रुसलाई तेलबाट भइरहेको कमाइ गत वर्षको तुलनामा आधा घट्ने प्रक्षेपण

98
Shares

एजेन्सी । रोयटर्स समाचार संस्थाले शुक्रबार सार्वजनिक गरेको गणनाअनुसार, कच्चा तेलको मूल्यमा आएको गिरावट र बलियो रुबलका कारण डिसेम्बरमा रुसको सरकारी तेल र ग्यास राजस्व गत वर्षको तुलनामा झण्डै आधाले घटेर ४१० अर्ब रुबल हुने सम्भावना छ।

उद्योग स्रोतहरू र उत्पादन, प्रशोधन तथा आपूर्तिको आधिकारिक तथ्यांकमा आधारित गणना अनुसार, यो पूरा वर्षको राजस्व करिब एक चौथाइले घटेर ८४ खर्ब ४० अर्ब रुबल हुने देखिन्छ । यो रुसको अर्थ मन्त्रालयको ८६ खर्ब ५० अर्ब रुबलको प्रक्षेपणभन्दा कम हो ।

यसअघि रुसले अगस्ट २०२० मा कोभिड–१९ महामारीका बेला तेलको मूल्य ओरालो लाग्दा ४०५ अर्ब रुबल बराबरको सबैभन्दा कम मासिक तेल र ग्यास राजस्व रिपोर्ट गरेको थियो ।

तेल र ग्यास राजस्व क्रेमलिन (रुस सरकार) का लागि नगदको मुख्य स्रोत हो । यसले कुल संघीय बजेट आम्दानीको एक चौथाइ हिस्सा ओगटेको छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा सैन्य अभियान सुरु गरेदेखि रक्षा र सुरक्षा खर्च भारी मात्रामा बढाएको रुसका लागि यो गिरावट पीडादायी छ ।

विश्वको दोस्रो ठूलो तेल निर्यातक राष्ट्र रुसको अर्थतन्त्रलाई कमजोर बनाएर उसलाई युद्ध रोक्न बाध्य पार्न चाहेको कुरा युक्रेन र यसका पश्चिमी समर्थकहरूले बारम्बार भन्दै आएका छन् ।

रुसको अर्थ मन्त्रालयले सुरुमा यस वर्ष तेल र ग्यास राजस्व १०९ खर्ब ४० अर्ब रुबल हुने अपेक्षा गरेको थियो । तर, अत्यधिक आपूर्तिको चिन्ताले दबाबमा परी विश्वव्यापी तेलको मूल्य घट्दै गएपछि अक्टोबरमा मन्त्रालयले आफ्नो प्रक्षेपण संशोधन गर्दै घटाएको थियो ।

नोभेम्बरमा कर प्रयोजनका लागि प्रयोग गरिने रुसी तेलको मूल्य अक्टोबरको तुलनामा १७.१ प्रतिशतले घटेर प्रति ब्यारल ३६ सय ५ रुबलमा झरेको थियो ।

अर्थ मन्त्रालयले जनवरी १४ मा डिसेम्बर महिनाको तेल र ग्यास राजस्वको अनुमानित विवरण सार्वजनिक गर्नेछ ।