिममा रहेको बोनीरिगको अर्को घरमा बस्दै आएको एनएसडब्लु प्रहरी कमिश्नर माल लानियनले बताए । त्यहाँ आइतबार राति छापा मारिएको थियो । ‘हिजोको आक्रमणमा संलग्न दुवैजनाले आक्रमणको योजना बनाइरहेको कुनै संकेत थिएन,’ उनले भने । बुवासँग एक दशकदेखि बन्दुकको लाइसेन्स रहेको उनले पुष्टि गरे ।

आक्रमणकारीहरूले घटनास्थलमा ल्याएको कारमा घोषणापत्र वा इस्लामिक स्टेटको कालो झण्डा फेला परेको रिपोर्टहरूबारे लानियनले टिप्पणी गर्न अस्वीकार गरे ।

बन्दुकसम्बन्धी कानून लगभग निश्चित रूपमा परिवर्तन हुने एनएसडब्लुका प्रिमियर क्रिस मिन्सले बताएका छन् । साथै, इजाजतपत्रप्राप्त हतियारहरू कसरी आतंकवादी आक्रमणमा प्रयोग हुन पुगे भन्ने सम्बन्धमा आफ्नो प्रणालीगत विफलता भएको थियो कि थिएन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार, साजिदसँग श्रेणी एबी’ को फायरआर्म लाइसेन्स थियो । यो यस्तो लाइसेन्स हो जसका लागि व्यक्तिले प्रहरीलाई आफूसँग निश्चित हतियारहरूका लागि विशेष आवश्यकता भएको प्रमाणित गर्नुपर्छ । त्यसमा पेस्तोल बाहेकका मजल–लोडिङ हतियारहरू, सेन्टर–फायर राइफलहरू (सेल्फ–लोडिङ बाहेक) र शटगन÷सेन्टर–फायर राइफलको संयोजन समावेश हुन सक्छन् ।

गृहमन्त्री टोनी बर्कले नवीद अस्ट्रेलियामै जन्मेका नागरिक भएको बताए । उनका बुवा सन् १९९८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए । सन् २००१ मा पार्टनर भिसामा परिवर्तन गरेर त्यसयता उनी रेसिडेन्ट रिटर्न भिसामा थिए ।

उनलाई काम दिने रोजगारदाताले ६ वर्षअघि प्रशिक्षार्थीका रूपमा लिएको बताउँदै उनी कहिल्यै बिदा नलिने कडा परिश्रमी भएको बताए ।

तर, केही महिनाअघि नवीदले बक्सिङ खेल्दा नाडी भाँचिएको र सन् २०२६ सम्म काम गर्न नसक्ने बताएका थिए ।

नाम नबताउने सर्तमा ती रोजगारदाताले भने, ‘उनले आफ्नो वार्षिक बिदा र सबै पाउने रकम भुक्तानीको माग गरे तर धेरैजसोले वर्षको अन्त्यमा त्यसो गर्छन् ।’

उनले नवीदलाई राम्ररी नचिनेको र आफूले एकैपटक दर्जनौं मानिसलाई काममा लगाएको बताए । तर, नवीद शान्त स्वभावका मानिन्थे ।

उनले भने, ‘डकर्मीको काममा साइटमा टिम भएर नजिकै काम गरिन्छ । तर, उनी काम बाहेकको समयमा अरूसँग संगत गर्दैनथे… उनी अरूसँग नभई एक्लै खाजा खान्थे ।’

उनलाई नवीद मुस्लिम पृष्ठभूमिबाट आएको थाहा थियो तर नवीदले काममा धर्मको बारेमा खासै कुरा गर्दैनथे ।

केही कर्मचारीहरूले नवीदका आमाबुवा छुट्टिएको र उनी आफ्नो बुवासँग नजिक थिए भनेर सुनाएको उनले बताए ।

नवीदले जागिर गुमाएको भन्ने दाबीलाई अस्वीकार गर्दै उनले नाडीको चोटका बाबजुद उनी काममा फर्कियोस् भन्ने चाहेको बताए ।

रोजगारदाताले भने, ‘उनी काम बाहेकको समयमा बक्सिङ गर्थे… डाक्टरले उनलाई दुई महिना आराम गर्न भनेको उनले बताएका थिए ।’

अधिकारीहरूले छोरा इजाजतपत्रप्राप्त हतियारधारी थिए भनेर भनेका छैनन् । तर, ती सहकर्मीले दाबी गरे अनुसार उनी नियमित रूपमा शिकार गर्थे र राज्यको दक्षिणी क्षेत्र क्रुकवेल वरिपरि खरायो र अन्य जनावरहरूको शिकार गर्ने कुरा गर्थे ।

उनीहरूले सिड्नीका विभिन्न ठाउँमा काम गरेका थिए र अन्तिमपटक पेनरिथको एउटा साइटमा उनले नवीदलाई देखेका थिए ।

उनको वालेटमा फेला परेको भनिएको सदस्यता कार्डको तस्बिर सार्वजनिक भएपछि नवीद शिकार क्लबको सदस्य भएको भन्ने अपुष्ट दाबीहरू पनि आएका छन् ।

उनी क्लबको सदस्य थिए वा थिएनन् भन्ने अझै पुष्टि भएको छैन ।