
काठमाडौं । भारतको ठूलो एयरलाइन्स इन्डिगोमा देखिएको संकटले सम्पूर्ण उड्डयन क्षेत्र चिन्तामा छन् ।
‘टाइम्स अफ इन्डिया’ को एक रिपोर्ट अनुसार, एयर इन्डिया समूहले इन्डिगोको समस्याको फाइदा उठाउने प्रयास गरेको छ। समूहले एयरबस ए३२० का अनुभवी क्याप्टेनहरूका लागि विज्ञापन खोलेको छ।
यो कदमले एयर इन्डियाभित्र, विशेष गरी एयर इन्डिया एक्सप्रेसका पाइलटहरूमा चिन्ता बढाएको छ।
एयर इन्डिया एक्सप्रेसमा कार्यरत ए ३२० का पाइलटहरूको चिन्ता यो छ कि बाहिरबाट नयाँ मानिसहरू आउँदा उनीहरूको उडान घण्टा घट्नेछ। यसले उनीहरूको तलब तथा सेवा सुविधामा पनि नराम्रो असर पार्नेछ ।
करिब १०० जना पाइलटले टाटा समूहको यो सस्तो दरको एयरलाइन्स व्यवस्थापनलाई पत्र लेखेर उक्त भर्ना प्रक्रियाको विरोध गरेका छन्। इन्डिगो ए ३२० सिरिजका विमानहरू सञ्चालन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हो।
उता, एयर इन्डिया एक्सप्रेससँग हाल ११० वटा विमान छन्। जसमा ७६ वटा बोइङ ७३७ र बाँकी ३४ वटा एयरबस ए ३२० सिरिजका विमान छन्, जुन एयर इन्डिया र एयरएसिया इन्डियाका हुन्। आगामी वर्षको सुरुमा यीमध्ये कम्तीमा १० वटा विमान लिज दिने कम्पनीहरूलाई फिर्ता गरिँदैछ।
पाइलटहरूको मुख्य चिन्ता
यद्यपि एयरलाइन्सले थप ए ३२० विमानहरू ल्याउने योजना बनाएको छ, तर यसमा समय लाग्नेछ।
यो ढिलाइको कारणले गर्दा पाइलटहरूको उडान घण्टा कम हुनेछ। उनीहरूले सम्भवतः न्यूनतम २० घण्टाको उडानको मौका मात्र पाउने डर छ।
कोरोना महामारीका बेला एयरएसिया इन्डियाले पाइलटहरूको ‘फिक्स्ड आवर पेमेन्ट कन्ट्र्याक्ट’ (निश्चित घण्टाको भुक्तानी सम्झौता) लाई ७० घण्टाबाट घटाएर ४० घण्टामा झारेको थियो। पछि एयर इन्डियाले पनि त्यसै गरेको थियो।
त्यस समयमा विस्तारा एयरलाइन्सले मात्र तलब कटौती गरे पनि उडान घण्टामा त्यस्तो भारी कटौती गरेको थिएन। हालै इन्डिगोले पनि नयाँ जुनियर फर्स्ट अफिसरका लागि फिक्स्ड कन्ट्र्याक्ट ७० घण्टाबाट घटाएर ५० घण्टा गरेको छ। ‘फिक्स्ड-आवर कन्ट्र्याक्ट’ को अर्थ पाइलटको उडान कम भए पनि उनीहरूले तोकिएको समयको तलब पाउने सुनिश्चितता हो।
एयर इण्डिया एक्सप्रेसमा करिब १ हजार ६ सय पाइलट कार्यरत छन् ।
एयर इन्डिया एक्सप्रेसका ए ३२० पाइलटहरू व्यवस्थापनसँग निकै रुष्ट छन्। उनीहरूको भनाइ छ, ‘हामीलाई विगत एक वर्षदेखि लगातार भनिँदै आएको छ कि समूहमा ए ३२० क्याप्टेनहरूको संख्या बढी छ। यही कारण देखाएर ४० घण्टाको सम्झौता कायम राखिएको छ र ७० घण्टाको सम्झौताको मागलाई अस्वीकार गरिएको छ।’







प्रतिक्रिया